चुनौतीमा क्रिप्टो र डिजिटल भुक्तानी
विश्वबजारमा तीव्र विस्तार हुँदै गएको क्रिप्टो कारोबारलाई अवैध घोषणा गर्नु नेपालको लागि सहज र दूरगामी निकास हैन।
मुद्रा विनिमयको माध्यम हो। यो केन्द्रीय बैंकद्वारा भौतिक बैंकनोट वा सिक्काको रूपमा निष्काशित वा जारी हुन्छ। केन्द्रीय बैंकले सुरक्षणबापत बहुमूल्य सम्पत्ति मौज्दात राखी त्यसबराबरको मूल्यमा मुद्रा निष्कासन गर्छ।
वैकल्पिक मुद्रा : क्रिप्टोकरेन्सी बैंकनोट वा सिक्काभन्दा फरक स्वतन्त्र बजारद्वारा निष्कासित डिजिटल भुक्तानीको माध्यम हो। यो कम्प्युटर नेटवर्कमार्फत डिजाइन गरिएको पियर प्रविधिमा आधारित सुरक्षित विनिमयको माध्यम हो।
सुरक्षित क्रिप्टोग्राफीद्वारा कम्प्युटर डेटाबेसमार्फत यसको सिर्जना, स्वामित्व, नियन्त्रण, नियमन र स्थानान्तरण अभिलिखित भई डिजिटल लेजरमा भण्डारण गरिन्छ। यो वस्तु विनिमय अर्थात्् फन्जिबल ब्लकचेन टोकन प्रणालीमा आधारित हुन्छ। क्रिप्टोका मालिकहरूले मोडेलमा सम्पत्तिहरू सुरक्षण राखी सेयरको अनुपातमा टोकन अधिकार पाउँछन्।
डिजिटल मुद्रा : मुद्राको डिजिटल संस्करणलाई सेन्ट्रल बैंक डिजिटल करेन्सी भनिन्छ। यो अनलाइन नेटवर्कमा आधारित एकबाट अर्को भुक्तानी खातामा मूल्य स्थानान्तरण गरिने भुक्तानी प्रविधि हो। कम्प्युटर उपकरण, मोबाइल डिजिटल वालेट, डेबिट, क्रेडिट वा प्रिपेड कार्ड, इलेक्ट्रोनिक फन्ड ट्रान्सफर यसका उदाहरण हुन्।
खरिदबिक्री र कारोबार : विकेन्द्रित वितरित लेजर वा ब्लकचेन प्रविधिमा मिन्ट हुने क्रिप्टोकरेन्सीले सार्वजनिक वित्तीय लेनदेन डेटाबेसको काम गर्दछ। कारोबारका अभिलेखहरू सार्वजनिक खातामा अध्यावधिक गरिन्छन्। क्रिप्टो इकाइहरूका जटिलतम् गणितीय समस्या हल गर्न कम्प्युटर शक्तिको प्रयोग हुन्छ। ग्राहकले ब्रोकरमार्फत खरिद गरी क्रिप्टोग्राफिक वालेटमा भण्डारण गर्न सक्छन्।
विशेष प्रकारको साँचोको सहायताले अभिलेख एक व्यक्तिबाट अर्कोमा स्थानान्तरण वा इकाइ मापन गर्न सकिन्छ। बिटक्वाइन, इथेरियम, एक्सआरपी, कार्डानो, विनायन्स क्वाइन, डजक्वाइन, सोलाना, टेथर, यूएसडी क्वाइन इत्यादि चर्चित क्रिप्टोकरेन्सी हुन्। यिनीहरूलाई सामूहिक रूपमा वैकल्पिक मुद्रा नामले चिनिन्छ। खरिदबिक्रीबापत स्टक, बोन्डजस्ता ब्रोकर वा एक्सचेन्जलाई मूल्यमा आधारित शुल्क तिर्नुपर्छ। यसको कारोबार वायर ट्रान्सफर वा अमेरिकी डलर, पाउन्ड, युरो, डेबिट वा क्रेडिट कार्डजस्ता फियाट मुद्राका अलवा पे–पल, क्यासएप र भेनमोजस्ता भुक्तानी सेवामार्फत पनि गर्न सकिन्छ। यसरी फियाट मुद्रा वा भुक्तानी सेवा नेटवर्कमा एकपटक पनि प्रवेश नगरी यसको स्वतन्त्र कारोबार सम्भव हुँदैन।
