सेनदेखि शाहसम्म

सेनदेखि शाहसम्म

अन्ततः सरकारी अधिकारीले क्षेत्रकुमारीको योग्यता स्वीकारे। त्यसपछि उनले कलकत्ताा उच्च अदालतबाट मुद्दा फिर्ता लिइन्। रामनगर राज्य रानी क्षेत्रकुमारी मातहत आयो।

नेपाल एकीकरणअघि पाल्पामा ‘सेनवंशीय’ राजाहरूको शासन थियो। रुद्र सेन पाल्पाका संस्थापक राजा थिए। रुद्र सेनपछि उनका छोरा मुकुन्द सेन (प्रथम) पाल्पाका राजा भए। उनको राज्य पूर्वमा कन्काई नदी, पश्चिममा रुरु, दक्षिणमा गंगानदी र उत्तरमा मुक्ति क्षेत्रसम्म फैलिएको थियो। मुकुन्द सेन (प्रथम)को शेषपछि उनका १३ भाइ छोरामध्ये विनायक सेन बुटवल, माणिक्य सेन पाल्पा, कुबेर सेन राजपुर, भृंग सेन तनहुँ र लोहाङ सेन मकवानपुरको राजा बने।

तत्कालीन तनहुँ राज्यअन्तर्गत चितवनसमेत पथ्र्यो। भृंग सेनका तीन रानीबाट नरपाल सेन, हम्मीर सेन र पूर्ण सेन गरी तीनभाइ छोरा थिए। भृंग सेनपछि उनका जेठा छोरा नरपाल सेन निधन भएका कारण माहिला छोरा हम्मीर सेन तनहुँको राजा बने। राजा हम्मीर सेन निःसन्तान भएका कारण उनकी रानीले राजपुरका राजा अर्जुन सेनका कान्छा छोरा तुला सेनलाई धर्मपुत्रका रूपमा ग्रहण गरी तनहुँको राजा बनाइन्। तुला सेनका दुई रानीमध्ये कान्छीतिरबाट मात्रै छोरा प्रताप सेन जन्मे। उनका दामोदर सेन र दयालु सेन (मधुसूदन) दुईभाइ छोरा थिए।

तर प्रताप राजा नहुँदै बिते। त्यसैले तुला सेनपछि उनका नाति दामोदर सेन तनहुँका राजा भए। दयालु सेन रिसिङ राजा बने। राजपुरका राजा दर्गाही सेन निःसन्तान हुँदा राजपुर पनि तनहुँमै आयो। दामोदर सेनपछि दिग्विजय सेन तनहुँका राजा बने। दिग्विजय सेनले दिल्ली–सम्राट् ओरङ्जेबबाट चम्पारनका एघार तप्पा पाएका थिए। दिग्विजय सेनको निधनपछि उनका छोरा कामराजदत्त तनहुँका राजा भए। कामराजदत्तकी राजकुमारी राजलक्ष्मीको विवाह गोरखाका राजा पृथ्वीपति शाहका छोरा वीरभद्र शाहसँग भएको थियो। पृथ्वीनारायण शाहका बुवा नरभूपाल शाह उनै वीरभद्र र राजलक्ष्मीका छोरा हुन्।

कामराजदत्त सेनका छ भाइ छोरामा त्रिविक्रम सेन मात्र जीवित रहे। कामराजदत्त पछि तनहुँका राजा बनेका त्रिविक्रम सेनका चार भाइ छोरा (कमारीदत्त, हरकुमारदत्त, जानकीदत्त र राजेश्वरदत्त) थिए। कमारीदत्तकै पालामा तनहुँ नेपालमा आयो। लडाइँका क्रममा राजा कमारीदत्तको ज्यान गयो। त्यसपछि उनका नाबालक भाइ हरकुमार दत्त तनहुँका अधीनस्थ राजा बने। तनहुँ पूर्णरूपमा नेपालमा आएपछि हरकुमार दत्त भाइहरू जानकी दत्त र राजेश्वर दत्तका साथै स्थानीय पौडेल, खनाल, थापा, कार्कीलगायत भारदारहरूसँगै चितवनको सोमेश्वर गएर बसे।

