गण्डकीका मुख्यमन्त्री अधिकारीको विश्वासको मतविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
पोखरा : गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीको विश्वासको मतविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि रिटको पेशी न्यायाधीश अव्दुल अजीज मुसलमानको इजलासमा तोकिएको छ।
मुख्यमन्त्री अधिकारीले पाएको विश्वासको मत बदर गरी आफूलाई ठूलो दलको हिसाबले मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै पूर्वमुख्यमन्त्री सुरेन्द्र पाण्डेले सर्वोच्चमा रिट दायर गरेका हुन्।
गत आइतबार मुख्यमन्त्री अधिकारीले प्रदेश सभामा राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ३० मत र विपक्षमा २७ मत खसेको थियो। मतदानपछि सभामुख कृष्ण प्रसाद धितालले संविधान र सर्वोच्चको फैसला अनुसार आफूले पक्षमा मतदान गर्ने बताउँदै अधिकारीको पक्षमा बहुमत प्राप्त भएको घोषणा गरेका थिए।
गण्डकी प्रदेश सभामा सभामुखसहित ६० सदस्य रहेकोमा बहुमतका लागि ३१ मत आवश्यक थियो। तर,सभामुखले अधिकारीलाई विश्वासको मत दिइ बहुमत प्राप्त गरेको घोषणा गरेपछि कांग्रेसले नाराबाजी गरेको थियो।
यसअघि अधिकारीको नियुक्ति असंवैधानिक भन्दै गण्डकी कांग्रेसका संसदीय दलका नेता एवं निर्वतमान मुख्यमन्त्री पाण्डेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। तर, अदालतले उक्त रिट खारेज गरिदिएको थियो। सर्वोच्चले रिट खारेज गरिदिएपछि अधिकारीले विश्वासको मत लिएका थिए।