ब्लक चेन : डेटालाई स–साना ब्लक बनाई क्रिप्टोग्राफीद्वारा लिंकमा सुरक्षित राखिने प्रविधि ब्लक चेन हो। यसले प्रत्येक क्रिप्टो सिक्काको वैधता प्रदान गर्छ। प्रत्येक ब्लकको लिंकको रूपमा एक ह्यास एल्गोरिदमको सूचक रहन्छ। डेटाहरू परिमार्जन प्रतिरोधी प्रविधिद्वारा डिजाइन गरिन्छन्। यसले पीटूपी नेटवर्क प्रोटोकलद्वारा दुई पक्षबीचको लेनदेनलाई कुशलतापूर्वक प्रमाणित गर्दै नयाँ ब्लकको वैधताको स्थायी अभिलेखीकरणको ओपन डिस्ट्रिब्युटेड लेजरको भूमिका खेल्छ। एकचोटि अभिलिखित कुनै पनि ब्लकको डेटालाई चेनमा आबद्ध पछिल्ला ब्लकहरूको परिवर्तनबिना फेरबदल असम्भव प्राय : हुन्छ। नेटवर्कजडित नोडहरू, टाइमस्ट्याम्पिङ योजनाहरू, माइनिङ, वालेट आदि प्रयोग हुने ब्लकचेनका लागि ठूलो कम्प्युटर शक्ति आवश्यकता पर्छ जसमा अत्यधिक ऊर्जा खपत हुन्छ।
माइनिङ : सन् १९८३ मा अमेरिकी क्रिप्टोग्राफर डेबिड चाउमकृत ‘इक्यास’, ‘डिजिक्यास’ १९९८ तिर आइपुग्दा इलेक्ट्रोनिक नगद भुक्तानी प्रणालीको प्रारम्भिक रूप ‘बी’ मनी, ‘बिटगोल्ड’ हुँदै २००९ मा बिटक्वाइनको रूपमा अस्तित्वमा आयो। वालेट, ठेगाना र रकम ब्लकमा प्रविष्ट गरी ब्लकचेनको औपचारिक कारोबारमा प्रवेश गरेपछि माइनिङ प्रारम्भ हुन्छ। क्रिप्टोग्राफिक अल्गोरिदमको माध्यम ब्लकमा डेटा प्रविष्ट गर्ने कार्य ह्यासिङ हो। हार्डवेयर र सफ्टवेयरको मद्दतद्वारा कठिन नेटवर्क अल्गोरिदमद्वारा निर्धारित ६४ डिजिटको हेक्साडेसिमल क्रिप्टोग्राफिक नम्बर सिर्जित हुन्छ। चीनमा प्रतिबन्धित भएपश्चात धेरै माइनिङ क्यानडा र अमेरिकाको टेक्सासतर्फ स्थानान्तरित भएभने आइसल्यान्ड र कजाकस्तान प्रमुख गन्तव्य मानिन्छन्।
अहिलेको सूचना प्रविधिको युगमा बैंकहरू एआई प्रविधि अपनाउँदै विभिन्न एप वा अनलाइन गेटवेमार्फत डिजिटल भुक्तानी, विद्युतीय स्थानान्तरण वा अनलाइन कारोबारतर्फ आकर्षित हुँदै गएको अवस्था छ।
पर्यावरणीय प्रभाव : बिजुलीको खपत उच्च हुने भएकाले माइनिङबाट उत्पन्न हरितगृह ग्यास उत्सर्जनको कारण ठूलो मात्रामा प्रदूषण र कार्बन फुटप्रिन्ट सिर्जित हुन्छ। उत्सर्जित माइनिङ रिग्स् विद्युतीय फोहोर विसर्जनको चुनौती ज्वलन्त छ। बीबीसीद्वारा प्रसारित समाचारअनुसार क्रिप्टोकरेन्सी उत्पादनमा प्रत्येक वर्ष ३० हजार ७ सय टन र औसतमा प्रतिकारोबार २ सय ७२ ग्राम विद्युतीय फोहोर उत्पादन हुन्छ। माइनिङ उपकरणहरूको औसत आयु १.२९ वर्ष हुन्छ। अध्ययनअनुसार १ जनवरी २०१६ देखि ३० जुन २०१७ बीच इथेरियम, लिट्क्वाइन र मोनेरोजस्ता क्रिप्टोकरेन्सी माइनिङमा ३ देखि १५ मिलियन टन कार्बनडाइअक्साइड उत्सर्जित भएको पाइयो। यिनीहरूको तुलनामा बिटक्वाइनले कम
ऊर्जा खपत गर्छ।