रामनगरका संस्थापक तनहुँका सेनवंशी राजा

चम्पारनका तप्पाहरू तनहुँमा मातहत रहेकाले कामारी दत्तका भाइ जानकी त्यहाँ पनि बस्थे। त्यसैबेला चम्पारनको अधिकार इस्ट इन्डिया कम्पनीले छिन्यो। जानकीले कम्पनी सरकारसँग कुरा मिलाई चम्पारनको बन्दोबस्ती पाए। सन्‌ १७२६ नेपाली सेनाले सोमेश्वर नियन्त्रणमा लिँदा हरकुमार र राजेश्वर दत्त सहजापुर पुगे। त्यहाँ उनीहरूले जानकीले चम्पारनका तप्पाहरू आफ्नो नाममा गरेको थाहा पाउँदा भाइबीच कलह उब्ज्यो। हरकुमार र राजेश्वर दत्तले जानकी दत्तको ज्यानसम्म लिने योजना बनाए। त्यसपछि जानकीले ती तप्पाहरूमा दाजुहरूकै नाममा गर्न राजी भए। र, कलकत्तामा गई ती तप्पाहरू हरदत्तको नाममा सारे। चम्पारनका तप्पाहरू आफ्नो नाममा आएपछि हरदत्तले रामनगरगढमा दरबार बनाई रामनगर राज्य खडा गरे।

हरदत्तकुमारका तीन रानीबाट तीन भाइ छोरा (अनन्तप्रताप, तेजप्रताप र अमरप्रताप) थिए। हरदत्तकुमारका माहिला छोरा तेजप्रतापको विवाह नेपालका राजा रणबहादुर शाह काशीमा रहँदा उनकी छोरी तेजलक्ष्मीसँग भएको थियो। विवाहमा रणबहादुरले छोरीलाई चितवन सोमेश्वर नजिकका ९१ गाउँ दाइजो दिएका थिए। सन् ‌१८०५ मा रणबहादुर शाह काठमाडौं फर्कंदा छोरी तेजलक्ष्मी र ज्वाइँ तेजप्रताप पनि सँगै आए। काठमाडौं पुगेपछि भने ससुरा–ज्वाइँबीच खटपट भयो। रणबहादुरले तेजप्रतापलाई सजाय नै दिन खोजे।

राजा गीर्वाणयुद्धले भगाएपछि तेजप्रताप बाँचे। तेजप्रताप रामनगर पुगेपछि उनका पिता हरदत्तकुमारको निधन भयो। हरदत्तका जेठा छोरा अनन्तप्रताप पनि बितिसकेकाले तेजप्रताप सेन रामनगरको राजा बने। राजा तेजप्रतापका चार रानी (तिलोत्तमा, तेजलक्ष्मी, श्रीकान्ता र तेजकुमारी) थिए। तीमध्ये काठमाडौंमै रहेकी तेजलक्ष्मीको शेषपछि उनलाई दिइएका चितवनका ९१ गाउँ पनि नेपालमै फिर्ता आए। त्यसैबेला नेपाल र इस्ट इन्डिया कम्पनीबीच युद्ध भयो। युद्धमा राजा तेजप्रतापले ससुरा रणबहादुरसँग इबिका कारण भाइ अमरप्रतापलाई नेपालविरुद्ध अंग्रेजका पक्षमा लड्न पठाए।

राजा तेजप्रतापका विवाहिता–अविवाहिता थुप्रै रानी थिए। उनको दरबारमा दासदासीहरू पनि उत्तिकै थिए। तीमध्ये दासी लक्ष्मीदया उनकी प्रेमिका थिइन्। लक्ष्मीदयालाई उनका भाइ अमरप्रताप पनि मन पराउँथे। सोही विषयमा दुई भाइबीच खिचलो भयो। त्यसपछि अमरप्रताप लक्ष्मीदयालाई लिएर रिसिङ पुगे। त्यतिबेला रिसिङका राजा हरिप्रसाद सेन थिए। हरिप्रसादले अमरप्रतापलाई रिसिङमा १२ गाउँको तैनाथी दिए। तर अमरप्रताप त्यहाँ बसेनन्। रिसिङबाट उनी गोरखपुर पुगे। तेजप्रतापका निःसन्तान थिए। तेजप्रताप भाइ अमरप्रतापप्रति असन्तुष्ट थिए।

