बच्चाको व्यक्तित्वमा बाबुको प्रभाव
कक्षा ७ मा अध्ययन गरिरहेका सुजन केही दिनअघि काउन्सिलिङको शिलशिलामा मकहाँ आएका थिए। पढाइमा बिल्कुलै ध्यान नदिने, साथीहरूसँग झगडा गर्ने, शिक्षक तथा अभिभावकले केही भन्नै नहुने रोई दिनेजस्ता समस्या थिए उनका। केही समयअघि उनका आमाबाबुको डिभोर्स भएको रहेछ। अहिले उनी आमासँग बस्दा रहेछन्। बाबु कहाँ छन् उनलाई थाहा छैन। उनी भन्छन्, 'आमाबाबु सधैं झगडा गरिरहनु हुन्थ्यो। मैले पनि बाबाको माया त खासै पाइनँ। तैपनि बाबाले हामीलाई छोडेर नगएको भए हुन्थ्यो भन्ने लाग्छ। किनकि आजभोलि हामीलाई सबैले हेपेको जस्तो लाग्छ। मनमा के-के कुरा खेलिरहन्छ। पढाइतिर ध्यान दिनै सक्दिनँ।'
यो समस्या सुजनको मात्र नभएर हाम्रो समाजमा अहिले प्रायजसो बालबालिकाले भोगिरहेको समस्या हो। बच्चाको व्यक्तित्व विकासमा आमाको चर्चा धेरै सुन्नमा आउँछ। बाबुको भूमिका केवल परिवारको भरणपोषण गर्नमा अर्थात् परिवारका लागि भौतिक चिजबस्तु जुटाउनमात्र सीमित रहन्छ। अन्य सबै जिम्मेवारी आमाको हुन्छ भन्ने हाम्रो समाजको मान्यता छ। बच्चाको लागि आमा र बाबुको आ-आफ्नै भूमिका र महत्त्व हुन्छ। आमाको भूमिका जति महत्त्वपूर्ण हुन्छ बच्चाको लागि त्यति नै महत्त्वपूर्ण हुन्छ बाबुको भूमिका पनि। यस विषयमा New Castle University of America को एक रिसर्चले बच्चाको हुर्काइमा आमाको साथमा बाबुको सकारात्मक संलग्नता भएमा बच्चामा निम्न कुराहरू विकसित हुँदै जाने स्पष्ट पारेको छ।
भावनात्मक सुरक्षा
बच्चा गर्भदेखि नै भावनात्मकरूपमा आमासँग जोडिएको हुन्छ। तर भावनात्मक सुरक्षाको प्रत्याभूति बच्चाले आफ्नो बाबुबाट प्राप्त गर्छ। जुन बच्चाले जन्मेदेखि ५ वर्षको उमेरसम्म बाबुको मायालु स्पर्श (छुने, सुम्सुम्याउने, बोक्ने, खेलाउने) महसुस गर्न पाएको छ, त्यसपछिका समयमा उमेर अनुसारको साथ सहयोग पाएको छ भने त्यो बच्चामा आत्मविश्वास उच्च रहेको रिसर्चले बताएको छ। यसका साथै बच्चा जहिले पनि बाबुसँग खेल्न मन पराउँछ किनभने बच्चा र बाबुसँगै खेल्दा दुबैमा अक्सिटोसिन केमिकल उच्च मात्रामा निस्कन्छ। यसको कारणले उनीहरू एकअर्कासँग आकर्षित हुन्छन्। यस्ता बच्चाहरूमा जीवनको कुनै पनि मोडमा भावनात्मक समस्याको सम्भावना अन्य बच्चाको तुलनामा कम रहेको पाइयो।
सामाजिक विकास