साइबर सुरक्षा र जोखिम सम्बोधन : इन्टरनेटको माध्यमबाट हुने गैरबैंकिङ क्रिप्टोकरेन्सी कारोबारले विश्व अर्थतन्त्रमा गम्भीर असर पार्छ। पहिलोपटक फियाट मुद्रा वा भुक्तानी गेटवेको माध्यमद्वारा खरिदबिक्री भएपछि पछिल्ला कारोबारहरूमा बैंकिङ नेटवर्क अनिवार्य हुँदैन। अमेरिकाको महान्यायाधिवक्ता कार्यालय मातहतको साइबर डिजिटल टास्क फोर्सको २०२० को प्रतिवेदन अनुसार क्रिप्टोकरेन्सीको प्रयोग तीन प्रकारले हुन्छ। ९१० अपराध सम्बन्धित वित्तीय लेनदेन ९२० मनी लाउन्ड्रिङ र कर छली अवैध गतिविधिको संरक्षण र ९३० चोरी वा क्रिप्टोकरेन्सी बजारलाई प्रत्यक्ष असर गर्ने अपराधहरू। क्रिप्टोकरेन्सी कारोबारमा ‘वास ट्रेडर्स’द्वारा कृत्रिम मूल्य हेरफेर गर्ने जोखिम हुन्छ। मुलुकमाथिको आर्थिक प्रतिबन्ध छल्ने उपकरणको रूपमा पनि यसको प्रयोग हुन सक्छ।
वैधानिकता : क्रिप्टोको वैधानिकता सम्बन्धमा देशैपिच्छे फरक मौद्रिकनीति पाइन्छ। केहीले यसलाई स्पष्टरूपमा मान्यता दिएका छन् भने केहीले प्रतिबन्ध लगाएका छन्। अमेरिकी लाइब्रेरी अफ कंग्रेसले सन् २०२१ मा सार्वजनिक गरेअनुसार अल्जेरिया, बंगलादेश, बोलिभिया, चीन, इजिप्ट, इराक, मोरक्को, यूएई र नेपाल गरी ९ मुलुकले घोषित र ४१ देशले अघोषित प्रतिबन्ध लगाएका छन्। सामाजिक सञ्जालहरू गुगल, फेसबुक र बिङले लगाएको विज्ञापन माथिको प्रतिबन्ध फुकुवा गरेका छन् भने एक्स, स्न्यापच्याट, लिंकडइनलगायत केहीले भने कायमै राखेका छन्।
एक अध्ययन कमिसनको २०१८ को प्रतिवेदनपछि बेलायतले क्रिप्टो सम्पत्ति र स्थिरमुद्रा सम्बन्धमा एक परामर्श जारी गर्यो। बेलायतभित्र कारोबार हुने क्रिप्टोकरेन्सी फर्म, एक्सचेन्ज, सल्लाहकार र पेसेवरहरू वित्तीय आचरण प्राधिकरणमा अनिवार्य दर्ता गर्नुपर्ने भयो। सन् २०२१ मा एल साल्भाडोर बिटक्वाइनलाई कानुनी बोलपत्रहरूमा स्वीकार गर्ने विश्वको पहिलो मुलुक बन्यो।
अमेरिका : अमेरिकाका १७ राज्यले क्रिप्टो मुद्रा विनियमनसम्बन्धी कानुन पारित गरे। अमेरिकाले क्रिप्टो सिर्जित मनी लाउन्डरिङ र करछलीलाई सजायको दायरामा ल्याएको छ। आन्तरिक राजस्व विभागले क्रिप्टोकरेन्सीलाई करको दायरामा ल्याएको छ। क्रिप्टोकरेन्सीको लोकप्रियता र वित्तीय संस्थाहरूले स्वीकार्ने कारण नियमनको मूल्यांकन गर्न सरकारलाई प्रेरित गरेको छ।
नेपाल : नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागले २०७४ साउन २९, २०७८ भदौ २४ र २०७८ माघ ९ का पूर्वसूचना उद्धृत गर्दै २०७९ साउन ३० मा सूचना प्रकाशित गर्दै नेपालमा विदेशी विनिमय वा मुद्राको रूपमा भर्चुअल करेन्सी र क्रिप्टोकरेन्सीले कानुनी मान्यता नपाएको, नेपालमा कानुनी ग्राह्य नभएको, नेपाल सरकारको जमानत प्राप्त नभएको र यस बैंकले निष्कासन नगरेको तथा कुनै पनि किसिमको सुरक्षण नभएको हुँदा यसको कारोबार गैरकानुनी रहेको, भर्चुअल करेन्सी र क्रिप्टोकरेन्सी, सट्टेबाजी आदिसम्बन्धी जोखिमहरू अन्तरनिहित हुने विषयसमेत स्मरण गराउँदै नेपालभित्र र बाहिर बसोबास गर्ने नागरिक र फर्म र कम्पनी र संस्था (विदेशीसमेत) तथा नेपालमा दर्ता भई नेपाल बाहिर रहेका फर्म, कम्पनी, संस्था तथा त्यस्ता कम्पनी वा संस्थाका शाखा कार्यालय तथा एजेन्सीले कुनै पनि प्रकारका यस्ता कारोबार गरेर गराइएको पाइएमा तथा सोको प्रयोग र संलग्नता र सदस्यता र लगानी र स्वामित्व ग्रहण र स्थानान्तरण र विप्रेषण र विनिमय र माइनिङसम्बन्धी कार्य गरे र गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने बेहोरा विदेशी विनिमय ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी’ भनेर प्रकाशित गर्यो।