त्यसैले उनले राज्यको भोगाधिकारसम्बन्धी आज्ञापत्र आफ्नै रानी तिलोत्तमालाई दिए। अमरप्रतापले राजा तेजप्रतापको निर्णयविरुद्ध अदालतमा मुद्दा हाले, तर हारे। सन्‌१८३२ मा राजा तेजप्रतापको निधनपछि रानी तिलोत्तमाले रामनगरको शासनाधिकार आफू मातहत आउनुपर्ने मागसहित सरकारी अड्डामा निवेदन दिइन्। त्यसमा उनका देवर (अमरप्रताप)ले आपत्ति जनाए। अमरप्रतापले कुलाचारअनुसार राज्यको भोगाधिकार राजाको जेठो छोरा, छोरा नभए भाइ र भाइ नभए सपिण्डभित्रका बान्धवले पाउने तर स्त्रीले नपाउने जिकिरसहित कलेक्टर अफिसमा उजुरी दिए।

कलेक्टर अफिसले दुवै पक्षलाई देवानी अदालतमा निवेदन दिन आदेश दियो। कलेक्टर अफिसको आदेशमा विरुद्ध रानी तिलोत्तमाले पटना कमिसनरमा अपिल गरिन्‌। पटना कमिसनरले रानी तिलोत्तमा देवीका पक्षमा निर्णय गर्‍यो। पटना कमिसनर र कलेक्टर अफिसको निर्णयविरुद्ध अमरप्रताप सेनले बोर्डमा अपिल गरे। बोर्डले पटना कमिसनरको आदेश खारेज गर्दै कलेक्टर अफिसको आदेश सदर गर्‍यो र दुवै पक्षलाई अधिकार प्राप्तिका लागि देवानी अदालतमा उजुरी दिन भन्यो। बोर्डको आदेशपछि कलेक्टर अफिसले रानी तिलोत्तमाको नाम सरकारी रेकर्डबाट हटायो।

बोर्डको आदेशानुसार दुवैजना देवानी अदालत नगई म्याद गुजारी बसे। त्यसपछि कलेक्टर अफिसले रामनगर राज्य जफतीको आदेश दियो। राज्य नै गुम्ने अवस्थाले देवर–भाउजू दुवै अत्तालिए। त्यसपछि अमरप्रतापले भाउजू तिलोत्तमालाई ३९ गाउँ, दसैं खर्च र सय जना सुरक्षाकर्मी दिने गरी राज्य थाम्ने प्रयास गरे। अमरप्रतापको प्रस्तावमा तिलोत्तमा सहमत भई धर्मपत्रमा हस्ताक्षर भयो। तर तेजप्रतापले तिलोत्तमासँग रहने धर्मपत्रको प्रति हिन्दीमा र कलेक्टर अफिसमा बुझाउने प्रति उर्दुमा तयार गरे।

कलेक्टर अफिसमा बुझाइएको उर्दु प्रतिमा तिलोत्तमालाई दिइएका गाउँहरूको बेचबिखनको अधिकार थिएन। साथै राजा तेजप्रताप र रानी तिलोत्तमाको उत्तराधिकारी अमरप्रताप हुने कुरा धर्मपत्रमा थियो। रानी तिलोत्तमाले उर्दु नबुझेरै त्यसमा धर्मपत्रमा सही गरेकी थिइन्। सोही उर्दुमा रहेको धर्मपत्रका आधारमा कलेक्टर अफिसले राज्यको सम्पत्तिमा अमरप्रताप नाम सदर गर्‍यो।

