गृहमन्त्रीज्यूको लड्डु... !
सानीकान्छीले खसी पाल्न सहकारीबाट ऋण लिएकी छ । छोरोले १२ पछि ऋण तिर्ला भनेको अब बिजोग हुने भयो ।
हो ! फेरि अर्को नयाँ साल। कति छिटो छिटो दिन बित्छ पत्तै नहुने ! भर्खर नयाँ वर्षले नयाँ उमंग ल्याएको जस्तो लागिरहेको थियो, एक वर्ष बितेको पत्तै भएन। वर्षदिनको मेहनत परिश्रम पसिना बनेर बग्यो तर परिणाम हात लागी शून्य ! खायो–लायो, बच्चाबच्चीलाई पढायो, सक्कियो। आफ्नो परिश्रमको सही मूल्य पाइने भए जीवन सुखमय हुन्थ्यो। तर यो देशमा श्रमको सही मूल्यांकन हुँदैन। निराशा नै निराशामा घेरिएको छ जिन्दगी ! आ...! जस्तो जेसुकै होस्, नयाँ वर्षमा त जसरी जोरजाम गरेर भए पनि एकछाक मासु खानै पर्छ।
वर्षको सुरुवात राम्रो भएर खुुसीसाथ बिते पो वर्षभरि राम्रो हुन्छ। आज त खसीको मासु ल्याउनुपर्छ अनि मज्जाले मासुभात खानु पर्छ। सोच्दै थिएँ, तल पल्लाघरे काइँला ए दाइ... दाइ भन्दै चिच्याएको सुनियो। ‘ए काइँला किन कराउँछस्’ माथिबाटै आवाज दिएँ। ‘दाइ तल आउनुस् त’ काइँला करायो। के भयो होला ? चिन्ता अनि डर पनि लाग्न थाल्यो। हतारहतार सिंगो भ¥याङ एकै सासमा काटेर तल पुगें। ‘के भयो काइँला ?’ सोधें। मुसुक्क हाँस्दै एउटा पोको मेरो हातमा थमाइदियो। सोधें ‘के हो यो’ ? उसले जवाफ फर्कायो, ‘नयाँ वर्ष मनाउने जोस चढ्यो, एउटा खसी काटेको, अलिअलि मासु सबै छिमेकी मिलीजुली बाँडचँुड गरी खाउँ भन्ने लाग्यो, त्यही अलिकति मासु ल्याइदिएको दाइलाई पनि।’
यो कपटी मान्छेलाई के भूत चढ्यो आज सबलाई मासु बाँड्दै हिँडिरहेछ ! आश्चर्य लाग्यो ! जे होस् सित्तैमा खसीको मासु पाएको खुसीको सीमा रहेन। मन दंग ! हतारहतार मासुको पोको लिएर भान्छातिर दौडिएँ। बूढीको हातमा पोको थमाइदिएँ। अनि मासुको पोका कहाँबाट आयो भन्ने बेलिविस्तार लाएपछि बूढीले पनि अचम्म मान्दै प्रतिक्रिया दिइहाली ‘हो र ? काइँलोलाई चिठ्ठै परेछ कि के हो ? गाउँभरि मासु बाँड्दै हिँडिरहेछ ?’ मैले बीचमै रोकेर भनिहालें ‘जे भए पनि लामो गनगन किन उसले मायाले ल्याइदियो खुसीसाथ मज्जाले खाउँ, भइगयो।’ बूढीले गज्जब पकाइन् मासु। परिवार बसेर मज्जाले खायौं। बच्चाबच्ची पनि खुसी। आमाबालाई सन्तान खुसी भएको देख्दा साह्रै आनन्द आउँछ। आनन्द नलाग्नु पनि किन र उनीहरूकै खुसीका लागि त परिश्रम अनि मेहनत गर्छन् आमाबाउ। तर जे होस् काइँलाले गर्दा यसपालिको नयाँ वर्ष सस्तैमा कट्यो।
मासु त खाइयो तर पनि कताकता मनमा एउटा प्रश्न उठेको उठ्यै छ। साँच्चै कहाँबाट ल्यायो पैसा त्यो काइँलाले, सिंगो खसी किन्न। आम्दानी उही हो, त्यस्तो उल्लेख्य थप कमाइ केही भए जस्तो पनि लाग्दैन। यत्रो खर्च गर्ने सामथ्र्य कसरी बढायो तेल्ले ? मनमा शंका उपशंका उब्जिरह्यो। फेरि आ.. ! किन बढी सुर्ता लिइबस्ने ल्याइदियो खाइदिएँ भइहाल्यो भनी मन बुझाएँ। दिन त्यत्तिकै बित्यो। भोलिपल्ट बिहानै गाउँमा अमिलो गाइँगुइँ सुनिन थाल्यो। माथिल्लो गाउँकी सानीकान्छीको खसी हिजोदेखि हराइरहेको छ भनी खोज्दै हिँडिरहेकी छ रे ! बिचरा सानीकान्छी त्यही खसी बेचेर छोरालाई बाह्र कक्षा भर्ना गर्छु भन्दै थिई रे। अब खसी बेपत्ता भएसँगै छोराको भविष्य पनि बिलाउने भयो।
सानीकान्छीले फेरि त्यो खसी पाल्न हाम्रो सहकारीबाट ऋण पनि लिएकी छ। छोरोले १२ सकेपछि कमाउन थाल्छ। विस्तारै ऋण तिर्दै जाउँला भन्दै हिँड्थी ऊ। बिजोग हुने भयो। सब भताभुंग ! यो खबर सुनेपछि अब त मनमा डरले दह्रो डेरा जमाउन थाल्यो। कतै त्यो काइँलाले ख्वाएको मासु त्यही सानीकान्छीको हराएको खसीको त हैन ? होइन होइन...! जतिसुकै समस्या परे पनि त्यो काइँलाले चोरी चंै गरी हाल्दैन। फेरि चोरेकै हो भने सबले थाहा पाउने गरी किन बाँड्दै हिँड्थ्यो ?