सूचनाको स्रोतको रूपमा ऐनको दफा १२ लाई उद्धृत गरेकाले प्रत्यायोजित अधिकार प्रयोग गरेको पाइयो। उक्त दफाको प्रावधान हेर्दा दफा १५ अन्तर्गत नेपाल सरकारले दिएको कुनै निर्देशमा बाधा विरोध नपर्ने गरी बैंकले यो ऐनमा लेखिएका कुरा कार्यान्वयन गर्न आवश्यकतानुसार समयसमयमा निर्देशन दिन वा विनियम बनाउन वा आदेश वा सूचना जारी गर्न सक्नेछ’ भनिएको छ। सूचनामै क्रिप्टोकरेन्सीले विदेशी विनिमयको रूपमा कानुनी मान्यता नपाएको उल्लेख भएकाले ऐनको नाम र प्रस्तावनाबमोजिम विधायिकी मनशायअनुसार सूचना निष्काशनपूर्व ऐनको दफा २९ घ को परिभाषा खण्डमा सर्वप्रथम यसलाई विदेशी विनिमयको परिभाषाभित्र समेटी त्यसपछि मात्र इजाजतपत्र वा कारोबारको सूचना निकाल्नुपर्ने हुन्छ।
विदेशी विनिमयबाहेकका अन्य कानुनले नचिनेका मुद्राको कारोबारको सम्बन्धमा ऐनको क्षेत्राधिकार आकर्षित हुँदैन। सूचनाको हैसियत सामाजिक सचेतनाको लागि जारी सार्वजनिक परामर्शदातृ सूचना प्रकृतिको देखिन्छ। सूचनाको आशय बैंकले मान्यता नदिएको भर्चुअल करेन्सीको कारोबारबाट कोही पनि नठगिऊन्, ठगिएमा बैंक जवाफदेही नहुने भन्ने देखिन्छ। यस्तो सूचना प्रकाशित हुँदाहुँदै पनि त्यस्तो कारोबारबाट ठगिएको उजुरी लिई आएमा कानुनी कारबाही गर्न नसकिने भन्ने अर्थ लाग्छ।
अबको निकास : अहिलेको सूचना प्रविधिको युगमा बैंकहरू एआई प्रविधि अपनाउँदै विभिन्न एप वा अनलाइन गेटवेमार्फत डिजिटल भुक्तानी, विद्युतीय स्थानान्तरण वा अनलाइन कारोबारतर्फ आकर्षित हुँदै गएको अवस्था छ। विश्वबजारमा तीव्र विस्तार हुँदै गएको क्रिप्टो कारोबारलाई अवैध घोषणा गर्नु नेपालको लागि सहज र दूरगामी निकास हैन। आफ्नो साइबर सुरक्षा कमजोरीको विकल्प प्रतिबन्ध होइन।
राष्ट्र बैंकले केबल परामर्शदात्री सूचना प्रकाशित गरेरमात्र नभई कानुनमा समयानुकूल संशोधन गरी वा नयाँ कानुन जारी गरी यसको सम्बोधन गर्नुपर्छ। फौजदारी कानुनद्वारा निषेधित कार्य गर्नु अपराध हो। प्रत्याजित अधिकार प्रयोग गरी जारी प्रशासकीय सूचनाले कुनै पनि कार्यलाई अपराध घोषित गर्न वा सजाय गर्न नसक्ने सर्वमान्य विधिशास्त्रीय सिद्धान्तको अनिवार्य पालना गर्नुपर्ने हुन्छ। सूचनाको भरमा प्रतिबन्ध लगाई ढुक्कले बस्नुभन्दा साइबर सुरक्षाको स्तर चुस्त, दुरुस्त बनाई क्रिप्टो कारोबारलाई नियमन गर्ने वा करको दायराभित्र ल्याउने क्षमता र प्रविधिको विकास गर्नु अपरिहार्य भइसकेको छ।