विवादका बीच सन् १८३४ मा रामनगरका राजा बनेका अमरप्रतापको त्यसै वर्ष मृत्यु भयो। अमरप्रतापका तीन रानी (अमरराजलक्ष्मी, राजवंशी र अमरावती) भए पनि सन्तान थिएनन्। भित्रिनी लक्ष्मीदयातिरबाट छोरा रणमर्दन सेन थिए। अमरप्रतापको मृत्यु हुँदा उनका भाउजूहरू (स्व.राजा तेजप्रतापका रानीहरू–तिलोत्तमा, तेजकुमारी र श्रीकान्ता) जीवितै थिए। त्यसैले राजा अमरप्रताप सेनको निधनपछि उनकी जेठी रानी अमरराजलक्ष्मीले सरकारी अभिलेखमा आफ्नो नाम दर्ताका लागि मालकचहरीमा निवेदन दिइन्।

माल कचहरीले उनको नाम सरकारी खातामा चढ्यो। त्यस घटनाले रामनगर राज्यको उत्तराधिकारीको विवाद फेरि बल्झायो। मकवानपुर राज्यका उदयप्रताप सेनले आफू राजा अमरप्रतापको नजिकको बान्धव भएकाले राज्यको शासनाधिकार आफूमा आउनुपर्ने भदै अदालतमा मुद्दा हाले। अर्कातिरबाट राजा दामोदर सेनका भाइ दयालु सेन (मधुसूदन सेन जो रिसिङका राजा थिए) का वंशज प्रह्लाद सेनले आफ्ना छोरा फत्तेहबहादुरका तर्फबाट आफू राजा तेजप्रतापको सपिण्डी बन्धु भएको र राजा अमरप्रतापले सन्तानलाई राजतिलकसहित रामनगरको उत्तराधिकारी इजाजतनामा दिएकाले फत्तेहबहादुर रामनगरको राजा हुने भन्दै १८३६ मेमा अदालतमा उजुरी दिए।

प्रह्लाद अमरप्रतापका नवौं पुस्ता टाढाका थिए भने उदयप्रताप त्योभन्दा पनि परका। त्यसैले ती दुवै वादीको प्रत्युत्तरमा रानी अमरराजलक्ष्मीले ‘मकवानपुरका उदयप्रताप धेरै पिढी टाढाका रहेको र फत्तेहबहादुरका हकमा उनलाई राजतिलकको इजाजतनामा’ नदिइएकोले प्रह्लाद सेन र उदयप्रताप दुवैले आफूलाई स्व. राजा अमरप्रतापकी भित्रेनी लक्ष्मीदयाका छोरा रणमर्दन सेनलाई राजस्वत्वदेखि च्यूत गर्न मुद्दा हालेको बताइन्।

त्यसपछि अदालतले दुवै पक्षको प्रमाण बुझी फैसलाका लागि मुद्दा सदर अमिनी कचहरीमा पठायो। थप सबै प्रमाण नबुझ्दै कमिसनरको आदेशानुसार १८३२ जुलाई ३० मा मुद्दा पुनः अदालतै पठाइयो। अदालतबाट मुद्दा फेरि सदर अमिनीमै आयो। सदर अमिनीले १८३९ जुलाई ७ मा रानी अमरराजलक्ष्मी जीवित रहेसम्म रामनगर माथि अरूको स्वत्व नपुग्ने फैसला गर्‍यो। रणमर्दन सेन र रानी अमरराजलक्ष्मीबीच विवाद नरहेको र प्रह्लाद सेन र उदयप्रताप राज्यको उत्तराधिकारी हुन नसक्ने बतायो। सदर अमिनीको निर्णयविरुद्ध प्रह्लाद र उदयप्रताप सेन कलकत्ता सदर दिवानी कचहरीमा अपील गरे। त्यसैबेला‌ (१८४० फेबु्रअरी २४ मा) रानी अमरराजलक्ष्मीको निधन भयो।

रामनगरमा रिसिङका सेनवंशी राजा

रानी अमरलक्ष्मीको निधनपछि रामनगर राज्य बेवारिस बन्यो। राज्य सञ्चालनार्थ एकजना सरबराहकार (प्रबन्धकर्ता) नियुक्त गरियो। प्रह्लाद सेन र उदयप्रताप दुवै मुद्दाअनुसार उनीहरू राज्यको हकदार नदेखिएपछि कलकत्ता सदर देवानीले मुद्दा सदर अमिनीमा पठायो। यसैबीचमा प्रह्लाद सेनका छोरा फत्तेहबहादुर सेनको निधन भयो। त्यसपछि प्रह्लाद सेनलाई नै नजिकको सपिण्डी बान्धव भएको नयाँ आवेदनपत्र दिन सदर अमिनीबाट आदेश भयो। नयाँ मुद्दा दायरपछि सदर अमिनी कचहरीमा दुवैपक्षबाट आफ्नो स्वत्व साबित गर्ने प्रमाण पेस भए।

