बालविवाहमुक्त समाज बनाउने धामीझाँक्रीको अठोट

बालविवाहमुक्त समाज बनाउने धामीझाँक्रीको अठोट
सुन्नुहोस्

दैलेख : दैलेखमा पहिलो पटक धामीझाँक्री तथा पुरोहित सम्मेलन गरिएको छ। बालविवाहविरुद्धको अभियानलाई प्रभावकारी बनाउन उक्त सम्मेलन गरिएको हो। विवाहका लागि स्थानीयहरू लगन हेराउन धार्मिक व्यक्तिहरु धामीझाँक्री र पुरोहितकोमा जाने गर्छन्। 

धामीझाँक्रीको सल्लाहमा विवाहको साइत जुराउने भएकाले उनीहरूलाई नै बालविवाह विरुद्धको अभियानमा सक्रिय बनाउन धामीझाँक्री र पुरोहित सम्मेलन आयोजना गरिएको बताइएको छ। बालविवाह विरुद्धको अभियानमा सामूहिक प्रतिबद्धतासहित समुदायमा परिचालन हुनका लागि धार्मिक व्यक्ति तथा धामीझाँक्रीहरुलाई ऐक्यबद्धता गराउन सम्मेलन आयोजना गरिएको हो। बालविवाह विरुद्ध बनेका कानुनी प्रावधान र बालविवाह गराइदिँदा धामीझाँक्री तथा पण्डितहरुलाई हुने सजायबारे जानकारी गराइएको छ।

चामुण्डाविन्द्रासैनी नगरपालिकाको आयोजनामा भएको सम्मेलनमा स्थानीय धामीझाँक्री तथा पुरोहितहरुले बालविवाह मुक्त समाज बनाउने प्रतिबद्धता जनाएका छन्। सम्मेलनपछि स्थानीय धामी देवे कामीले बालविवाह रोक्ने अभियानमा सक्रिय रहने अठोट गरे। ‘केटा र केटीको उमेर पुगेको छ या छैन भनेर यकिन गरेर मात्रै विवाहको साइत जुराउँछौँ, समाजमा बालविवाह हुनै नदिने गरि सामुहिक अभियान चलाउँछौँ,’ उनले भने। उमेर नपुगेका जोडीको विवाह नै बहिस्कार गर्ने उनको भनाइ छ। २० वर्ष उमेर पुगेर मात्रै विवाह गर्न खोज्नेहरुको लगन हेराउने र विवाहको कार्य सम्पन्न गरिदिने उनले बताए।

कर्णालीमा तेस्रो र दैलेखमा पहिलो पटक भएको सम्मेलनमा सहभागी धामीझाँक्री, पुरोहित र स्थानीय सरोकारवालाहरुले ११ बुँदे प्रतिबद्धता जनाएका छन्। उनीहरुले पुर्खौदेखि मान्दै आएको देवी देवतालाई साक्षी राखेर बालविवाह नगर्ने र नगराउने प्रतिबद्धता जनाएका हुन्। 

बालविवाहको जन्ती, भोजभतेर जस्ता कार्यमा सहभागी नहुने, बालविवाह न्यूनीकरणका लागि लगानी बढाउने, बालबालिकाको विवाह नभई विद्यालय शिक्षामा जोड दिने प्रतिबद्धता गरिएको छ। यस्तै बालबालिकालाई कुनै प्रकारका हिंसा नगर्ने, बालबालिकाको विचार र भावनाको कदर गर्न तथा सुन्नका लागि पारिवारिक बैठक बस्ने परिपाटीको विकास गर्ने प्रतिबद्धता उनीहरुको छ। 

मेयर गणेशकुमार शाहीले गाउँ समाजमा विवाहको निम्तो आएको खण्डमा उमेर पुगेर भएको विवाह हो वा होइन भन्नेबारे यकिन गरेरमात्रै सहभागी हुने बताए। ‘स्थानीय सरकार नै बालविवाहविरुद्ध लागिपरेका छौँ, यसमा विकास साझेदार संघसंस्थाले सघाउँदा हामीलाई सहज भएको छ,’ उनले भने ‘बालबालिकाको क्षेत्रमा लगानी बढाउन हामी प्रतिबद्ध छौँ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.