बदलिँदै छ मधेस, छोरी जन्मिँदा मुन्नाले गाउँभरि बाँडे मिठाइ

बदलिँदै छ मधेस, छोरी जन्मिँदा मुन्नाले गाउँभरि बाँडे मिठाइ

वीरगन्ज : मधेसमा छोरा जन्मिएपछि घरपरिवारमा खुसीयाली छाउँछ। अस्पतालमै मिठाइ बाँडिन्छ। 'छैंठी'का दिन भव्य भोजभतेर गरिन्छ।

तर, कसैको घरमा छोरी जन्मिए त्यस घरपरिवारका सदस्यहरूको अनुहारमा १२ नै बज्छ। जन्म दिने आमा-बुबाको अनुहार निन्याउरो हुन्छ। कारण एउटै हो- छोरी जन्मी अब यसको बिहेबारी कसरी हुन्छ? दाइजोको जोहो कहाँबाट गर्ने? जस्ता प्रश्नसहितका चिन्ताले आमा-बुबालाई सताउन थाल्छ। 

वीरगन्जमा यसको विपरीत एउटा सकरात्मक घटना सार्वजनिक भएको छ। वीरगन्ज-२ छपकैयाका शेख मुन्नाको पहिलो सन्तानका रूपमा छोरी जन्मिएपछि घरपरिवारका कोही पनि सदस्य दुःखी छैनन्। छोरी जन्मिएकोमा परिवारका सबै खुसी छन्। 

छोरी जन्मिएको १२औं दिनको विधि पूरा भएपछि खुसीयालीमा मुन्नाले शुक्रबार गाउँभरि मिठाइ बाँडेका छन्। खुसीयालीमै जन्मिएको छोरीका लागि आशीर्वाद लिन मुन्नाले शुक्रबार नै घरमा पवँरीया बोलाएर नाचगान पनि गराए। यसो त मधेसमा प्रायः छोरा जन्मिएपछि मात्र घरमा पवँरीया बोलाएर नाचगान गराउने प्रचलन छ। तर, मुन्नाले छोरी जन्मिएको खुसीमा शुक्रबार पवँरीया बोलाएर नाचगान गराएका हुन्। उनले भने, ‘छोरी जन्मिएको खुसीमा मैले आज गाउँभरि झण्डै १ हजार पिस रसबरी बाँडे। पवँरीयालाई घरमा बोलाएर नचाए। उनीहरूबाट छोरीका लागि आशीर्वाद पनि लिएँ।’

मधेसमा त छोरी जन्मिएपछि परिवारका सबैले मन दुःखी गर्छन् नि? भन्ने प्रश्न गर्दा मुन्नाले भने, ‘यो मधेसको विडम्बनामा हो। छोरी जन्मिएपछि मन दुःखी गर्नु बिल्कुल गलत हो। किनकि छोरा वा छोरी जे जन्मिए पनि खुसी मनाउनुपर्छ। किन कि बुबा-आमाका लागि उसका सन्तान छोरा वा छोरी जे भए पनि दुवै बराबर नै हुन्। विभेद गर्नु हुँदैन।’

मुन्नाका अनुसार गत चैत २० गते वीरगन्जको नारायणी सेन्ट्रल हस्पिटलमा उनकी पत्नि मुस्कान खातुनले पहिलो सन्तानका रूपमा छोरीलाई जन्म दिइन्। मुन्नाले भने, ‘छोरी जन्मिई भनेर खबर पाउनासाथ खुसी भएर मैले हस्पिटलमै नर्सहरूलाई पाँच-पाँच सय रूपैयाँ दिए। हस्पिटलमै मिठाइ पनि बाँडे।’

हस्पिटलमा छोरी जन्मिएका बेलादेखि नै श्रीमती मुस्कानसहित घरपरिवारका सबै सदस्यमा खुसीयाली छाएको उनले बताए। मुन्नाले भने, ‘मेरी छोरी जन्मिएपछि पाँचदिन सम्म अस्पतालमै राख्नुपर्दा कुरुवा बस्नु परेको थियो। त्यो पाँच दिन हस्पिटलमा बस्दा मैले के देखे भने जसको छोरी जन्मिन्थे, उसका परिवारले मन दुःखी गर्थे। उनीहरूलाई  सम्झाउँदै मैले भन्थे, 'छोरी जन्मियो भनेर मन दुःखी नगर्नुस्। किनकि हाम्रै देशमा छोरी पनि राष्ट्रपति भएका छन्। मन्त्री भएका छन्। त्यसैले सही शिक्षा दिक्षा र संस्कार दिन सकियो भने छोरीले पनि तपाईंको मानसम्मान बढाउन सक्छन्। देशको शीर उँचो पार्न सक्छन्।’