सदर अमिनी कचहरीले रणमर्दन सेनलाई पनि प्रमाण पेस गर्न भन्यो। प्रमाणहरू बुझेपछि सदर अमिनीले १८४४ सेप्टेम्बर २१ मा दुवै मुद्दा पटना दिवानी कचहरीमा पठायो। पटना देवानीले १८४४ अक्टोवर ३ मा उदयप्रताप सेन राजा अमरप्रताप सेनका सपिण्ड भए पनि टाढा र प्रह्लाद सेन नजिकका रहेकाले प्रह्लाद सेन नै रामनगरका राजा हुने फैसला सुनायो। उदयप्रतापको हक नपुग्ने र रणमर्दन सेन औरसपुत्र नहुँदा रामनगर रणमर्दनलाई जीविकाका लागि केही अंशसम्म दिनु भनियो। यसरी सदर अमिनीको १८४५ फेब्रुअरी २७ को फैसलाअनुसार तनहुँ राजाका सपिण्डी मकवानपुरे सेनका सन्तानभन्दा रिसिङका सेनका सन्तान प्रह्लाद सेन रामनगरको राजा बने। राजा अमरप्रतापका भित्रिनी लक्ष्मीदयापट्टिका छोरा रणमर्दन सेनलाई मासिक ५०० भत्ताको व्यवस्था गरियो‌।

रामनगर राजा प्रह्लाद सेन मातहत आए पनि राज्यले मुद्दामामिलाबाट छुटकारा पाएन्। प्रह्लाद सेन रामनगरको राजा हुने अदालती फैसलाविरुद्ध रणमर्दन सेनले अपिल गरे। सेन खलकका अन्य बान्धवहरूबाट पनि अधिकार प्राप्तिको प्रयास भयो। त्यसैबीच, राजा तेजप्रतापकी रानी श्रीकान्तादेवी (प्रह्लाद सेन अघिका राजा स्व. अमरप्रतापका दाजु राजा स्व. तेजप्रतापकी कान्छी रानी) ले रामनगरमा आफ्नो हक कायम हुनुपर्ने मागसहित अदालतमा मुद्दा हालिन्।

त्यसैगरी, दिक्पाल सेनले पनि आफू प्रह्लाद सेनको ज्येष्ठ भ्राता भएकाले राज्यभार आफूमा मागसहित मुद्दा हाले। उल्लिखित मुद्दामध्ये सदर अमिनीले रानी श्रीकान्ताका मुद्दामा उनलाई जीवननिर्वाहका लागि भत्ताको दिनुपर्ने फैसला गर्‍यो। त्यसको केही समयपछि दिक्पाल सेनको निधन भयो। दिक्पाल सेनको शेषपछि राज्यको उत्तराधिकारका लागि उनका छोरा गिरिराज सेनका तर्फबाट महन्त भगवानदासले मुद्दा हाले। भगवानदासले मुद्दा छोड्दा, मुद्दा खारेजीमा पर्‍यो।

तनहुँका सेनवंशी राजा अमरप्रतापको शेषपछि रिसिङका सेनवंशी प्रह्लाद सेन रामनगरको राजा बने। राजा प्रह्लाद सेनका तीन रानी (लक्ष्मीकुमारी, विन्ध्यवासिनी र नवरक्षादेवी) थिए। प्रह्लाद सेनकी जेठी रानी लक्ष्मीकुमारीबाट तीन छोरा (फत्तेहबहादुर, यज्ञप्रताप र‌ मुकुलप्रताप) र दुई छोरी (मदनकुमारी र बोधकुमारी) थिए। माहिली र कान्छी रानीबाट सन्तान थिएनन्। प्रह्लाद सेनका पाँच सन्तानमध्ये बोधकुमारीबाहेक अरूको निधन भएको थियो।

