दुर्गमका मतदान केन्द्रमा अव्यवहारिक खर्च वितरण , व्यवस्थापन गर्नै गाह्रो
चुलाचुली (इलाम) : इलामको चुलाचुली गाउँपालिका -६ मा भोलि (बैशाख १५मा) हुने उपनिर्वाचनका लागि सामान ढुवानी गर्न मात्रै १६ हजार खर्च भयो। तर, त्यहाँ सामान ढुवानीका लागि मतदान अधिकृतले खर्च गर्न पाउने रकम नौ हजार मात्रै हो ।
इलाम क्षेत्र नम्बर- २ मा भोलि प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । १५ गते साँझै जिल्लाभरबाट मतपेटीका संकलन गर्नेगरी सुरक्षा निकाय मतदान स्थलमा पुगेका छन् । तर, अव्यहारिक खर्च वितरणको कारणले दुर्गम क्षेत्रका मतदान स्थलमा व्यवस्थापनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृतले आफ्नै गोजीको खर्च गर्ने अवस्था रहेको चुलाचुली गाउँपालिका -६ को मिक्लाचोङ्ग माविमा रहेको मतदान केन्द्रका मतदान अधिकृत मातृका प्रसाद दहालले बताए ।
उनले भने, ‘ढुवानीका लागि मतदान अधिकृतले पाउने नौ हजार रुपयाँ हो, हामी यहाँ आइपुग्दा १६ हजार त ढुवानीमा खर्च भयो ।’व्यवस्थापन खर्च भनेर ५ हजार रुपैयाँ छुट्याइएको त्यस केन्द्रमा दुई सय मिटरबाट विद्युत ल्याउन मात्रै ६ हजार खर्च भएको उनले सुनाए ।
उनले भने ‘सडक, विधुत र अन्य भौतिक पूर्वाधार भएको मतदान केन्द्र र दुर्गम गाउँको मतदान स्थललाई समान खर्च व्यवस्थाले व्यवस्थापनमा कठिनाइ आएको छ । सो क्षेत्रमा पुग्न मात्रै इलामबाट झापाको विर्तामोड, दमक, मोरङको मिक्लाजुङ हुँदै मतदानका सामग्री पुर्याइएको थियो ।
अभावका बीचमा पनि नमुना रुपमा मतदान सम्पन्न गर्ने तयारीमा जुटेको सहायक मतदान अधिकृत गोविन्द प्रसाद ढकालले बताए । उनले भने, ‘राजनीतिक दल र स्थानीयको सहयोग भने यहाँ उत्साहजनक छ ।’ त्यहाँ ६ सय ४४ मतदाता रहेका छन् । अघिल्लो निर्वाचनमका त्यहाँ चार सयको हाराहारीमा मतदान गरेका थिए ।
मतदान अधिकृत दहालले भापाको दमकबाट ४६ किलो मिटर कच्ची सडक पार गरेर मतदान केन्द्रमा आएको बताए । इलामकै बाटो इलाम सदरमुकाम आउन करिब पाँच घण्टा लाग्ने उनले जानकारी दिए । २०८० भदौ २६ गते सुवासचन्द्र नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । ४२ वडा रहेको निर्वाचन क्षेत्रमा १ लाख १५ हजार ८७९ मतदाता रहेका छन् । यी मतदाता मध्ये ४२२ जना नयाँ मतदाता थपिएका हुन् ।
इलाम २ मा निर्वाचनका लागि ७९ मतदान स्थल रहेको छ । यी मतदान स्थलमा १४९ मतदान केन्द्रमा मतदान गराउने तयारी भएको छ । निर्वाचनका लागि ७४५ कर्मचारी निर्वाचनमा खटाइएको छ ।
मुख्य निर्वाचन अधिकृत केशवप्रासद घिमिरेले निर्वाचन सम्पन्न गरेको २ दिन भित्र मत परिणाम घोषणा गर्ने तयारी गरेको जानकारी दिए । बैशाख १५ गते इलाम जिल्लाभरी सार्वजनीक यातायात नचल्ने गरी सर्वदलीय बैठकले निर्णय गरेको छ ।