रूसबाट युवा फर्काउन अबेर किन ?
रूस र युक्रेन अहिले युद्धमा छन् । नेपालका लागि न रूस शत्रु राष्ट्र हो न युक्रेन । तर, नेपाली युवा रूसी सेनामा भर्ती भएर युक्रेनसँग लडिरहेका छन् । नेपाली युवाको व्यक्तिगत चाहना पनि युद्ध गरी युक्रेनलाई रूसले चाहेजस्तो भष्म पार्ने होइन । सिर्फ रोजगारीका क्रममा युवा रूसी सेनामा भर्ती भएका हुन् । नेपाली युवा रूसी सेनामा भर्ती त भए तर आफ्नै ज्यान जोगाउन असमर्थन भएका छन् । गएको महिनासम्मको तथ्यांक हेर्ने हो भने ४० जना नेपालीले रूसी युद्धमा ज्यान गुमाएको भनिन्छ । लास भेटिएको छैन कतिको त्यसैले पुष्टि हुन बाँकी छ । ६ सय ९० जनाभन्दा बढी नेपाली युवा रूसी सेनामा भर्ती भएको तथ्यांकहरू पनि सार्वजनिक छन् । तीमध्ये अधिकतर सम्पर्कमा छैनन् । सम्पर्कमा भएकाहरू छिटो नेपाल फर्किन चाहन्छन् ।
उता रूसमा युवाहरूको बिलौना छ, यता नेपालमा घरपरिवारको । घरफिर्ती व्यक्तिगत चाहनाले सम्भव भएको छैन । त्यसैले सरकारी प्रयासको खाँचो छ । रूसी सेनामा भर्ती भएकाहरूको घरपरिवार र आफन्तहरू २ सातादेखि काठमाडौंमा आमरण अनशनमा छन् । तर, सरकारले सुनेको छैन । कूटनीतिक पहलका माध्यमबाट ती नेपालीलाई घर फर्काउने र मृत्यु भएकाको लास ल्याउने कर्तव्य राज्यले पूरा गर्नुपर्छ । तर, कतिपयले मृत्यु पुष्टि गरी लास नभए पनि कुशको शव बनाएर सतगद गरेका छन् । कठै तिनका परिवारलाई कति पीडा भयो होला जसले मृत्युपछि पनि अनुहार देख्न पाएनन् । यो पीडा बुझिदिने सरकार पनि उनीहरूसँग भएन ।
रूसी सेनामा भर्ती नेपाली युवाको रहरभन्दा धेरै बाध्यता हो । र, कतिपयचाहिँ जालमा फरेर पनि त्यहाँ पुगेका छन् । सरकारले नेपाली युवालाई रूस पु¥याएर सैनिक बनाउने दलालहरूलाई पनि पक्रन जरुरी छ । सबैभन्दा पहिला घर फर्कन चाहनेहरूलाई फिर्ता ल्याउने तुरुन्तै गर्नुपर्छ । विश्वका कुनै पनि देश जो हाम्रो शत्रु होइनन्, त्यहाँ नेपाली लड्न जानुपर्ने दिनको अन्त्यचाहिँ कहिले होला ? यो गम्भीर प्रश्न हो । किनभने नेपालीले सयौं वर्षदेखि यसरी अर्काेको भूमि रक्षाका लागि कुनै सम्बन्ध नभएको देशसँग युद्ध गरिरहनुपरेको छ । यो सबै देशभित्र युवाका लागि उचित वातावरण बनाउन सरकार चुक्नुको परिणाम हो ।