उनकी छोरी बोधकुमारीको विवाह राजा राजेन्द्रविक्रमकी कान्छी रानी राज्यलक्ष्मीदेवी छोराहरू (रणेन्द्रविक्रम र वीरेन्द्रविक्रम)सँगै काशीमा रहेका बेला वीरेन्द्रविक्रमको भएको थियो। वीरेन्द्रविक्रम र बोधकुमारीबाट छोरा मोहनविक्रम जन्मे। काठमाडौंको शाह राजघरानाका मोहनविक्रमको पालन पोषण रामनगरमै भयो। मोहनविक्रमको विवाह बहराइच नजिककी राजकुमारीदेवीसँग भएको थियो। मोहनविक्रमकी दोस्री रानी पर्वत, मल्लाजका दुर्गादत्त शाहीकी छोरी बालकुमारीसँग भएको थियो।

रामनगरका शाहवंशका उत्तराधिकारी

प्रह्लाद सेनले आफूबाट पुत्र नहुँदा छोरी बोधकुमारीतिरका दौहित्र मोहनविक्रम शाहलाई रामनगरको उत्तराधिकारी रहने गरी हिदायतनामा गरेका थिए। सो कुरा उनका रानीहरू र कर्मचारीलाई थाहा थियो। १८७९ सेप्टेम्बर १८ मा प्रह्लाद सेनको निधनपछि उनका रानीहरूले रामनगरमा आफ्नो अधिकारका लागि मोहनविक्रम शाहविरुद्ध मुद्दा हाले। दिक्पाल सेनका छोरा गिरिराज सेनले पनि आफू राजा प्रह्लाद सेनको भाइ भएकाले राज्याधिकार आफूमा आउनुपर्ने भन्दै मुद्दा हाले। तर अदालतले रानीहरूका पक्षमा फैसला गर्‍यो। गिरिराजको मुद्दा भने खारेजीमा पर्‍यो। सो निर्णणविरुद्ध मुद्दाको तयारीमा रहेका गिरिराजको त्यसैबीच निधन भयो।

नाबालक मोहनविक्रम शाह अदालतमा निवेदनसहित राज्यको उत्तराधिकारीका रूपमा आफूलाई प्रमाणित नगर्दासम्म रामनगर रानीहरूकै मातहत रह्यो। सन्‌ १८८५ फेब्रुअरी १० मा मोहनविक्रमले सारनका न्यायाधीशसमक्ष हिदायतनामा अनुसार प्रोबेटका लागि आवेदन दिए। जहाँ प्रह्लाद सेनकी रानी विन्ध्यवासिनीदेवीले हिदायतनामा सहमति जनाए पनि अर्की रानी नवरक्षादेवीले असहमति जनाउँदै मुद्दा हालिन्। त्यसैगरी गिरिराजसेनकी पत्नीले पनि आफ्ना छोरा पद्मराज सेनका तर्फबाट हिदायतनामाविरुद्ध मुद्दा दायर गरिन्। १८८६ फेब्रुअरी २६ मा अदालतले मोहनविक्रम शाहका पक्षमा फैसला गर्‍यो। सोही वर्ष रानी विन्ध्यवासिनीको मृत्यु भयो।

त्यसपछि रानी नवरक्षादेवी र पद्मराज सेनकी आमाले मोहनविक्रमका पक्षमा भएको फैसलाविरुद्ध कलकत्ता उच्च अदालतमा अपिल गरिन्। कलकत्ता उच्च अदालतले भने पुनरावेदन खारेज गर्‍यो। त्यसपछि मोहनविक्रम शाहले रामनगर राज्य दाखिलाका लागि मोतीहारी माल कचहरीमा निवेदन दिए। मोतीहारी मालकचहरी कलेक्टरले मुद्दाबारे बेतियाका सबडिभिजनल अफिसरको राय लिए। तर, मोतीहारी माल कचहरीले मोहनविक्रमका विरुद्ध फैसला गर्‍यो।

