मातृदेवो भव :
भनिन्छ, आमालाई देवता समान मान मातातीर्थ औंसीमा गाँसिएको छ। यसरी आमाको महत्त्व र गरिमालाई प्रकाश पार्दै नेपालमा मातृ दिवस तथा आमाको मुख हेर्ने दिन भनी वैशाख कृष्ण अमावश्याका दिन मातातीर्थ औंसी मनाउने चलन छ।
मातातीर्थ औंसीजन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिक कालदेखि मनाइँदै आएको पर्व हो। आजको दिन आमाले गरेका महान् र कष्टपूर्ण कामहरूको सम्झना गरिन्छ। आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झने दिन पनि हो। यिनै आमा जसले हामीलाई संसार देखाइन्, पाइँला चाल्न तातेताते गर्दै सिकाइन्, गर्भमा राखेर जन्माइन् अनि काखमा राखेर पालिन्।
मूलतः देवीको प्रतिरूप अनि ममता कि खानी अनि बालापनामा हरेक इच्छा, आकांक्षा अनि चाहना पूरा गरिदिने, कल्पवृक्ष सरी, यस पृथ्वी लोकका सम्पूर्ण आमालाई कोटी कोटी नमन। हिन्दु संस्कृतिअनुसार स्त्री जातिमध्ये आमाको स्थान निकै उच्च हुने भएकाले आमालाई आदरणीय एवं पूजनीय मान्छौं। आमाकै विशेष स्नेह र लालनपालनमा हुर्किएका हुन्छौं। आमा हुने वा नहुनेहरूले पनि यस पर्वलाई परम्परागत रूपमा संस्कृतको एक प्रमुख अंगको रूपमा मनाउने प्रचलन छ। वस्तुतः पौराणिककालमा हाम्रो संस्कृतिमा आमालाई पाँच भागमा विभाजित गरेको पाइन्छ। जुन मित्र पत्नी, राजपत्नी, गरिबपत्नी, पत्नीमाता अर्थात् सासू र आमा।
यी पाँचलाई पञ्चमाताले पुकारिन्छ। तसर्थ शास्त्रीय वचनअनुरूप यी आमाको आआफ्नो स्थान त्यत्तिकै महत्त्वपूर्ण छ। तिनलाई बढी मायामोहको रूपमा बन्दनीय तथा पूजनीय गर्ने परम्परा अद्यावधिकै छ। अतः संसारको सबैभन्दा पवित्र नाता, आमा संसारको सबैभन्दा पवित्र सम्बोधन पनि हो। सुखदुःखमा झझल्को आउने अनुहार आमा हो। त्यसैले हरेक वर्षको वैशाख कृष्णपक्षको औंसीमा आमाको मुख हेर्ने चलन छ। आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ।
काठमाडौं उपत्यकाका नेवार समुदायले भने भक्तपुरको हनुमानघाट पुगी आमाको सम्झनामा परम्पराअनुसार श्राद्ध तर्पण गर्छन्। हिन्दु संस्कृति या विश्वका जुनसुकै धर्ममा पनि आमाको महत्त्वपूर्ण स्थान छ। यसर्थ हाम्रो देशमा भने आफ्नै मौलिक संस्कृतिका धर्म तथा चाडपर्वको आफ्नै किसिमको गरिमा भएको कुरा स्पष्ट छ। नेपालको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, सामाजिक आदिको आवश्यक ज्ञान चाडपर्वको अध्ययनबिना अपूरै हुन्छ। हिन्दु धर्ममा त्रिऋण पितृ, ऋषि र देवऋण चुकाउनु नै मानव मात्रको सर्वप्रथम कर्तव्य मानिएको छ। सो आदर्शको परिचालन उपर्युक्त चाडपर्वमा स्पष्ट रूपले देख्न सकिन्छ। वैवाहिक कार्यद्वारा सन्तान उत्पादन गरी वंश परम्परालाई कायम राख्नुको अतिरिक्त मातृ वा पितृ औंसीका दिन मानिस आमा, पिताप्रति अपार श्रद्धा, भक्ति अर्पित गरेर पनि पितृ
