जात्राको रौनक

नयाँ वर्ष, नयाँ उमंग

नयाँ वर्ष, नयाँ उमंग

काठमाडौं : सांस्कृतिक जगेर्नामा नयाँ पुस्ताको रुचि घट्दो छ। यसको अपवाद हो सिन्दुर जात्रा। मध्यपुर थिमीमा हरेक नयाँ वर्षको पहिलो दिन हुने यो जात्रा विशेषतः युवाले धान्दै आएका छन्। अविर दलादल गरिने यो चाडले नयाँ वर्ष उल्लासमय बनाइदिन्छ।

‘सिन्दुर जात्राको रौनकले तानिहाल्छ, नयाँ वर्षको रौनक एकातिर होला तर मध्यपुर थिमीमा हुने यो जात्राको रमाइलो वर्ष दिनको ऊर्जा जस्तै लाग्छ’, पाँच वर्षदेखि निरन्तर सिन्दुर जात्रामा सहभागी हुने गरेको बताउने धनकुटामा कृष्णभक्त श्रेष्ठले आइतबार अन्नपूर्णसँग भने, ‘जात्रा त धेरैतिर हुन्छन्, तर सिन्दुर जात्रा अत्यन्तै फरक लाग्छ।

यसले त फागुको रंग पनि सम्झाउँछ तर अत्यन्तै फरक किन हुन्छ भने सिन्दुर छ्यापाछ्याप र दलादल गर्दाको मजा नै बेग्लै।’ सिन्दुर जात्रा मध्यपुर नगरमा हुने भए पनि यसको रौनकले सबैलाई तान्ने गरेको छ। काठमाडौं उपत्यकामा मुलुकभरका सबै ७७ वटै जिल्लाका बासिन्दा बसोबास गर्ने भएकाले सहभागीको संख्या पनि हजारौंमा हुने गरेको छ।

३२ खटे जात्रा

सिन्दुर जात्राका बेला मान्छे मात्र होइन, पूरै सडक नै सिन्दुरमय हुन्छ मध्यपुरथिमीमा। चैत मसान्तदेखि सुरु हुने बिस्का जात्रा मध्यपुर नगरमा भने वैशाख २ गते सम्पन्न हुन्छ। एकआपसमा सिन्दुर छ्यापाछ्याप गरेर मनाइने यो जात्रा अत्यन्तै हर्षोल्लासका साथ सम्पन्न गरिन्छ। सिन्दुर जात्रालाई ३२ खटे जात्रा पनि भनिन्छ। जहाँ थिमी क्षेत्रबाट २३ अनि बोडे, नगदेश र टिगनीबाट ९ गरी ३२ खट भेला गरिन्छ। यो मध्यपुरथिमीमा मात्र होइन, भक्तपुर नगर, सांगा, टोखालगायतका स्थानमा मनाइने बिस्का जात्राअन्तर्गत सिन्दुरे जात्रा मनाइन्छ।

nullमध्यपुर थिमीमा आइतबार जात्रा मनाइँदै ।  तस्बिर : अभिषेक महर्जन

खटसँगै थिमीको बालकुमारी, दक्षिणबाराही, विष्णुबीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दुर खेल्दै मनाइन्छ। तर, सबैभन्दा धुमधामका साथ भने मध्यपुरमै मनाइने गरिन्छ। ‘सिन्दुर जात्रा मध्यपुरथिमीको सबैभन्दा ठूलो जात्रा हो’, पुरानो थिमीका कृष्णभक्त शंखदेवले भने, ‘मध्यपुर नगरभित्रका सबैजसो स्थानका देवदेवीका खट भेला पारेर मनाइने भएकाले यसको सामूहिकता नै विशेष छ त्यसमाथि मध्यपुर, अझ भक्तपुर त्यसभन्दा गजब नेपालभरकै मानिस सहभागी हुने र रमाउने परम्परा नै यस जात्राको गजबको पाटो हो।’

बालकुमारी मन्दिर परिसरमा विभिन्न देवीदेवताका खट भेला पारेपछि बालकुमारी खटजात्रा गरिएको थियो। आर्थिक र अन्य कारणले केही वर्षयता खटको संख्या घटेको पाइन्छ।

