चैती छठ अन्तर्गतको मुख्यपूजा आज साँझ गरिदै
महोत्तरी : महोत्तरीसहित मिथिलाञ्चल क्षेत्रमा आज साँझ चैती छठ (वासन्ती छठ) पर्व अन्तर्गतको मुख्यपूजा गरिँदैछ। आइतबार साँझ व्रतालुहरू पायक पर्ने जलाशयमा गई अस्ताउँदो सूर्यलाई अर्घ दिएर चैती छठ पर्वको मुख्य पूजा गर्छन्।
आज साँझ सूर्य अस्ताउनुअघि व्रतालुहरु जलाशयमा प्रवेश गरी षष्ठीमाताको ध्यान गर्दै दिनानाथलाई अर्घ दिनेछन्। अर्घमा प्रसादस्वरुप ठकुवा, भुसुवा, मुला, उखु, भण्टा, ठकुवा, भुसवा, केरा, नरिवललगायतका सामग्री चढाइन्छ।
चार दिनसम्म नियम निष्ठापूर्वक मनाइने चैती छठको तेस्रो दिन व्रतालुहरु सख्खरबाट बनाएको खीर कुलदेवलाई चढाएर खरना विधि मनाएका थिए। व्रतालुहरू आजराति व्रतस्थल (घाट)मा जागरण बसी भोलिपल्ट चैत्र शुक्ल सप्तमी तिथिका दिन बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्वको समापन हुनेछ। चैती छठ गर्दा हरेक मनोकांक्षा पूरा हुने तथा छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास छ।
कात्तिकमा मनाइने छठ पर्व जतिको संख्यमा श्रद्धालु भक्तजन नभए पनि विस्तारै चैती छठ पर्व गर्नेहरूको संख्या बढ्दै गएको छ।