काठमाडौं : एसीसी पुरुष प्रिमियर कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज नेपालले सेमिफाइनल यात्रा तय गर्ने लक्ष्य राखेको छ। ओमानको अल अमेरत क्रिकेट मैदानमा जारी तेस्रो खेलमा हङकङलाई पराजित गर्दै लगातार तेस्रो जित निकाल्ने दाउमा छ। खेल नेपाली समयअनुसार बिहान ११:४५ बजे सुरु हुनेछ।
समूह ‘ए’ मा रहेको नेपाल चार अंकका साथ शीर्ष स्थानमा छ। उक्त समूहमा साउदी अरब, मलेसिया, हङकङ र कतारसमेत छन्। नेपाल पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई पराजित गर्दै विजयी भएको थियो। समूह ‘ए’मा साउदी अरब दोस्रो,मलेसिया तेस्रो, हङकङ चौथो स्थानमा छन्। हङकङले सेमिफाइनलको यात्रा तय गर्न आज नेपाललाई हराउनुपर्ने दबाब छ।
नेपाली राष्ट्रिय टोलीमा कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सनकुमार झा, अनिल साह, सन्दीप जोरा, करण केसी, विवेक यादव, प्रतिश जिसी, सोमपाल कामी, ललितनारायण राजवंशी र अभिनास बोहरा रहेका छन्।
समूह ‘बी’मा ओमान,युएई, कुवेत, बहराइन र कम्बोडिया छन्। समूह ‘बी’मा ओमान चार अंकका साथ शीर्ष स्थानर युएई चार अंककै साथ दोस्रो स्थानमा छ।
प्रिमियर कपको गत संस्करणको उपाधि नेपालले जितेको थियो। अघिल्लो वर्ष घरेलु मैदानमा आयोजित प्रिमियर कपको फाइनलमा नेपालले यूएईलाई सात विकेटले हराएको थियो। अघिल्लो संस्करणमा पनि नेपाल प्रिमियर कपको विजेता बन्दै एसिया कपमा छनोट भएको थियो।
एसिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तानले सहभागिता जनाउँछन्। सन् २०२३ को एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेलेको थियो। समूह चरणको अन्तिम खेल वैशाख ४ गते साउदी अरबसँग हुनेछ। प्रतियोगितामा वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ।