ड्रयागन फ्रुटमा कृषकको आकर्षण
रामेछाप : जिल्लामा पछिल्लो समय किसानहरूमा ड्रयागन खेतीमा आकर्षण बढेको देखिन्छ। रामेछापमा केही वर्षअघि छिटफुट रुपमा सुरु भएको ड्रयागन खेती पछिल्लो समय व्यवसायिक रुपमा नै हुन थालेको छ। केही व्यक्तिले भने घरको छतमा र खाली रहेको जमिनमा समेत खेती गर्न थालेका छन्।
रामेछाप जिल्लामा सञ्जय शाहीले झन्डै तीन रोपनी जग्गामा व्यवसायिक ड्रयागनको खेती सुरु गरेका छन्। मन्थली नगरपालिका वडा नं ५ सुनारपानीमा भदौरे कालिका कृषि तथा पशुपंक्षी फर्म दर्ता गरेर शाहीले नमूना नर्सरी साथै ड्रयागन खेती सुरु गरेका हुन्।
छ रोपनी क्षेत्रफलमा शाहीले ३ रोपनीमा ड्रयागन खेती र ३ रोपनीमा आधुनिक एवं नमूना नर्सरी संचालन सुरु गरेका छन्। जिल्लामा फलफूलका विरुवाको आयात बढिरहेको बेला शाहीले आयात रोक्ने र निर्यातमा वृद्धि गर्ने उद्देश्यले ड्रयागनको बिरुवा समेत उत्पादन गरिरहेको बताउँछन्।
आफूले प्रतिबिरुवा २ सय रुपैयाँका दरले खरिद गरेको आफूले उत्पादन गरेको बिरुवा १ सयका दरले किसानलाई दिने पनि शाहीको भनाइ छ। शाहीले संचालन गरेको नर्सरीमा अत्याधुनिक उपकरण समेत जडान गरिएको छ। अत्यधिक तापक्रम बढेको बेला कुलर फ्यान र सिंचाइको लागि विद्युतीय फोहोरासमेत जडान गरेका छन्।
नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई रामेछापको ५ लाख अनुदान सहयोग र व्यक्तिगत ८ लाख गरी १३ लाखको लगनीमा उक्त नर्सरी संचालन गरेको सञ्जय साही बताउँछन्। एक घर-एक ड्रयागन खेती भन्ने उद्देश्यले शाहीले चाँडै नै मन्थली नगरपालिका वडा नं ५ का ५ सय घरधुरीलाई एउटा विरुवा ड्रयागन फ्रुट नि:शुल्क वितरण गर्ने बताउँछन्।
प्राविधिक अध्ययनका लागि विदेश गएको आफ्नो छोरालाईसमेत नेपाल बोलाएका सञ्जयले ड्रयागन खेतीबाट मात्रै वार्षिक १५ लाख आम्दानी हुने अनुमान गरेका छन्।