कम्युनिस्ट एकता ? ‘तत्काल असम्भव’

हौसिएर एकता गरिहाल्ने पक्षमा छैनन् ओली र प्रचण्ड

कम्युनिस्ट एकता ? ‘तत्काल असम्भव’
ललितपुरस्थित गोदावरीको सन्राइज हलमा एमालेद्वारा आयोजित हीरक महोत्सवका सहभागी

काठमाडौं : एमाले र माओवादी कार्यकर्ताहरू पार्टी पुनः एकीकरणको पैरवी गर्छन्। नेताहरूको सोमबारको मन्तव्यले उनीहरूलाई निरास बनाएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल दुवैले यसको सम्भावनालाई इन्कार गरिदिए। सत्ता समीकरण गरेर अघि बढेका दुवै नेताले कम्युनिस्ट पार्टी ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सन्राइज हलमा आयोजित हीरक महोत्सव पार्टी नै एकीकरण गरेर अघि बढ्न हतार नगर्ने बताए।

२०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्र एकीकृत भएर नेकपा बनेको थियो। तरत्यो लामो समय टिकेन। २०७७ फागुन २३ को सर्वोच्च अदालतको फैसलाले नेकपा भंग गरेर एमाले र माओवादी केन्द्र ब्युँत्याइदिएको थियो। त्यसपछि २०७८ भदौ २ (पार्टी दर्ता भदौ ९) मा एमाले पनि विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी बनेको थियो। एकीकरण नटिकेर दुई पार्टी तीनवटा बनेका थिए। 

एमाले अध्यक्ष ओलीले अहिले नै एकीकरण गरेर सबै देशभरिका कम्युनिस्टहरू मिल्ने सम्भावना नरहेका बताए। उनले भने, ‘अहिले हामी विभाजनको बाटोबाट माथि उठेका छौं, अघि प्रचण्डजीले भनेजस्तै हामी पार्टी एकीकरण गरिहालौं, पार्टी एकता भइहाल्छ भन्ने कुरा त्यो व्यक्तिगत आकांक्षामात्रै हुनसक्छ। त्यसैले अहिले सहकार्यको माध्यमबाट निकट हुँदै जान्छौं। त्यसपछि मात्रै एकताको बिन्दुमा पुग्न सक्छौं। तर, अहिले नै एकीकरण गरौं सबै देशभरिका मिलौं भन्ने हो भने फुटेका किन थियौं ? के भएर फुटेका थियौं भन्ने प्रश्न उठ्छ। अहिले सहकार्यका लागि सहमतिबाट जाऔं।’

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष दाहालले पनि यसपटक कम्युनिस्ट शक्तिबीच एकता गर्न हतार नगर्ने बताए। उनले विगतमा हौसिँदा र हतार गर्दा एकता नटिकेको बताए। ‘हामी अहिले पहिलाको जस्तो हतारमा, हौसिएर कम्युनिस्ट एकता भन्ने पक्षमा छैनौं। हामी त्यो बेलामा अलि बढी हौसिइएछ कि, समयभन्दा अगाडि नै दौडिइएछ कि भन्ने हेक्का राख्नुपर्ने ठान्छु मैले’, उनले भने।

दाहालले सहकार्यलाई अगाडि बढाउँदै लैजाँदा एकताको आधारभूमि आफैं तयार हुने बताए। ‘त्यसो हुँदै गयो भने राजनीतिक दलहरूको बीचमा, कम्युनिस्टहरूको बीचमा स्वतः नै आधारभूमि तयार हुन्छ, एकताको, समझदारीको। त्यो ढंगबाट जानु ठीक हुन्छ’, अध्यक्ष दाहालले भने। अर्को कम्युनिस्ट पार्टी नेकपा एकीकृतका अध्यक्ष माधवकुमार नेपाल भने यो समारोहमा गएनन्। 

उता एमालेकी पूर्वउपाध्यक्षसमेत रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका कम्युनिस्ट पार्टीहरू पटक–पटक विभाजन हुनुको कारण खोज्नुपर्ने बताएकी छन्। ‘नेपाली कम्युनिस्ट आन्दोलनमा पटक–पटक देखिने गरेको फुट र विभाजन र साँच्चै सिद्धान्त, विचार र राजनीतिक कारणले भएको हो कि पदीय आकांक्षा, अवसरवाद र भड्काव हाबी हुँदा भएको हो भन्नेजस्ता विषयमा समीक्षा गरी ठोस निष्कर्ष निकाल्न सकिएन भने भविष्यमा थप सफलता हासिल गर्न कठिनाइ हुन्छ’, उनले भनिन्।

पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक दलहरूले लिएको नीति र विचारमा विचलन आएको हो कि भन्ने आशंका पनि गरेकी छन्। २००६ साल वैशाख १० मा भारतको कलकत्तामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो।

मदन भण्डारीको हत्यारा किन पत्ता लागेन ? : देउवा 

कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेकै कार्यक्रममा मदन भण्डारीको हत्यारा अहिलेसम्म किन पत्ता लागेन भन्दै प्रश्न तेस्र्याएका छन्। उनले कांग्रेसको विरोध गर्दैमा भण्डारीको हत्यारा पत्ता नलाग्ने बताए।

‘मदन भण्डारीको विषयमा मेरो राम्रै कुरा गर्ने इच्छा थियो। तर, अहिले बीचमा आएर उहाँहरूले कांग्रेसलाई गाली गर्नुभयो। एमालेले गाली गरेपछि मैले जवाफ दिनु परिहाल्यो। मलाई गाली गर्नेहरूले मदन भण्डारी मारेको कुरा किन भन्न सक्दैन ? रहस्यमय ढंगले मारिएको छ, कसले रोकेको छ खोज्नलाई ? कांग्रेसले रोक्या हो ? आफू खोज्न नसक्ने कांग्रेसलाई गाली गरेर हिँड्ने ?’ उनले प्रश्न गरे। 

सभापति देउवाले थपे, ‘हुँदाहुँदा उनको ड्राइभर पनि मारियो। त्यो पनि पत्ता लागेको छैन। कांग्रेसको विरोध गर्न सजिलो होला। तर, आफ्नो कुरा पनि भन्नुपर्यो‍ नि ! दुई पटक राष्ट्रपति बन्नुभयो। सबै प्रधानमन्त्री बनिसके खोइ पत्ता लागेको ? त्यसैले मलाई गाली गरेर केही हुनेवाला छैन। पत्ता लगाउनुस्।’

ओलीअघि बोलेका देउवाले कांग्रेसलाई गाली गरेकामा झोक्किएकोमा ओलीले व्यंग्य गर्न भ्याए। उनले देउवालाई मेरा पुराना मित्र भन्दै कहिलेकहिले जोस्सिने बताए। ओलीले व्यंग्यात्मक रुपमा भने, ‘मेरा पुरानो मित्र हुनुहुन्छ घरीघरी अलि जोसिनुहुन्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.