हाम्रो काठमाडौं विश्वमै प्रदूषित
काठमाडौं : काठमाडौं बिहीबार साढे तीन बजेसम्म विश्वको छैटौं प्रदूषित देशको सूचीमा थियो।
स्विट्जरल्यान्डस्थित हावाको गुणस्तर निगरानी गर्ने संस्था (आइक्यु एयर) को अनुसार त्यतिबेला यहाँको (एयर क्वालिटी इन्डेक्स) हावाको गुणस्तरको मात्रा १२९ थियो। जुन संवेदनशील समूहका लागि नराम्रो मानिन्छ। तर, करिब एक घण्टापछि नेपाल प्रदूषित देशको पाँचांै नम्बरमा उक्लियो। अर्को एक घण्टामा चौथो बन्यो। ६ बजे तेस्रो स्थानमा पुगिसक्यो। ७ः३० बजे १५३ एक्युआईसहित दोस्रो स्थानमा उक्लियो।
आइक्यु एयरले प्रत्येक घण्टा हावाको गुणस्तरको तथ्यांक अध्यावधिक गर्छ। नेपाल प्रायजसो १०औं प्रदूषित देशभित्रको सूचीमा दोहोरिरहन्छ। (आइक्यु एयर) ले रियल टाइम वायु प्रदूषण निगरानी गर्दै निःशुल्क तथ्यांक संसारभरि नै प्रवाह गर्छ। तर, त्यसको विश्वासनीयता कति भन्ने विषयमा नेपालका सरकारी संयन्त्रले प्रश्न उठाएका छन्। सञ्चार माध्यममा बारम्बार नेपाल विश्वको प्रदूषित देशमा परेको खबर प्रकाशित हुँदै आए पनि उनीहरूले कहाँ, कोबाट तथ्यांक लिन्छन् र त्यसमा वैज्ञानिक आधार कति छ भन्ने महत्वपूर्ण रहेको वातावरण विभागका सूचना अधिकारी दीपक ज्ञवाली बताउँछन्। काठमाडौं अत्यन्त प्रदूषिण भइरहेको सबैमा महसुुस हुँदाहुँदै पनि संसारको एक नम्बरमा परेको भन्नेमा दुविधा रहेको उनले शंका गरे। तर, यसको वैज्ञानिक आधार हेर्नुपर्ने बताउँदै उनले भने, ‘कसको डाटा विश्वास गर्ने ? कसले निगरानी गरिरहेको छ ? कसरी तथ्यांक मापन भइरहेको छ त्यो महत्वपूर्ण हुन्छ’ उनले थपे, ‘ती तथ्यांकलाई कसरी प्रमाणित गर्ने, कसले नाप्यो डाटा, हामीहरूको डाटा धेरै हावादारी छन्।’
विभिन्न संघ–संस्थाहरूले तथ्यांक स्टेसनहरू स्थापना गरे पनि त्यसले उचित प्रतिफल नदिएको र विश्वासनीय नभएको, समय–समयमा निगरानी भए पनि निरन्तरता नदिएको बताए। तर, उनले विगतमा खडा गरिएका स्टेसनहरूको तथ्यांकले नेपालको हिमाली भेगसम्म सहारा मरुभूमिबाट समेत प्रदूषण आइपुगेको बताए। नेपालको डढेलोको मात्रै नभएर बाहिरबाट आएको प्रदूषण थपिएर अझ खराब अवस्था सिर्जना गरेको बताए। बाली राम्रो हुन्छ भनेर डढेलो लगाउने नराम्रो अभ्यास, चुरोट खाएर जताततै फाल्ने र सम्बन्धित मन्त्रालयले बजेट छैन भनेर पन्छिनेलगायत विभिन्न कारणले गर्दा पनि प्रदूषण उल्लेखनीय रूपमा प्रतिकूल अवस्थामा पुगेको ज्ञवालीले बताए।
वायु प्रदूषणविज्ञ, भुपेन्द्र दास भन्छन्, १२ देखि ३ बजेसम्म पीएम २.५ को मात्रा (हावामा हुने धुलोको अत्यन्त सूक्ष्म कण) सबैभन्दा कम हुन्छ। तर, बिहान, बेलुका एकदमै बढी हुन्छ। नेपाल प्रदूषणको हिसाबले विश्वको एक, दुई स्थानमा परिरहेको हुन्छ। प्रत्येक घण्टा अपडेट गर्ने हुँदा तलमाथि भइरहेको हुन्छ। विभाग जस्तो जिम्मेवार निकायले प्रदूषणका बारेमा आएका तथ्यांक विश्वासनीय नहुनु भन्दै दिएको अभिव्यक्तिले उनीहरू गैरजिम्मेवार देखिएको आरोप दासले लगाए। जनजीवनको स्वास्थ्यसँग जोडिएको कुरा भएकाले स्वास्थ्य मन्त्रालयले विज्ञप्तिसमेत निकालेको प्रसंक कोट्याउँदै भने, ‘यो सामान्य कुरा होइन। जिम्मेवार हुनुपर्यो।’ दासको अध्ययनले मार्च, अप्रिल र मेमा ८० प्रतिशत प्रदूषण खुल्ला रूपमा भएको आगलागी र डढेलोबाट हुने देखाएको छ। जुनबाट घट्दै जाने प्रमाणित भएको दासले दाबी गरे। काठमाडौं प्रायजसो सधैं नै यातायात, उद्योग, कलकारखाना, इँटाभट्टा, निर्माणका काम, सडकका धुलोबाट प्रदूषण भए पनि हालको अवस्था विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा १०औं गुणा बढी भएको बताए। काठमाडौंको भौगोलिक अवस्था, वनडढेलो, आगलागी, कृषि अवशेष र फोहोरमैला जलाउँदा यो अवस्था आएको बताए।
दास भन्छन्, काठमाडौंमा हिजोआज १५० देखि २०० (एक्युआई) को तहमा प्रदूषण छ। यो एकदमै अस्वथ्य हो। यसले खतराको घण्टी बजिसक्यो भन्ने बुझाउँछ। शून्यदेखि ५० राम्रो मानिन्छ। ५० देखि १०० लाई नराम्रो हँुदै गएको बुझिन्छ। १०० देखि १५० अस्वस्थ्य। त्यसैगरी १५० देखि २०० ले अन्य मानिस र संवेदनशील समूहलाई अझै धेरै असर गर्छ। २ सयदेखि ३ सय अत्यधिक नराम्रो सबै उमेर समूहका लागि। संवेदनशील अवस्थामा पुगेको बुझिन्छ। प्रदूषणको मुख्य जड आगलागी र डढेलो नियन्त्रण गर्न नसक्नु मुख्य समस्या हो। सरकारको तयारी नपुगेको बताए। दास भने, ‘प्रदूषण न्यूनीकरणका लागि सरकारी निकाय, स्थानीय, विकास पार्टनरहरूले पनि चासो देखाउनुपर्ने समय आएको छ। सरकारले बनाएका नीति नियमहरू कार्यान्वयनमा ल्याउनुपर्छ। आगलागी नियन्त्रणका लागि स्रोतसाधनको जोहो हुनुपर्छ। तर, जंगलको वरिपरि पोखरी, रिचार्ज पोखरी, आगो निभाउने एउटा हेलिकप्टर नहुनु दुःखद पक्ष रहेको बताए। सवारी चेकजाँच कडाइ गर्दै सर्भिसिंग गर्दा मात्रै पनि ४० देखि ६० प्रतिशत प्रदूषण घट्ने उनले बताए। सरकारलाई उनले आग्रह गरे ‘केही नगरे पनि सरकार फिल्डमा आउनोस्। निगरानी गर्नोस्।’
वातावरण विभागका अनुसार नेपालको राष्ट्रिय मापदण्डले सबैभन्दा राम्रो प्रतिघनमिटर एक्युआइको मात्रा ४० माइक्रोग्राम हुनुपर्छ भनेको छ। तर, अवस्था त्यस्तो छैन। विभागले प्रदूषणको तथ्यांक देशैभरिबाट संकलन गर्ने गर्छ। २७ वटा स्टेसनबाट हावाको गुणस्तर नाप्ने गरिए पनि हाल १२÷१३ वटा मात्रै स्टेसनहरू मात्रै सञ्चालित रहेको जनाएको छ। विभागले जनचेतना फैलाउने काम गर्ने, फोहोर, प्लास्टिक नजलाउने, निर्माण कार्यमा वातावरणीय अध्ययन प्रतिवेदनअनुसार परिपालन गरेको छ, छैन अनुगमन गर्छ। सवारी प्रदूषणको हकमा कहिलेकाहीँ छड्के जाँच गरिरहेको बताएको छ। त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापन विनोद पोखरेलका अनुसार आइतबारदेखि पानी पर्ने देखिएको छ। बुधबार हावा चलेकाले केही मात्रामा अवस्था सुधारिएको देखिए पनि पानी परेपछि मात्रै काठमाडांैको प्रदूषण हट्ने देखिन्छ।