धिमे, काया र भुस्या आदि विभिन्न सांस्कृतिक बाजागाजाका साथ एकआपसमा सिन्दूर छ्यापाछ्याप गर्छन्। सिन्दुर जात्रामा नववर्षको शुभकामना पनि साटासाट गर्छन्। जात्रामा के बालक के वृद्ध सबैको सहभागिता रहन्छ तर उल्लेख्य सहभागिता युवाकै रहन्छ। यो जात्राको रमाइलो के छ भने जात्रा प्रत्येक टोल, चोक, दोबाटो र चौबाटोमा पुर्‍याइन्छ। जतिबेला घरको कौसी र झ्यालहरूबाट सडकमा रमाइरहेका जात्रालुलाई सिन्दुर र फूल बर्साउने गरिन्छ। बालकुमारीबाट परम्परागत रूपमा सिद्धिगणेश, सिद्धिकाली र त्यसका गणहरूसहित क्वाछें द्यो, हिचो द्यों, अजिमा द्यों, विष्णुवीर र अन्य देवगणको खट उचालेपछि बालकुमारीको जात्रा सुरु हुन्छ। यो सिन्दुर जात्रालाई सुथसिया जात्रा पनि भनिन्छ। हजारौंको संख्या विशेषगरी युवाको उल्लेख्य सहभागिता हुन्छ, युवाको संख्या बढी भएकाले यो जात्रामा रौनक बढ्ने गर्छ।

लायकू प्रवेशद्धारमा पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यो, सिद्धिकाली र अरू देवताका गणहरू बाटो छेकेर बस्ने परम्परा छ। यो परम्पराअनुसार नै देवता लायकू दरबारभित्र पस्न नपाउन भनेर बाटो छेकिन्छ। खट जात्रा अगाडि बढाउँदै ल्याउने बालकुमारीलाई भैलः द्यो परिक्रमा गराउने चलन छ। त्यससँगै सुगां द्यो, क्वाछे द्योंमा पनि सिन्दुर खेल्दै परिक्रमा गराइने परम्परा छ। ‘मलाई त सडकमा जात्रा मनाउनेहरूले एकआपसमा रंग दल्ने काम ठीकै लाग्छ तर जब घरको झ्याल र कौसीबाट सिन्दुर छर्ने काम हुन्छ त्यो रौनक नै सबैभन्दा गजब लाग्छ’, काभ्रेबाट आएका पुजा खड्काले भनिन्, ‘बर्सेनि नभ्याए पनि थिमीको यो सिन्दुर जात्रा आउँदा साथीहरू भेला पारेर ल्याउँछु। जात्रामा साथीसँगको रमाइलो छुट्टै हुन्छ।’null

बालकुमारीलाई बिभिन्न क्षेत्रको परिक्रमा गराई भव्य एवं उमंग अनि उत्साहका साथ थिमीका बासिन्दाले सिन्दुर खेल्दै यो जात्रा मनाउने गर्छन्। बालकुमारीको खट सहितको जात्रालाई शंखधर चोक हँुदै सूर्यविनायक नगरपालिका–५ स्थित दक्षिण बाराही मन्दिरमा लैजाने परम्परा छ। बिहानै सुरु भएको यो जात्रा मध्याह्नसम्म चल्छ। त्यसपछि भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक नगरी बोडेमा जिब्रो छेड्ने जात्रा हुन्छ।

भक्तपुर लोकन्थलीकी सुप्रिया श्रेष्ठ भने सिन्दुर जात्राका तस्बिर र भिडियोहरू खिचेर देश र विदेशमा रहेका साथीसंगीलाई पठाउने गरेको बताउँछिन्। ‘सबै भक्तपुर आउने अवस्था हुँदैन, उपत्यकामै भएर पनि समय नमिल्ला त्यसैले समाचार, टेलिभिजनबाट मात्र होइन, हामी सहभागी सबैले जात्राका भिडियोहरू अनि तस्बिरहरू सेयर गर्नै पर्छ भन्ने मेरो आग्रह पनि हो’, उनी भन्छिन्। उनका अनुसार, यो जात्रा अन्य देशका नागरिकसम्म पुग्नुपर्ने अवस्था सिर्जना गर्नु आवश्यक छ।

८ रात ९ दिनको जात्रा

सांस्कृतिक नगरी भक्तपुरको विशेष पहिचान नयाँ वर्षको अवसरमा मनाइने ८ रात ९ दिनसम्मको बिस्काः अर्थात् बिस्केट जात्रा हो। विश्व प्रसिद्ध जात्राका रूपमा व्याख्या गरिँदै आएको यो जात्रा मनाउन र अवलोकन गर्न वर्षेनि मानवसागर उर्लिने गरेको पाइन्छ। यो जात्रामा भक्तपुर नगरको ल्यासिंखेलमा लिंगो ठड्याउने र ढाल्ने गरिन्छ। जात्रामा दुवै कार्य आकर्षकका केन्द्रबिन्दु मानिन्छन्।

मुलुकभरका मानिस काठमाडौं उपत्यकामा बसोबास गर्ने भएकाले नयाँ वर्षको यो अवसरमा भक्तालु जात्रा हेर्न आउनाले यी दिनमा हरेक दिन हजारौंको घुइँचो हुन्छ। योसिङ द्यः अर्थात् ५५ हात लामो लिंगो बिस्का जात्राको विशेष आकर्षण हुन्छ। पूजाआजाको विधिविधानअनुसार लिंगो उठाइन्छ भने दिनभर जात्रा गरेर साँझ विधिपूर्वक पूजा गरी तान्त्रिक विधिअनुसार लिंगो ढाल्ने परम्परा छ।

null

संस्कृतिविद्का अनुसार, लिंगो ठड्याउनुअघि लिंगोको कोखा (टुप्पो) मा नाग र नागिनीको प्रतीक स्वरूप दुइटा ध्वजा बाँधिन्छ। त्यसपछि अष्टमातृकाका प्रतीक आठवटा डोरीले तानेर उक्त लिंगो उठाइन्छ। प्रचलनअनुसार ८ वटा मोटा एवं लामा डोरी बाँधेर चारैतिरबाट गोलाकार रूपमा बसेर लिंगोलाई योसिङ्को प्वालमा छिराइन्छ। त्यसपछि वरिपरिबाट डोरीको सहायताले तानेर ठड्याइने गरिन्छ। लिंगो उठाउँदाका प्रयासहरू रोचक बन्ने गर्छन् बिस्काका सहभागीलाई। लिंगोको कोखामा झुन्ड्याइएका दुइटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा अनि आकाशभैरवका ध्वजासमेत भन्ने गरिएको संस्कृतिविद्को भनाइ छ । यक्ष मल्लको नेपाल सम्वत् ५६१ को शिलालेख (भक्तपुरको तौमढीस्थित)मा तत्कालिन नेपाल मण्डलको राजधानी भक्तपुर नगरमा मनाइने ८ रात ९ दिनको बिस्का अर्थात् बिस्केट जात्रालाई ‘विश्व जात्रा’ भनिएको छ।

भक्तपुरको प्रसिद्घ बिस्केट जात्राका क्रममा  लिंगो उठाउने जात्रा हेर्नाले सुख, शान्ति र समृद्घि प्राप्त हुने जनविश्वास छ। यसैगरी, सहकाल आउने र शत्रु नाश हुने पनि जनविश्वास रहँदै आएको पाइन्छ। यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको छ। स्थानीयका अनुसार, लिच्छवीकालदेखि बिस्केट जात्राको चार दिन अगाडि भैरव र भद्रकालीको रथयात्रा गरी मनाउन सुरु गरिएको पाइन्छ जुन जात्रा भक्तपुरवासीले ९ दिन ८ रातसम्म मनाउँदै आएको पाइन्छ। लिंगो ढालेपछि रथ जुधाउने काम हुन्छ। यो बिस्का जात्राकै रमाइलो पल मानिन्छ। योसिङखेलबाट भैरवनाथको रथ गःहिटीमा लगेर भद्रकालीसँग भैरवनाथको रथ जुधाइन्छ। स्थानीय बासिन्दाका अनुसार, भैरवनाथ र भद्रकाली देव र देवीको समागम जात्रा भएकाले यसलाई नेवारी भाषामा ‘द्यो ल्वाकिगु’ भनिन्छ ।

नेवार समुदायमा परापूर्वकालदेखि चलिआएको ८ रात ९ दिनको बिस्का जात्रा ‘सर्प मारियो’ भन्ने अर्थमा मनाइने प्रचलन छ। गःहिटीमा रहेको भैरवलाई बली चढाएपछि नेपाल सरकारको तर्फबाट गुठी संस्थानले पूजाआजा गर्ने परम्परा छ। त्यसपछि भैरव र भद्रकालीको रथलाई भेलुंखेल पुर्‍याइन्छ। अनिमात्र ५५ हात लामो इन्द्रध्वजा सहितको लिंगो उभ्याइन्छ। जात्रामा रथ जुधाउनुअघि कुखुराको बली चढाउने परम्परा छ । विक्रम संवत्अनुसार सौर्यमासको आधारमा बिस्केट जात्रा मनाइने संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठको भनाइ छ। उनका अनुसार, नागनागिन मर्‍यो भन्ने भावका आधारमा लिच्छविकालदेखि बिस्का जात्रा मनाइँदै आएको पाइन्छ।

जिब्रो छेड्ने जात्रा
‘जिब्रो छेडेको देख्दा त आफैंलाई चसक्क भयो’, वैशाख २ गते जिब्रो छेड्ने जात्रामा पुगेका नयाँ थिमीका खेमराज दाहालले भने, ‘यो जात्राबारे सुनेको त थिएँ तर प्रत्यक्ष हेर्ने अवसर पहिलोपटक प्राप्त भयो। यसले नेपाली संस्कार धनी छ भन्ने पुष्टि गरेको छ।’ एक महिना अघिदेखि तेलमा डुबाएर राखेको ११ इच्च लामो फलामे सुइरो जिब्रोमा छेडिन्छ। जसको जिब्रोमा छेडिन्छ उसैले महाद्वीप (चन्द्राकारको भ्वाय्) काँधमा बोकेर जात्रामा सहभागी सबैलाई नमस्कार गर्दै बोडे नगरमा रहेको विभिन्न देवीदेवताका मठमन्दिरको परिक्रमा गर्छ।

