विषाक्त वायु बढ्दै छ, आयु घट्दै छ
काठमाडौं : वरिष्ठ छाती तथा क्यान्सर रोग विशेषज्ञ डा. एमके पियालाई बिहान उठ्दा असजिलो भयो। आँखा खुल्न मानेन। केही समय आँखामा पिरो महसुस भयो। क्षण भरमै बरर्र आँसु झर्यो।
७३ वर्षीय डा. पिया मात्र होइन धेरैजना ज्येष्ठ नागरिकहरूलाई बिहीबार बिहान उठ्दा सकस भयो। हाछ्युँ आउने, आँखा पिरो हुने, पोल्ने महसुस भयो। ‘आँखाबाट आँसु आयो। रोएजस्तो भयो,’ डा. पिया अनुभव सुनाउँदै भन्छन्’, दूषित वायुले पिरोल्यो।’ दूषित वायुले श्वास–प्रश्वास एवं दम रोगविरुद्ध औषधि सेवन गरिरहेका ज्येष्ठ नागरिकहरूलाई सतायो। अकस्मात स्वाँस्वाँ भयो। स्वास फेर्नै गाह्रो भयो। अभिभावकलाई अप्ठेरो हुँदा परिवारकै सदस्यहरू आत्तिए।
नेशनल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरका अध्यक्षसमेत रहेका डा. पियाका अनुसार, एक सातादेखि दमका रोगीहरू अस्पताल आउने क्रम बढेको छ। ‘बिहीबार तीनजना ज्येष्ठ नागरिकहरू भर्ना भएका छन्,’ डा. पिया भन्छन्, ‘दुई जनालाई सघन उपचार कक्ष (आईसीयू)मा भर्ना गरिएको छ।’
पछिल्लो २४ घण्टामा काठमाडौंमा अत्यधिक वायु प्रदूषण पाइएको छ। वायुमा रहेका हानिकारक कणहरू निकै साना हुने भएकाले सजिलैसँग हाम्रो फोक्सोसम्म पुग्न सक्छन् भने धेरै मसिना कणहरू फोक्सोबाट रगतमा प्रवेश गरी शरीरका विभिन्न अंगमा प्रवेश गर्छन्।
मुख्य कारक डढेलो
मुलुकका ४७ भन्दा बढी जिल्लामा डढेलो लागेको छ। उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला डढेलोको चपेटामा परेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहीबार मुलुकका ४ सय ३६ स्थानमा वन डढेलो लागिरहेको छ। ८० प्रतिशत वन डढेलोका घटनाहरू फागुनको मध्यदेखि जेठको मध्यसम्म चार महिनामा हुने गर्छन्। चैत र वैशाखमा मात्रै ६० प्रतिशत डढेलोको घटनाहरू हुने गरेको प्राधिकरणले जनाएको छ।
वायु प्रदूषण मौसममा पनि भर पर्छ। काठमाडौं, ललितपुर र उपत्यका वरपर लागेको डढेलोका साथै प्रदूषणको स्थानीय स्रोतहरूले पनि काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर बढाउन सघाउ पुर्याएको वातावरणविद्हरू बताउँछन्। विश्वभरिको वायु प्रदूषणको अवस्था मापन गर्ने ‘वल्र्ड एयर क्वालिटी इन्डेक्स र्याकिङ’ अनुसार काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा छ।
वातावरणविद् चिरञ्जीवी गौतमका अनुसार, काठमाडौंमा प्रदूषण बढाउने स्रोतमा एकतिहाइ मात्र छ। विश्व बैंकको हालै प्रकाशित रिपोर्ट उद्धृत गर्दै उनले भने, ‘काठमाडौं उपत्यकाको वायु प्रदूषित हुनमा दुईतिहाइ बाहिरको भूमिका छ। स्थानीय स्रोत त एकतिहाइ मात्र हो।’ अहिले मुलुकका विभिन्न थागमा डढेलो लागेकाले त्यसले पनि काठमाडौं उपत्यकाको वायुलाई दूषित गराइरहेको गौतमको भनाइ छ। काठमाडौं उपत्यकामा विशेषगरी बिहान र बेलुकाको समयमा प्रदूषण बढेको पाइएको छ। धुवाँ फाल्दै हिँड्ने सवारी साधन, धुलाम्मे सडक, घरघरमा फोहोर बाल्ने प्रवृत्ति, इँटाभट्टाको धुवाँले पनि वायु प्रदूषण बढाइरहेको छ।