यस्तै कुरा खेल्न थाल्यो मनमा। हुन पनि हो बूढापाकाले सुनाउने गथ्र्यो कि चोरले आफ्नो पापमोचन गर्न चोरेको बस्तु बाँडेर सबलाई पापको भागीदार बनाउँछ। यदि यो सत्य हो भने म पनि चोरीको भागीदार बनँं। त्यो बिचरा विधवा सानीकान्छीको बिजोग, उसको छोराको अन्योल भविष्य, ऋणको बोझ, त्यसमाथि घरखेत जान सक्ने अवस्था निम्त्याउनमा मेरो पनि भागीदारी ! हैत किन गरेछु मैले लोभ !
सम्झिँदै, धिक्कार्दै छु आफैंलाई। ठूलै पाप गरेछु, छाती भत्भती पोलिरहेछ। कहाँ जाउँ के गरुँ छटपटीले जलिरहेछ छु। नभन्दै केहीबेर पछि काइँलोलाई प्रहरीले लग्यो भन्ने खबर आयो। लौ बर्वाद ! मासुको स्वाद पाइने भयो अब। काइँलाले नाम पोल्न थाल्यो रे क–कसले मासुको भाग खाएका छन् भनेर। मासुको भाग खानेहरू सब लुक्न थाले भन्ने खबर पनि आयो। लौ फसाद ! अब के गर्ने ? बूढी उल्टै मलाई दोष दिन थाली। ‘सित्तैमा पायो भन्दैमा किन लिन प¥या त्यो मासु ! नाइँ पर्दैन भन्न सकेनौ ? उल्टै मलाई दोष।
मलाई पनि रिस उठ्यो– ‘तिमीहरू पनि दंग पर्दै खाएथ्यौ नि त त्यही मासु, अब तिमी पनि जान्छौ पुलिस थाना।’ दुवै थुनियौं भने बालबच्चाको बिजोग हुन्छ भन्ने पीरले पिरोलिन थाल्यौं। नभन्दै कसैले तल ढोका ढकढक्याउन थाल्यो जोडले। डराइडराइ चिहाएँ झ्यालबाट बिस्तारै। लौ बर्बाद ! ए बूढी तल त प्रहरी आएछन्। मलाई बचा, यता पछाडिको झ्यालबाट फुत्त भाग्छु। खोइ भनी सोधे भने सहर गा’को छ भन्नू। लामो कुरा नगर भन्दै झ्यालबाट ओर्लिन खोज्दा खुट्टा चिप्लेर म त बजारिन पुगेछु भुइँमा। अइया बाबा ... भन्दै चिच्याएँ।
बूढी ‘के भो’ भन्दै चिच्याउँदै आई। अनि कराउन थाली ‘कस्तो बेहोसीमा सुत्छौ, के पिएका थियौ हिजो राति खाटबाटै लड्ने गरी !’ झसंग भएँ। हैट खाटबाट पो लडेको रै’छु। सपना पनि के देख्ने के देख्ने ? फेरि बर्बराउन थाली ‘आज नयाँ वर्ष मासु खाने हैन ?’ हो हो ल म किन्न गएँ। चोकमा मान्छेको भीड थियो। के भएको भनी सोध्दा थाहा भयो– नयाँ वर्षको उपलक्ष्यमा गृहमन्त्रीज्यू लड्डु बाँड्दै हुनुहुन्छ।