त्यसपछि मोहनविक्रम शाहले ब्यारिस्टर सर चाल्र्स पालमार्फत पटना कमिसनरीमा अपिल गरे। त्यहाँ पनि मोहनविक्रमका पक्षमा फैसला भएन। मोहनविक्रमले सारन अदालतमा उजुर गरे। त्यसपछि भने रानी नवरक्षादेवी पटनाका कमिसनर, बेतियाका सबडिभिजनल अफिसर तथा बेतिया राज्यका मैनेजरको कचहरीले गरेको फैसलामा राजी भइन्‌। १८८९ अप्रिल ८ मा सारनले रामनगर राज्यको उत्तराधिकारी मोहनविक्रम शाह नै करार गर्‍यो।

यसरी मुद्दैमुद्दाका बीच १८८९ मा मोहनविक्रम शाहले आफूलाई प्राप्त हिदायतनामा अनुसार आफू रामनगर राज्यको उत्तराधिकारी भएको प्रमाणित गरेपछि उनी विधिवत रूपमा त्यहाँको राजा बने। यसरी तनहुँका सेन वंशबाट रिसिङका सेन वंशमा पुगेको रामनगर राज्यको शासनाधिकार नेपालका शाहवंशीय राजाका सन्तानका हातमा आयो।

मुद्दा मामिलाको क्रम यतिकैमा रोकिएन। १८८८ अप्रिलमा पद्मराज सेनकी आमाले छोराका तर्फबाट मोहनविक्रमविरुद्ध मुद्दा हालिन् तर पछि फिर्ता लिइन्। त्यसपछि पद्मराजले‌१८९१ अप्रिलमा सारन–सब–जजी अदालतमा मोहनविक्रमविरुद्ध मुद्दा हाले। सब जजी अदालतले पद्मराज सेनको रामनगर राजवंशसित सम्बन्धित नभएको भन्दै मोहनविक्रम नै राज्यको उत्तराधिकारी रहेको फैसला गर्‍यो। त्यसपछि पद्मराजले उच्च अदालतमा पुनरावेदन गरे। उच्च अदालतले पहिलेकै फैसला सदर गर्‍यो। पुनरावेदन खारेजीविरुद्ध पद्मराजले बेलायतमा अपिललाई दिएको निवेदन उच्च अदालतबाट अस्वीकृत भयो।

सन् १८८९ देखि १९१२ सम्म रामनगरका राजा रहेका मोहनविक्रम शाहको समय मुद्दामामिला बित्यो। हुँदाहुँदै उनले आफ्नै रानीहरूसित पनि लड्नु पर्‍यो। रानी विन्ध्यवासिनी (मोहनविक्रमकी सासुआमा)ले निधनअघि आफ्नो सम्पत्ति मोहनविक्रम शाहका रानीहरू राजकुमारीदेवी र बालकुमारीका नाममा गरेकी थिइन्‌। त्यो सम्पत्ति माथिको निर्णय उल्टाउन मोहनविक्रमले आफ्नै रानीहरूविरुद्ध छपरा कचहरीमा मुद्दा हालेका थिए। सोही विषयमा उनको परिवारमा कलह थियो। पछि उक्त मुद्दा मिलापत्रमा टुंगिएको थियो।

राजा मोहनविक्रम शाहले सासू विन्ध्यवासिनीदेवीको निधनपछि फेरि दुईटा विवाह गरे। तिनमा विन्ध्यवासिनीदेवीका भाइ गह्रौंकोटे शक्तिप्रसाद खाँणकी छोरी र अर्की गह्रौंकोटे राजा पूर्णचन्द्र खाँणकी छोरी क्षेत्रकुमारी थिइन्‌। मोहनविक्रमका चार रानीबाट सन्तान थिएनन्। मोहनविक्रम रामनगरैमा बस्दै आएका मोहनविक्रमले पछि काठमाडौंबाट काशीबास गएकी आफ्नी हजुरआमा (राजा राजेन्द्रकी कान्छी रानी राज्यलक्ष्मी)को निधनपछि उनको काशीको सम्पत्ति पाए।

