अस्ताए संस्कृत विद्याशिरोमणि ढकाल
काठमाडौं : नेपाल महात्म्य, पशुपति पुराण र गण्डकी महात्म्य समेटेर नेपाली भाषामा तयार पारिएको १६ सय पृष्ठको हिमवत्खण्ड विशेष ग्रन्थका अनुवादक एवं सम्पादक प्राध्यापक डा. वेणीमाधव ढकालको निधन भएको छ। नेपाल संस्कृत विश्वविद्यालयबाट सेवानिवृत्त उनी सोही विश्वविद्यालयको सेवा आयोगमा दुई कार्यकाल काम गरेका थिए। पछिल्लो समय स्वतन्त्र अनुसन्धान, अनुवाद र सम्पादनमा लागिपरेका उनको पक्षघातका कारण ८२ वर्षको उमेरमा सोमबार राति निधन भएको हो। उनी संस्कृतहरू भाषाका प्रखर व्यक्तित्व थिए।
‘हिमवत्खण्ड मात्र होइन, निर्णय सिन्धु, शिव महापुराण, श्रीमद् भागवत् महापुराण, गणेश पुराण, श्रीमद् देवी भागवत् महापुराण, आह्न्विक सूत्रावली आदिजस्ता विशाल ग्रन्थलाई संस्कृत भाषाबाट नेपालीमा अनुवाद र सम्पादन गरेर राष्ट्रलाई ठूलो गुन लगाउनुभएको छ’, वाल्मीकि विद्यापीठको धर्मशास्त्र विभाग प्रमुख प्रा. डा. देवमणि भट्टराईले अन्नपूर्णसँग भने, ‘शालीन व्यक्तित्व उहाँ व्यावहारिक र नम्र स्वभावको हुनुहुन्थ्यो। जिज्ञासाहरूको समाधान सहज ढंगले निकाल्ने उहाँ गहन र रहस्यमय विषय उठाउने र समाधान गर्ने विद्वान्का रूपमा चिनिनुभयो।’ उनका अनुसार श्रीमद् भागवत महापुराण संस्कृतमा सम्पादन र नेपालीमा अनुवाद गरी वैशाख ११ गते सांगे हुने गरी ढकालले घरमै विधिवत् सुन्नुभएको थियो। त्यसको सातापछि प्राण गएको उनको भनाइ छ। ढकालका सम्पादित पुस्तकमा विवाह पद्धति, संस्कृत साहित्यसम्बन्धीको ग्रन्थ, हरिकेलि महाकाव्य, चन्द्रसम्भव महाकाव्य छन् भने पृथूदय महाकाव्यम् (१८ सर्गमध्ये तीन सर्ग प्रकाशित) उनको रचना हो। स्वर्गद्वारी महाप्रभुसम्बन्धी पुस्तकको सम्पादक उनी विद्यावारिधिका दर्जनौं शोधमा शोध निर्देशक बसेको भट्टराईको भनाइ छ।
वेणीमाधवका सहृदयी साथी प्रा. डा. ऋषिराम पोखरेल पनि हिमवत्खण्ड नेपाली भाषामा तयार पारेर ढकालले नेपाल र नेपालीलाई ठूलो गुन लगाउनुभएको टिप्पणी गर्छन्। ‘वैदिक सनातनीका लागि महत्वपूर्ण मार्गदर्शक सूत्रावली आह्न्विक सूत्रावली संस्कृतबाट नेपालीमा अनुवाद गर्नु उत्तम कार्य हो’, उनले भने, ‘अन्त्यन्तै परिश्रमी उहाँले निर्णय सिन्धु जसमा जन्मेदेखि मृत्युसम्मका १६ संस्कार छन्, लाई संस्कृत भाषाबाट नेपालीमा अनुवाद गरेर सजिलो बनाइदिनुभएको छ।’ उनका अनुसार ढकालले लेखेका कापीकिताब हेर्दा कहिले र कसरी लेख्नुभयो होला ? भन्ने कुतुहलता जाग्छ।
