हङकङविरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल
काठमाडौं : एसीसी प्रिमियर कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा हङकङविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको हो। ओमानको अल अमेरत क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन्।
नेपाली समय अनुसार ११:४५ बजे निर्धारण गरिएको खेल वर्षाका कारण पछाडि धकेलिएको हो। वर्षाका कारण १८ ओभरमा खेल घटाइएको छ। हङकङलाई पराजित गर्दै नेपाल लगातार तेस्रो जित निकाल्ने दाउमा छ। आजको खेलमा अंक बाँडिएको खण्डमा नेपाललाई समूह विजेता बन्न सकस पर्नेछ।
समूह ‘ए’ मा रहेको नेपाल चार अंकका साथ शीर्ष स्थानमा छ। उक्त समूहमा साउदी अरब, मलेसिया, हङकङ र कतारसमेत छन्। नेपाल पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई पराजित गर्दै विजयी भएको थियो। समूह ‘ए’मा साउदी अरब दोस्रो,मलेसिया तेस्रो, हङकङ चौथो स्थानमा छन्। हङकङले सेमिफाइनलको यात्रा तय गर्न आज नेपाललाई हराउनुपर्ने दबाब छ।
समूह ‘बी’मा ओमान,युएई, कुवेत, बहराइन र कम्बोडिया छन्। समूह ‘बी’मा ओमान चार अंकका साथ शीर्ष स्थानर युएई चार अंककै साथ दोस्रो स्थानमा छ।
प्रिमियर कपको गत संस्करणको उपाधि नेपालले जितेको थियो। अघिल्लो वर्ष घरेलु मैदानमा आयोजित प्रिमियर कपको फाइनलमा नेपालले यूएईलाई सात विकेटले हराएको थियो। अघिल्लो संस्करणमा पनि नेपाल प्रिमियर कपको विजेता बन्दै एसिया कपमा छनोट भएको थियो।
एसिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तानले सहभागिता जनाउँछन्। सन् २०२३ को एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेलेको थियो। समूह चरणको अन्तिम खेल वैशाख ५ गते साउदी अरबसँग हुनेछ। प्रतियोगितामा वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ।