समुन्नत नेपालका लागि अमेरिकाको क्यालिफोर्नियामा पदयात्रा
सिमराः ‘सम्मुन्नत नेपालका लागि पदयात्रा’ को नारासहित अमेरिकाको क्यालिफोर्नियास्थित सान फ्रान्सिस्को सहरमा ‘नेपाल डे परेड २०२४’ सम्पन्न भएको छ। नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यसहित गत वर्षदेखि सुरुवात भएको परेड कार्यक्रम यो वर्ष पनि भव्यरुपमा सम्पन्न गरिएको हो।
गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यालिफोर्निया च्याप्टरको आयोजना तथा राष्ट्रिय समन्वय परिषद अमेरिका (एनसीसी) क्यालिफोर्निया च्याप्टर, नेपाल आदिवासी जनजाति महासंघसहित विभिन्न संघसंस्थाको समन्वयमा आयोजित परेड कार्यक्रममा हजारौंको संख्यामा नेपाली र अमेरिकी नागरिक सहभागी थिए।
नेपालको कला, संस्कृति झल्किने झाँकी र नृत्यसहित आयोजना गरिएको कार्यक्रममा अमेरिकी सांसद स्कट विनर ल्यारी क्लेन, सनीभेल (क्यालिफोर्निया) सिटीका मेयर कारमेन मोंटानो, मिल्पीटस (क्यालिफोर्निया) सिटीका मेयर एडुवार्डो रिचमण्ड, अमेरिकी राष्ट्रपति जो बाइडेनका एशियाई अमेरिकी सल्लाहकार अजय भुटोरिया, नेपालका क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का लगायतको सहभागिता रहेको थियो।
एनआरएन एनसीसी अमेरिकाका अध्यक्ष अर्जुन बन्जाडेले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यसहित परेड कार्यक्रम सम्पन्न गरिएको बताए। बन्जाडेले सुन्दर नेपालको भ्रमण गर्न समेत आग्रह गरेका थिए। एनआरएनए एनसीसी क्यार्लिफोर्निया च्याप्टरका अध्यक्ष हरि ओझाले अमेरिकामा जन्मिएर नेपाल नगएका बालबालिकालाई समेत नेपालको कला संस्कृतिबारे जानकारी गराउन परेड कार्यक्रम सहयोगी हुने बताए। नेपाली कलासंस्कृतिलाई जगेर्ना गर्न पनि कार्यक्रमले ऊर्जा थप्ने ओझाको भनाइ थियो।
यसैगरी अमेरिकी राष्ट्रपति बाइडेनका एशियाई अमेरिकी सल्लाहकार भुटेरियाले परेड कार्यक्रममा निमन्त्रण गरेको खुशी व्यक्त गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरेको अमेरिकाबाट रामप्रसाद अधिकारीले जानकारी दिए। यस्तै कार्यक्रममा नेपाली महावाणिज्य दूत ऋषी ढकालले परदेशमा रहेर पनि नेपालीहरूले आफ्नो कला, संस्कृति, धर्म, भाषा, भेषभुषा जोगाइराखेको र नेपाललाई विश्वमा चिनाउने काम गरेकोमा खुशी व्यक्त गरे। यस्तो कार्यक्रममा नेपाल भ्रमण गर्न उत्साहित बनाउने ढकालले बताए।