चित्त बुझ्दो मन्त्रालय नपाएपछि शाहले बहिष्कार गरे शपथ
कर्णालीमा मन्त्रिपरिषद् विस्तार : माओवादीबाट ३ र एमालेबाट २ मन्त्री
दैलेख : कर्णाली प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । झण्डै तीन सातापछि मन्त्रिपरिषद् विस्तार भएको हो । गत चैत्र २७ मा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थनमा एमालेका नेता यामलाल कँडेल मुख्यमन्त्री बनेका थिए ।
नेता कँडेल मुख्यमन्त्री बनेको तीन सातापछि मन्त्रिपरिषद् विस्तार भएको हो । मंगलबार मुख्यमन्त्री कँडेलले ६ मन्त्री र एक राज्यमन्त्री नियुक्ती,हेरफेर र कार्य विभाजन गरि मन्त्रिपरिषद् गठन गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेका थिए । जसमा माओवादीका तीन र एमालेबाट दुई मन्त्रीसहित एक राज्यमन्त्री छन् ।
यसअघि माओवादीबाट बिनाविभागीय मन्त्रीका रूपमा रनसिंह परियारले शपथ लिइसकेका थिए । उनलाई जलस्रोत तथा ऊर्जा विकास मन्त्रीको जिम्मेवारी दिइएको छ । आठ मन्त्रालय रहेको कर्णालीमा सत्ता साझेदार दल माओवादीले चार र एमालेले मुख्यमन्त्रीसहित चार मन्त्रालय लिने गरी सहमति भएको थियो ।
मंगलबार माओवादीबाट आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी, सामाजिक विकासमन्त्री वीरबहादुर शाही,उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दुर्गहादुर रावतले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
यस्तै,एमालेबाट भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री शेरबहादुर बुढा र भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्रीमा गमता विश्वकर्माले शपथ लिएका हुन् । नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख तिलक परियारसमक्ष र राज्यमन्त्रीले मुख्यमन्त्रीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
मुख्यमन्त्री कँडेलले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारीमा सिफारिस गरेका विनोदकुमार शाहले भने शपथ ग्रहण गरेनन् । शाहको सचिवालय स्रोतका अनुसार भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्रीको जिम्मेवारी नदिए पछि शाह असन्तुष्ट बनेका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री भने मुख्यमन्त्री कँडेल आफैंले राखेका छन् ।