एमाले भोजपुरको अध्यक्षमा खड्का विजयी
भोजपुर : नेकपा (एमाले) भोजपुरको नवौं जिल्ला अधिवेशनबाट अध्यक्षमा मक्कर खड्का विजयी भएका छन्। अधिवेशनबाट सर्वसम्मत हुन नसेकेपछि निर्वाचन प्रक्रियाबाट गरिएको नयाँ समिति पदाधिकारी चयनमा खड्कासहित अन्य पदाधिकारीहरू चुनिएका हुन्।
अध्यक्ष पदका लागि जिल्ला कमिटीका निर्वतमान अध्यक्ष शरण कुमार राई र उपाध्यक्ष खड्काको प्यानलबीच चुनावी प्रतिस्पर्धा भएको थियो। निर्वाचनको अन्तिम मत परिणामसँगै राईको प्यानललाई हराउँदै खड्काको प्यानलले नयाँ कार्यकालका लागि नेतृत्व पाएको छ।
९४ मतान्तरले पछि पार्दै खड्का अध्यक्षमा विजयी भएका हुन्। उनले ३ सय १७ मत पाउँदा राईले २ सय २३ मत ल्याए । यस्तै उपाध्यक्षका लागि खड्का प्यानलका किरण राईले ३ सय ११ मत ल्याउँदै विजयी भए भने सोही पदका आकांक्षी कृपासुर शेर्पाले २ सय १६ मत पाए।
यस्तै सचिव पदमा ३ सय ४७ मत ल्याउँदै एक्सन राई विजयी भए। उनका प्रतिद्वन्द्वी राई प्यानलका ज्ञानेन्द्र कार्कीले एक सय ६८ मत पाए। सचिव पदमा विजयी राई नेपाल पत्रकार महासंघ भोजपुरका अध्यक्ष पनि हुन्। अर्को उपसचिव पदका लागि भएको चुनावी प्रतिस्पर्धामा ३ सय चार मत ल्याउँदै खड्का प्यानलकै दौलथ कुलुङ राई विजयी बने।
उनका प्रतिद्वन्द्वी राई प्यानलका जगतबहादुर चौहानले एक सय ७३ मत ल्याए। सोही पदका अर्का प्रतिस्पर्धी साइती राईले ११ मत मात्र प्राप्त गरेका छन्। यस्तै महिला उपसचिवमा खड्का प्यानलकी रमादेवी राईले २ सय ९३ भोट ल्याएर विजयी बनिन् भने राई प्यानलकी मेरिका राईले २ सय १६ मत ल्याइन्। जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि कुल ६ सय आठ जना प्रतिनिधि छनौट गरिए पनि कुन ५ सय ७३ मत मात्र खसेको थियो।
निर्वाचनबाट पूर्व मुख्यमन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य शेरधन राई पक्षधर विजयी बनेको हो। कार्यक्रमको उद्घाटन पूर्व गृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष राम बहादुर थापा बादलले गरेका थिए।