छोरी जन्मिँदा बिहेमा दाइजो दिनुपर्छ भनेर मन दुःखी पार्ने प्रचलन रहेको मधेसी समाजमा सकरात्मक सन्देश प्रवाह होस् भनेर नै आफूले छोरी जन्मिएको खुसीमा शुक्रबार गाउँरभर मिठाई बाँड्नुका साथै घरमा पवँरीया बोलाएर नाचगान गराएर खुशीयालीको मुन्नाले बताए। मुन्नाले भने, ‘छोराले गर्न नसक्ने काम छोरीले गरेर बा-आमाको मानसम्मान बढाएका छन्। हेर्नुहोला म आफ्नी यही छोरीलाई असल संस्कार र शिक्षा दिक्षा दिएर एक दिन हाम्रो मधेसी समाजले नै गर्व गर्न लायकको एक होनाहार छोरी बनाउँछु।’ 

मुन्नाका छिमेकी पारस बैठाले भने, ‘छोरी जन्मिँदा गाउँमा आजसम्म यसरी मिठाई नै बाँडेर खुसीयाली मनाएको मैलेचाहिँ देखेको थिइन्। छोरी जन्मिँदा पनि यसरी खुसी मनाएको देख्दा अनौंठो नै लागेको छ। तर, यो हाम्रो मधेसी समाजका लागि सकरात्मक कुरा हो। अब कसैको घरमा पनि छोरी जन्मियो भने मन दुःखी गर्ने होइन। छोरा जन्मिएको जस्तै  छोरी जन्मिदा पनि मन खुसी बनाउनुपर्छ।’

उपप्राध्यापक तथा समाजसेवी डाक्टर सुष्मा तिवारी द्विवेदीले पनि मधेसी समाजमा छोरीप्रति विद्यमान विभेद हटाउन मुन्नाले छोरी जन्मदा खुसीयाली मनाएको घटनाले सकरात्मक सन्देश प्रवाह गरेको बताउँछिन्। उनले भनिन्, ‘मुन्ना र उनका परिवारले हाम्रो मधेसी समाजलाई एउटा ठूलो सकरात्मक सन्देश दिएका छन्। यसले अब अरूको घरमा पनि छोरी जन्मिँदा मन दुःखी गर्नुका सट्टा मुन्नाको जस्तै खुसी मनाउनुपर्छ भन्ने सन्देश समाजमा प्रवाह भएको छ। जुन मधेसी समाजका लागि सुखद पनि हो।’

पछिल्लो समय दाइजोविरुद्ध मधेसका छोरीहरू स्वयं नै विद्रोहमा उत्रिरहेको घटनाहरू प्रकाशमा आइरहेको भन्दै द्विवेदीले भनिन्, ‘यसका साथै बुढ्यौलीमा बुबा-आमालाई छोराले हेला गरेको अवस्थामा छोरीले आफ्नो साथमा राखेर मायाममता दिएका प्रशस्त उदाहरणहरू देखिएका छन्। यी सबैका कारण अब मधेसी समाजमा छोरीको महत्त्व विस्तारै बढ्दै गएको छ।’   

गत चैत १८ गते मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजित एक कार्यक्रममा मधेस प्रदेशमा छोराको तुलनामा छोरीको जन्म न्यून देखिएको र यसले भविष्यमा मधेस प्रदेशको जनसंख्याको लैंगिक संरचनामा नै असन्तुलित हुने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका थिए।

राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डिराज लामिछाने प्रस्तुत गरेको कार्यपत्रमा मधेसमा लैंगिक अनुपात ११८ रहेको छ। उक्त कार्यपत्रमा उल्लेख तथ्यांक अनुसार मधेसमा एक सय जना छोरीको जन्मिँदा एक सय १८ जना छोराको जन्म हुने गरेको उल्लेख थियो। जबकि नेपालको औसत लैंगिक अनुपात भने एक सय १२ रहेको छ। यो भनेको एक सय जना छोरीको जन्म हुँदा एक सय पाँच जना छोराको जन्म हुनु बराबर हो।

उक्त कार्यक्रममा निर्देशक लामिछानेले गर्भमै लिंग पहिचान गरी गर्भपतन गराउने चलनले मधेसमा छोराको तुलनामा छोरीको जन्म न्यून हुने गरेको बताएका थिए। उनले भनेका थिए, ‘यो गम्भीर विषय हो। यस विषयमा प्रदेश सभा र स्थानीय सरकारले विशेष निगरानी गर्नुपर्छ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.