घट्दै छ आयु
नेपालीको औसत आयु हो, ७२ वर्ष। तर, पछिल्लो समय प्रदूषणका कारण आयु घट्दै गएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, बढ्दो मानव स्वास्थ्यमा नकारात्मक असर पारेको छ। वायुमा रहेका हानिकारक कण÷रसायनहरूले मधुमेह, उच्चरक्तचाप, दम लगायतका दीर्घरोगीहरूलाई स्वास्थ्य झन् जटिल बनाउँछ।
वायुमा मानव स्वास्थ्य र वातावरणलाई नकारात्मक असर पुर्याउने वस्तुहरू तोकिएको सीमाभन्दा बढी मात्रामा मिसिँदा वायु प्रदूषण हुन पुगेको हो। मानवीय क्रियाकलाप र प्राकृतिक दुवै कारणले बढेको वायु प्रदूषणले स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको चिकित्सकहरू बताउँछन्। सवारीसाधन, उद्योग कलकारखाना, फोहोर जलाउने कार्य, वन डढेलो लगायतका स्रोतहरू वायु दूषित गराउन सघाउ पुर्याइरहेका छन्। बढ्दो प्रदूषण, अस्वस्थकर जीवनशैलीका कारण युवा उमेरमै श्वास–प्रश्वास तथा दमका साथै मुटुजन्य समस्याले पिरोल्न थालेको विशेषज्ञहरू बताउँछन्। फोक्सोमा हावा जाने स्वास नलि सुन्निने (फुल्ने) अर्थात् क्रोनिक ब्रोङ्काइटिस देखिएको छ। क्रोनिक ब्रोङ्काइटिसका मुख्य कारणमा वायु प्रदूषण पर्छ। त्यस्तै मुटुजन्य समस्याले पनि सताएको छ। वरिष्ठ छाती एवं क्यान्सर रोग विशेषज्ञ डा. पिया भन्छन्, ‘अहिले मध्यम उमेरमै ब्रोङ्काइटिस दमलगायत श्वास–प्रश्वासजन्य समस्याले सताएको छ।’
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार, वायु प्रदूषणका कारण हरेक वर्ष ३० लाख व्यक्तिको ज्यान जाने गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, वायु प्रदूषणले नेपालीको औसत आयु चार दशमलव एक प्रतिशतले घटाएको तथ्यांक छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले नेपाल स्वास्थ्य अनुसन्धान परिषद र अन्य विदेशी जर्नलहरूलाई उदृत गर्दै वायु प्रदूषणकै कारणले गर्दा औसत आयु ४ दशमलव १ प्रतिशतले घट्दै गएको बताए। डा. बुढाथोकीका अनुसार, वायुमा हुने हानिकारक कण÷रसायनहरूले गर्भवतीमा समयअघि नै शिशु जन्मिने हुन्छ। कम तौलको शिशु जन्मिने जोखिमसमेत हुन्छ।
नाक र मुखबाट छिर्ने, सबै अंगलाई क्षति गर्छ
वायुमा रहेका हानिकारक कणहरू विभिन्न साइजका हुन्छन्। साथै एउटै कणमा सयांै रसायनहरू हुन सक्छन्। यी कणहरू स्रोतहरूबाट प्रत्यक्ष हावामा प्रवेश गर्छन्। कुनै–कुनै वायुमण्डलमा भएका विभिन्न रसायनहरूको प्रतिक्रियाबाट उत्पन्न हुन्छन्।
वरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ प्राडा ढुण्डिराज पौडेलका अनुसार, प्रदूषित वायु श्वासप्रश्वासका क्रममा ग्रहण गरेपछि सिधै फोक्सोमा पुग्छ। फोक्सोबाट शरीरका विभिन्न अंगमा अक्सिजनका रुपमा पुग्छ। ‘प्रदूषित वायुसँग मिसिएका रासायनिक एवं विकिरणयुक्त कणहरूका साथै हानिकारक किटाणु÷विषाणुले सिधै फोक्सोमा असर पुर्याउँछन्,’ डा.पौडेल भन्छन्, ‘फोक्सोले अक्सिजन लिने र कार्बनडाइअक्साइड फाल्ने काम गर्छ। फोक्सोबाट रक्तनलि हुँदै विभिन्न अंगमा क्षति पुग्न सुरु गर्छ। अन्ततः शरीरका विभिन्न कोषहरूमा असर पुर्याउँछ।’
