गोलन्जोरमा सुविधासम्पन्न अस्पताल बन्दै
सिन्धुली : गोलन्जोर गाउँपालिकामा सुविधासम्पन्न अस्पताल बन्ने भएको छ। वैशाख २१ गते गोलन्जोर गाउँपालिकाको ग्वाल्टार हेल्थपोस्ट परिसरमा अस्पताल निर्माणका लागि शिलान्यास गरिएको छ। उक्त अस्पताल भवनको शिलान्यास गोलन्जोर गाउँपालिका प्रमुख शंकरराज बराल, ब्याक टु लाइफका निर्देशकद्वय डिकेन्द्र ढकाल र अच्युतप्रसाद पौडेलले संयुक्तरूपमा गरेका छन्।
ब्याक टु लाइफ ईभी जर्मनी नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको ६ करोड ७६ लाख रुपैयाँ बराबरको लागतमा अस्पताल निर्माण सुरु गरिएको छ। ब्याक टु लाइफको यस परियोजनाका स्थानीय साझेदार संस्था समुदाय पद्धति विकास सेवा नामक गैरसरकारी संस्थाका परियोजना ओभरसियर करण कार्कीका अनुसार नेपाल सरकारले तोकेको ५ श्यया अस्पताल भवनको मापदण्डअनुसार डिजाइन गरिएको छ। निर्माण थालनी गरिएको अस्पताल भवनको निर्माण कार्य १८ महिनाभित्र सम्पन्न गर्ने गरी काम सुरु गरिएको ब्याक टु लाइफका मेनेजर अनुप पौडेलले जानकारी दिए।
पालिका प्रमुख बरालले भवन निर्माणपछि उक्त अस्पताललाई आवश्यक पर्ने उपकरण जडान गरी गोलन्जोर गाउँपालिकालाई हस्तान्तरण हुने र गाउँपालिकाले अस्पताल सञ्चालन गर्ने जानकारी दिए। पालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले यस अस्पताल भवन सम्पन्न भएपश्चात् यस विकट क्षेत्रको स्वास्थ्य सेवामा महत्वपूर्ण उपलब्धि हासिल हुने बताए।