बच्चाको पहिलो समाज उसको परिवार हो। परिवारबाट उसले हरेक कुरा सिक्ने अवसर पाउँछ। यहीँबाट उसको सामाजिक विकासको क्रम सुरु हुन्छ। बच्चाको सामाजिक विकासको लागि बाबुको भूमिका अहम रहन्छ। बाबु र बच्चाको सम्बन्धले बच्चाको भावनात्मक विकासमा गम्भीर असर पार्छ। जुन बच्चाले शिशु अवस्थादेखि नै आफ्नो बाबुको माया, प्रेम तथा सामिप्यता पाएको छ भने अन्य व्यक्तिसँगको सम्बन्ध राम्रो हुने सम्भावना बढी हुन्छ। साथीभाइसँग सहसम्बन्ध राख्न सक्ने, अरुलाई मद्दत गर्न अघि सर्ने जस्ता सामाजिक व्यवहारको विकास हुन्छ। यस्ता बच्चाहरूले किशोर अवस्थामा पुग्दा पनि घर, स्कुल, समुदाय कहीँकतै समस्या उत्पन्न गराउँदैनन्। यिनीहरूको सम्बन्ध सबैसँग सबै ठाउँमा राम्रो हुन्छ। यसको विपरीत बाबुको रेखदेख, माया, प्रेमबाट वञ्चित बच्चामा भावनात्मक कमजोरीका कारण सम्बन्ध बिग्रने सम्भावना बढी रहन्छ। यस्ता बच्चाहरूमा झैझगडा गर्ने, घुलमिल हुन नसक्ने, आत्मविश्वासमा कमी भएका, असामाजिक कार्यतिर उन्मुख हुनेजस्ता नकारात्मक गुणहरू विकसित हुँदै जान्छन्।
बौद्धिक विकास तथा शैक्षिक उपलब्धी
बच्चालाई सानैदेखि माया, प्रेम तथा उचित अनुशासनयुक्त पारिवारिक वातावरणमा हुर्काएको छ भने उसको भावनात्मक विकासको स्तर सन्तुलनमा रहन्छ। यसको कारणले बौद्धिक विकासमा सकारात्मक प्रभाव पार्छ। यस्ता बच्चाहरूमा IQ Level उच्च हुनुको साथै शैक्षिक उपलब्धी हासिल गर्नमा अगाडि रहेको पाइन्छ।
चुनौती लिन तथा आत्मनिर्भर बन्न
आमाहरू स्वभावैले प्रोटक्टिभ हुन्छन्। उनीहरू जहिले पनि आफ्ना बच्चालाई सुरक्षाको घेरामा राख्न चाहन्छन्। बच्चाले हरेक कुरा अरुले गरेको देखेर, आफैंले गरेर सिक्न खोजिरहेको हुन्छ। यो अवसर बच्चालाई बाबुले प्रदान गर्छ। उमेर अनुसारको चुनौती लिन सिकाउँछ। नयाँ-नयाँ कुराको अनुभव लिनका लागि अगाडि धकेल्छ। अन्वेषण गर्न सहयोग गर्छ। अनि गल्ती गर्ने र गल्तीबाट सिक्ने अवसर पनि दिन्छ। यसको कारणले बच्चामा बौद्धिक विकासका साथै चुनौतीलाई स्वीकार गर्ने बानीको विकास हुन्छ। यसले आत्मनिर्भर बन्न सिकाउँछ। जुन किशोरावस्थादेखि वयष्क हुन्जेलसम्म पनि कायमै रहन्छ। बाल्यावस्थामा बाबुबाट पाएको यो सिपले जीवनभर सहयोग गरिरहन्छ।
व्यक्तित्व व्यक्तिको स्वभाव, मनोवृत्ति तथा व्यवहारको समुचित रुप हो। यसले व्यक्तिको भविष्य निर्धारण गर्छ सफल हुने वा नहुने। व्यक्तित्वको विकास बाल्यकालदेखि नै सुरु हुने भएकाले बच्चाको सर्वाङ्खिण विकासका लागि आमाको साथमा बाबुको सक्रिय तथा सकारात्मक भूमिका बच्चाको रेखदेखमा महत्त्वपूर्ण हुन्छ।
त्यसैले जस्तोसुकै परिस्थितिमा पनि आफ्नो बच्चाको लागि सुरुआती समयदेखि नै बाबुले बच्चासँग समय बिताउनुपर्छ, हाँस्नुपर्छ, खेल्नुपर्छ, पढ्नुपर्छ। उनीहरूका हरेक क्रियाकलापमा ध्यान दिनुपर्छ। आग्रह पूर्वाग्रह बिना उनीहरूको कुरा सुन्नुपर्छ। उचित परामर्श दिनुपर्छ। यसले बाबु र बच्चाबीचको सम्बन्ध सुमधुर त बनाउँछ नै। बच्चाको दृष्टिकोण पनि सकारात्मक बनाउँछ।