चितवन राष्ट्रिय निकुञ्जमा बाघ र गैंडा मृत भेटिए
चितवन : चितवन राष्ट्रिय निकुञ्जमा मंगलबार बाघ र गैंडा मृत अवस्थामा फेला परेका छन् । सौराहा नजिक रहेको निकुञ्जको भिमपुरघाटस्थित राप्ती नदी किनारमा बाघ मृत अवस्थामा फेला परेको हो । निकुञ्जको सुरक्षार्थ खटिएको सेनाको गस्ती टोलीले मृत अवस्थामा बाघ फेला परेको हो ।
बाघ कालगतिले मरेको हुनसक्ने बताइएको छ। अनुसन्धान भइरहेको निकुञ्जले जनाएको छ ।
यसैगरी नवलपुरको अमलटारीस्थित लामीचौरमा गैंडा मरेको अवस्थामा फेला परेको हो । मंगलबार बिहान पौने दश बजे भाले गैंडा मृत अवस्थामा फेला परेको हो ।
गैंडा कालगतिले मरेको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिएका छन् । उनका अनुसार गैंडाको खाग, खुर सुरक्षित छ ।
मृत बाघ र गैंडाको पोष्टमार्टम गर्न लागिएको निकुञ्जले जनाएको छ।