ऋण चुकाउँछन्।
सबैभन्दा महत्त्वपूर्ण कुरा– आमा धरती हुन्। जीवनमा भेटिएका वा नभेटिएका, देखिएका वा नदेखिएका सबै नारी आमा हुन्। यस्तो गरिमामय आमा शब्दमाथि कतै खेलवाड त गरिरहेका छैनौं ? मन चसक्क हुन्छ। आज पाँचवर्षीय अबोध आमा बलात्कृत हुन्छिन्। युवती आमाहरू पशुसरह बेचिन्छन्। घरेलु हिंसा, भेदभाव, असमानता, यौनशोषण र श्रमशोषणका उदाहरण त पाइलैपिच्छे छन्। विभिन्न कारणले आमाबुवालाई वास्ता नगर्ने अनि वृद्धाश्रमलगायत आगन्तुक ठाउँमा लगेर राख्ने चलन बढ्दै गएको छ, जुन मानवताप्रति
आक्षेप हो।
समय त खोला न हो, आफूले गरेका कुरा आफंैलाई फर्किने समय पनि आउँछ। बगेको समयमा दायित्ववाट बिमुख हुनु मानव चरित्र पक्कै हैन। यिनै महिमा बोकेकी आमाको मुख हेर्ने दिन मातातीर्थ औंसी हो। शास्त्रहरूमा आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ। यसरी श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मीठो खान तथा राम्रो लगाउन दिई छोराछोरीले आमाबाट शुभ आशीर्वाद ग्रहण गर्ने चलन छ। तसर्थ आमाको मुख हेर्ने औंसीले प्रतीकात्मक रूपमा मातृस्नेह नै दर्शाउँछ। जीवित आमा नहुनेहरूले यस दिन जलदान, पिण्डदान, सिदादान, गर्ने गर्छन्। मृत आमाहरूको सम्झनामा स्नेहभाव प्रकट गर्न अनेक तीर्थ, धाम तथा क्षेत्रमा जाने पनि चलन छ।
एकपटक द्वापरयुगमा श्रीकृष्ण आमालाई खोज्दै यहाँ आइपुगेका, श्रीकृष्णले आफ्नी आमा देवकीले त्यहाँ स्नान गरिरहेको दृश्य देखिएका र त्यो दृश्य देखिएको दिन वैशाखकृष्ण औंसी परेकोले त्यसै बेलादेखि मातृऔंसीको रूपमा आमाको नाममा श्रद्धाभाव प्रकट गर्नेहरूको घुइँचो लाग्न थालेका कथाहरू भेटिन्छन्। अतः गुमेकी आमा त्यहाँ भेटिन्छिन् भत्रे पौराणिक मान्यता रहेकाले पनि यसदिन आमाप्रति श्रद्धाभाव देखाइन्छ। विभिन्न शास्त्रमा पनि यस्ता कुरा लेखिएका छन्।
आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ। यस घडीलाई विभिन्न नामले संकेत गरिन्छ, जस्तै मातातीर्थ औंसी, मातृऔंसी एवं मातृ दिवस पनि भत्रे गरिन्छ। आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झने दिन हो।
यसर्थ समष्टिरूपमा अवलोकन गर्दा उल्लेखित पाँच आमामध्ये जन्म भूमिप्रतिको कर्तव्य पूरा गर्नुपर्ने कर्तव्य सबैको हुन्छ। उनीहरूलाई हरहमेशा श्रद्धा, आदर, हमेशा गर्नुपर्ने हुन्छ। तसर्थ वैशाखकृष्ण औंसीका दिन मातृभक्त आआफ्ना छोराछोरीले श्रद्धा र सम्झना गर्ने महत्त्वपूर्ण दिन हो। यसैले होला यो संसारमा जन्म दिने आमा तथा जन्मभूमि स्वर्गभन्दा प्यारो र पवित्र दिन हो।