संस्कृतिविद् डा. गोविन्द टण्डनले नेपाल संस्कृत विश्वविद्यालयमा अनुसन्धानात्मक कार्य गर्ने विषयमा ठूलो योगदान रहेको बताए। ‘खोजी गर्ने विद्वान्हरूको कमी थियो, विभिन्न काम गरेर सबैलाई बाटो देखाउनुभएको छ’ उनले भने, ‘संस्कृत विश्वविद्यालयलाई उचाइमा पु¥याउनु भएको छ। ठूला ग्रन्थहरू संस्कृतबाट नेपालीमा अनुवाद गर्नु उहाँका उत्कृष्ट कार्य हुन् जसले सदैव सम्झाइरहन्छ उहाँलाई। संस्कृतलाई संरक्षण र सम्बद्र्धन गर्न काम गर्नुभएको छ– गणेश पुराण, हिमवत्खण्ड आदिमा।’ नेपाल र नेपालीले सधैं सम्झिरहने काम भएको बताउँदै उनले अनुसन्धानमा गोरेटो बनाइदिएकाले अब बाँकी काम वर्तमान र भावी पुस्ताले गर्नुपर्नेमा जोड दिए।
नेपाल संस्कृत विश्वविद्यालयबाट सेवानिवृत्त प्रा.डा. ऋषिराम रेग्मी ढकालले विशेषगरी संस्कृतका केही धार्मिक ग्रन्थ नेपालीमा अनुवाद गरेको जुन अरूबाट नभइरहेको बताए। ‘नेपाली जनमानसका लागि महत्वपूर्ण बनेका छन्। स्वतन्त्र रूपमा काम गर्ने तर अपेक्षा नराख्ने व्यक्तित्व हो उहाँ’, उनले भने, ‘सरकारले यस्ता विद्वान्लाई कुनै न कुनै रूपमा पहिचान दिन सक्थ्यो तर दिएन। उहाँले निष्काम कर्म गर्दै जाँदा दुनियाँलाई फाइदा भएको छ। उहाँको कामप्रति सम्मान गर्छु।’
संस्कृतिविद् प्राध्यापक चेतोनाथ गौतमले ढकालले हिमवत्खण्ड, धर्मसिन्धु आदिको नेपाली भाषामा अनुवाद गुन लगाएको बताए। ‘ढकालका कामहरू महत्वपूर्ण छन्। धर्मसंस्कृतिसँग सम्बन्धित कार्य भएकाले सर्वसाधारणका लागि काम लागेका छन्, अनुवादका कारण जोकसैले यी विषय सहजै पढ्न सक्छन्। र, यो काम राष्ट्रका लागि पनि महत्वपूर्ण बनेको छ’, गौतमले भने। डा. गणेशप्रसाद बरालले पूर्वीय दर्शनको अध्येता र शोधपत्रको विशेषज्ञका रूपमा चिनेको बताउँछन्। उनले भने, ‘अध्ययन, अनुसन्धानका क्रममा हरहिसाबले सहयोग गर्ने व्यक्तित्व हो।’
नेपालीमा अनुवाद गरिएको हिमवत्खण्ड नेपालको गरिमाको रूपमा छ। विद्यानाथ उपाध्याय भट्टले उक्त ग्रन्थलाई राष्ट्रवाद झल्किने अद्वितीय ग्रन्थको रूपमा अर्थ लगाएका छन्। ग्रन्थका प्रकाशक विद्यार्थी पुस्तक भण्डारका अध्यक्ष शान्त गौतमले लेखेका छन्, ‘विश्वमा नेपालको सम्मान बढाउने स्कन्द पुराणअन्तर्गतको एउटा खण्ड हो हिमवत्खण्ड जसका १३ हजार श्लोकमध्य ६ हजारजतिको पुनःसंस्कार गर्दा यो ग्रन्थ अरू प्राचीन पुराणहरूसरह सुललित र प्रज्ज्वल बनेको छ।’ ‘निर्णय सिन्धुमा डुबेर काम गर्दै जाँदा धेरै वर्ष बिते, यसबीच आह्न्विक सूत्रावली र श्रीमद् देवी भागवत् महापुराणको टीकारचनामा व्यस्त रहें’, डा. वेणीमाधव ढकालले लेखेका थिए, ‘२०७२ कात्तिकदेखि मेरो सम्पूर्ण ध्यान यसअघि गरेको काम हिमवत्खण्डको पूर्वसम्पादनलाई सूक्ष्मदृष्टिका साथ परिष्कृत बनाउनमा केन्द्रित रह्यो।’ हिमवत्खण्ड २०७५ सालमा प्रकाशित ग्रन्थ हो।