जिम्मेवारी नपाएका प्रदेश मन्त्रीलाई सम्मान थाप्न भ्याई–नभ्याई
परासी : लुम्बिनी प्रदेश सरकारका बिना विभागीय मन्त्री खड्क बस्नेतलाई यतिबेला सम्मान थाप्न भ्याई–नभ्याई भएको छ । बस्नेत नवलपरासी निर्वाचन क्षेत्र नं. २ ‘क’ बाट प्रदेशसभा सदस्यमा स्वतन्त्रबाट निर्वाचित भएका हुन् ।
प्रदेश मुख्यमन्त्री जोखबहादुर महराले बैशाख ६ गते गरेको मन्त्रिमण्डल पुनर्गठनमा बस्नेतसहित ७ जनालाई बिना विभागीय मन्त्रीमा नियुक्त गरे। जिम्मेवारी नपाउँदा फुर्सदिला भएर बसेका मन्त्री बस्नेतलाई हरेक दिन आयोजना गरिएका ४ देखि ६ वटा कार्यक्रममा पुगेर सम्मान लिन भ्याई–नभ्याई भएको हो ।
स्थानीय तहदेखि स्कुल, क्याम्पस, वन उपभोक्ता समिति, खानेपानी समिति, सामाजिक संघ संस्थालगायतले मन्त्री बस्नेतको सम्मानका लागि भन्दै कार्यक्रम आयोजना गर्दै आएका छन् । जिम्मेवारी नतोक्दा फुर्सदिलो पनि भएकाले कार्यक्रममा पुग्ने गरेको उनले बताए । 'जिम्मेवारी नतोकेपछि काम हुने कुरा भएन । त्यसै मन्त्रालयमा गएर बस्नुभन्दा जिल्लामै बसेको छु । फेरि कार्यक्रममा बोलाएपछि नजाने कुरा पनि भएन । फुर्सदिलो नै भएकाले होला, एकैदिन धेरै कार्यक्रममा सहभागी भइएको छ,'मन्त्री बस्नेतले भने ।
सम्मान कार्यक्रममा जाँदा आफूले त्यहाँका स्थानीयको अपेक्षा र गुनास पनि संकलन गर्ने गरेको र त्यसले मन्त्रालयमा योजना बनाउन मद्दत नै पुग्ने उनको भनाइ । मन्त्रीलाई धेरै समय जिम्मेवारबिहीन बनाउन नहुने बस्नेतको भनाइ छ ।
‘सरकार गठनका बेला उद्योग, पर्यटन तथा सहकारी मन्त्री दिनेमा सहमति भएको हो । बैशाख १२ गते उक्त जिम्मेवारी दिने कुरा छ,हेरौं के हुन्छ ?,'मन्त्री बस्नेतले भने । मुख्यमन्त्रीसहित ११ सदस्यीय मन्त्रिमण्डलमा चेतनारायण आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, दीपेन्द्रकुमार पुनमगरलाई स्वास्थ्य मन्त्राल्य र भण्डारीलाल अहिरलाई कृषि तथा भूमिव्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
तर,जसपाबाट मन्त्री बनेका भण्डारीलाल अहिरले सरकार गठनका बेला पार्टीलाई २ मन्त्रालय दिने सहमति भएपनि कार्यान्वयन नभएको भन्दै आइतबार राजीनामा दिएका छन् । त्यसैगरी बिना विभागीय मन्त्रीमा एमालेका भूमिश्वर ढकाल, रत्नबहादुर खत्री, अर्जुनकुमार केसी र दिनेश पन्थी रहेका छन् । नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी, एकीकृत समाजवादीका भगवती अधिकारी र स्वतन्त्रबाट खड्क बस्नेत बिना विभागीय मन्त्री रहेका छन् ।