त्यसपछि उनी काशीमा समेत बस्न थाले। काशीको सम्पत्तिमा शेरप्रताप शाहका छोरा योगप्रतापले पनि आफ्ना बुवा मोहनविक्रमका जेठा दाइ भएकाले राज्यलक्ष्मीको सम्पत्तिमा आफ्नोसमेत हक लाग्ने भन्दै मुद्दा हाले, तर हारे। मोहनविक्रमले कमजोर स्वास्थ्यका कारण सन् १९०१ मा आफ्नो सम्पत्तिका रानी क्षेत्रकुमारीदेवीको नाममा जाने गरी बकसपत्र गरेका थिए।

साथै उनले रामनगर राज्यको उत्तराधिकारी राजा राजेन्द्रविक्रम शाहका दोस्रा छोरा उपेन्द्रविक्रम शाह (राजा सुरेन्द्रविक्रम शाहका कान्छा भाइ) का‌प्रपौत्र रामराजा रहने भनेका थिए। रामराजाको वास्तविक नाम पनि मोहनविक्रम शाह नै थियो। तर पछि सन् १९०४ जनवरीमा राजा मोहनविक्रमले पूर्ववत् निर्णय उल्टाउँदै रामनगरको उत्तराधिकारीमा रानी क्षेत्रकुमारीको नाम अघि सारे।

मोहनविक्रमको १९१२ अप्रिल १८ मा कलकत्तामा निधन भयो। उनको निधनपछि रामनगरको शासनभार रानी क्षेत्रकुमारीदेवी मातहत आयो। राजा मोहनविक्रम काजक्रियापछि रानी क्षेत्रकुमारीले प्रोबेटका लागि मुजफ्फरपुर जिल्ला अदालतमा निवेदन दिइन्। क्षेत्रकुमारीको निवेदनविरुद्ध रामराजा (मोहनविक्रम)ले उजुर दिए। जिल्ला अदालतबाट दुई वर्ष‌ १९१४ जून १० मा रानी क्षेत्रकुमारीका पक्षमा फैसला भयो। जिल्ला अदालतको फैसलाविरुद्ध रामराजाले कलकत्ता उच्च अदालतमा पुनरावेदन गरे। त्यसैबीच पटनामा छुट्टै उच्च अदालत स्थापना भएपछि मुद्दा कलकत्ताबाट पटना पुग्यो। १९१७ मेमा पटना उच्च अदालतले पनि क्षेत्रकुमारीदेवीकै पक्षमा फैसला गर्‍यो।

पटना उच्च अदालतको फैसलापछि ‌१९१८ जुनमा बिहारका अधिकारीहरूले रानी क्षेत्रकुमारीदेवीलाई राज्यप्रबन्धका लागि अयोग्य घोषित गरे। उक्त निर्णयविरुद्ध रानी क्षेत्रकुमारीका तर्फबाट पटना उच्च अदालतका वकिल अम्बिकाप्रसाद उपाध्यायले कलकत्ता उच्च अदालतमा मुद्दा हाले। अदालतले पटना बोर्ड अड्डामा मुद्दा किनारा नलाग्दासम्म सम्पत्तिमा हस्तक्षेप नगर्नू भन्यो। क्षेत्रकुमारीले पटना बोर्ड मालमा हाल्न खोजेको उजुरी भने अस्वीकृत भयो।

अन्ततः सरकारी अधिकारीहरूले क्षेत्रकुमारीको योग्यता स्वीकारे। त्यसपछि क्षेत्रकुमारीले कलकत्ता उच्च अदालतबाट मुद्दा फिर्ता लिइन्। त्यसपछि रामनगर राज्य रानी क्षेत्रकुमारी मातहत आयो। उनको निधनपछि भने रामराजा (मोहनविक्रम शाह) नै रामनगरको राजा बने। यी रामराजाको विवाह प्रधानमन्त्री जुद्धशमशेरकी छोरी सीतासँग भएको थियो। रामराजाको पैतृक सम्पत्ति कलैयाका वरेवामा पनि थियो। १९४६ मा रामराजाको निधन भयो। १९४७ मा स्वतन्त्र भारतले १९५१ मा जमिन्दारी प्रथा उन्मूलन गरेसँगै रामनगर राज्य भारतको विहारमा गाभिन पुग्यो र राज्यको अस्तित्व मेटियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.