जिब्रो छेड्ने व्यक्तिले सात दिनदेखि नियममा बस्ने, नुन नखाने, तीन दिनदेखि केही नखाने र नसुत्ने आदि नियम पालना गर्नुपर्छ। जिब्रो छेड्नुअघि बोडे नगरका विभिन्न मठमन्दिरको परिक्रमा र पूजाआजा गर्ने चलन छ। यस वर्ष २८ वर्षीय सुजन वाग श्रेष्ठले जिब्रो छेडेका हुन्। जिब्रो छेड्ने जात्रा लोप हुने अवस्थामा पुगेका बेला बुद्धकृष्ण वाग श्रेष्ठले लगातार नौपटक जिब्रो छेडेका थिए। सुजन बुद्धकृष्णकै कान्छोछोरा हुन्। अघिल्लो वर्ष पनि सुजनले नै जिब्रो छेडेका थिए। हालसम्म बेखानारायण हायश्रेष्ठले ३२ पटकसम्म (१९९१ सालदेखि २०२२ सालसम्म) जिब्रो छेडेको तथ्यांक पाइन्छ।

जिब्रोमा छेडिने फलामको सुइरोलाई नटुचा भनिन्छ। जुन सुइरो बोडेकै लाकुछेंका नकर्मीहरूले तयार पार्दै आएका छन्। पाँचो गणेशमा जिब्रो छेडेपछि महाद्वीप बोकेर नगर परिक्रमा गरी महालक्ष्मी मन्दिरमा पुगेर सुइरो निकालिन्छ। सुइरो निकालेर मन्दिरको भित्तोमा गाडिन्छ भने त्यहाँको माटो जिब्रोमा लगाउने प्रचलन छ। त्यससँगै भोजभतेर गरी जिब्रो छेड्ने जात्राको समापन हुन्छ। ‘जिब्रो छेड्ने जात्राले बोडेको मात्र होइन, भक्तपुर जिल्लाको मात्र पनि होइन, देशकै पृथक संस्कृति बचाइराखेको छ’, जात्रामा सहभागी काठमाडौं निवासी महाकाली कञ्चनपुरका राजेश जोशीले भने, ‘सुनेको त थिएँ, तर अचम्मकै जात्रा मानेँ। यो जात्रा धान्न युवा सक्रिय हुनैपर्ने देखेँ किनभने यत्रो फलामे सुइरोले जिब्रो छेड्ने आँट जोसुकैले गर्न सक्दैनन् जस्तो लाग्यो।’ हरेक वर्ष चैत मसान्तका दिन महालक्ष्मी स्थान परिसरमा लिंगो ठड्याएपछि जिब्रो छेड्ने जात्रा सुरु हुन्छ।

किंवदन्तीअनुसार नीलवाराही जंगल छेउमा बसोबास गरिरहेका मानिसलाई जंगली जनावार र राक्षसहरूले अनेक किसिमले दुःख दिन थालेपछि केही पर नयाँ बस्ती बसालेर बस्न थालेको पाइन्छ। खेतको बीचमा बस्ती बस्न थालेको र उक्त बस्ती नयाँ सरेपछि दुःख कम होला भन्ने उनीहरूले ठानेका थिए। बुँ भनेको खेत र दे भनेको देश (बस्ती) भन्ने शब्द अपभ्रंश हुँदै बोडे भएको स्थानीय बुढापाकाको भनाइ छ। निलवाराहीमा रहेको नेपाल सम्वत् ९५७ को शिलालेखमा पनि उक्त कुरा उल्लेख छ।

स्थान परिवर्तन गरे पनि राक्षसले दुःख दिन नछोडेपछि बोडेवासीले पशुपतिका तान्त्रिकलाई उक्त घटना सुनाएको र उनैले तान्त्रिक शक्तिको प्रयोग गरी उक्त घटना नियन्त्रणमा लिएको जनविश्वास छ। त्यतिबेला उनले स्थानीय बासिन्दालाई दुःख दिने ख्याकको जिब्रोमा फलामको मोटो सुइरोले घोचेर मुख चलाउनै नमिल्ने गरी सास्ती दिएको किम्वदन्ती छ। यसपछि बोडेवासीलाई रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि, भूकम्पजस्ता प्राकृतिक प्रकोप नपर्ने विश्वास गर्दै आइएको छ।

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.