चिकित्सकहरूका अनुसार, वायु प्रदूषणले सुरुमा आँखाको झिल्लिमा असर पर्छ। आँखा चिलाउने, पोल्ने, आँसु आउने हुन्छ। प्रदूषणका कणहरूले छालामा पनि असर पुर्याउँछ। श्वास–प्रश्वास नलिमा समेत असर पुर्याउँछ। ‘हानिकारक कणहरूले नाक, घाँटीका भिल्लीहरूमा असर पुर्याउँछ। फोक्सोमा समेत क्षति पुर्याउँछ। फोक्सो कमजोर भएको व्यक्तिलाई निमोनियाको जोखिम हुन्छ,’ नाक, कान, घाँटी रोग विशेषज्ञ प्राडा पौडेल भन्छन्, ‘मोटामोटा कणहरूलाई नाकले छेक्छ। विषाक्त मसिना र साना कणहरू सजिलै श्वासनलि हुँदै फोक्सो रक्तनलिमा पुग्छन्। रक्तप्रवाहमा असर गरी हृदयाघात वा मस्तिष्कघातको जोखिम बढाउँछ।’
वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बमका अनुसार, वायु प्रदूषणले अल्पकालीन र दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउँछ। ‘अल्पकालीन स्वास्थ्य समस्यामा आँखा पाक्ने, छाला चिलाउने, एलर्जी हुनेदेखि घाँटी सुक्खा हुने, रुघाखोकी, ब्रोङ्काइटिससम्म हुन्छ,’ डा. बम भन्छन्, ‘दीर्घ दमखोकीको समस्या निम्तन सक्छ। फोक्सोको क्यान्सर हुनसक्छ। चुरोट नपिउने व्यक्तिमा समेत फोक्सोको क्यान्सर देखिन थालेको छ।’
बालबालिका, महिला र ज्येष्ठ नागरिक जोखिममा
वायुप्रदूषणले रोगप्रतिरोधात्मक क्षमतामा ह्रास ल्याउँछ। त्यसैले रोग प्रतिरोधात्मक क्षमता न्यून भएका बालबालिका, ज्येष्ठ नागरिक र विशेषगरी गर्भवती महिलालाई प्रदूषणले असर गर्छ। बालबालिका, ज्येष्ठ नागरिक, दमखोकी जस्ता श्वासप्रश्वासजन्य बिरामी र मुटुजन्य समस्याका बिरामीहरू जोखिममा रहने चिकित्सकहरू बताउँछन्। प्राडा, पौडेल भन्छन्, ‘प्रदूषित वायुले आँखा, छाला, नाकमुख, श्वासनलि, फोक्सो, रक्तनलिलगायतका शरीरका विभिन्न अंगमा क्षति पुर्याउँछ। मस्तिष्कघात एवं हृदयघातको जोखिम बढाउँछ।’
समन्वय र सहकार्यमा जोड
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, सबै उमेर समूहका नागरिकहरूलाई पनि सम्भव भएसम्म घरबाहिर ननिस्कन र निस्कनै परे सावधानी अपनाउन आग्रह गर्छन्। डा. बुढाथोकी भन्छन्, ‘बाहिर आगो बाल्दासमेत वायु प्रदूषण झनै बढ्छ। फोहोर फाल्ने र खुला रूपमा आगो बाल्ने काम नगरौं।’ विद्युतीय सवारी साधन बाहेकका अन्य सवारी साधन कम प्रयोग गर्न उनले आग्रह गरे।
वरिष्ठ छाती रोग विशेषज्ञ डा. बम प्रदूषण बढेको बेला मास्कको प्रयोग गर्न, सकभर घरबाहिर ननिस्कन आग्रह गर्छन्। ‘सहरी क्षेत्रमा बढ्दा जनघनत्वलाई ख्याल गर्दै हरियाली प्रबद्र्धनमा सबैले सहयोग गर्नुपर्ने जरुरी छ। वृक्षरोपण गर्ने र डढेलो नियन्त्रण गर्ने कार्यमा ध्यान दिनुपर्छ,’ डा. बम भन्छन, ‘प्रदूषण न्यूनीकरणमा सरोकारवाला सबैको समन्वय र सहकार्यको आवश्यकता छ।’