बुद्ध मेरो सन्मुख बसेर देशना गरिरहेको छ
लुट्नेलाई घाटा, लुटिनेलाई फाइदा
संसारले सिकाएजस्तो चल्दो रहेनछ संसार !
संसार भन्छ— अरूबाट सतर्क रहनु
वास्तविक शत्रु त आफैंभित्र
शुभेच्छुकको मुखौटा लगाएर बसिरहेको छ त !
ठम्याउन गाह्रो छ–
लोभले रातदिन खोक्रो पार्दै गरेको
जत्ति नै खाए पनि अघाएको खै ?
पिउँदैमा प्यास मेटिएको खै ?
पाएर पनि सन्तुष्टी खै ?
रातदिन हृदय रिक्तताले
कटकटी खाइरहेको छ नि !
बुद्धले देख्छ–
लोभको तापले संसार जलिरहेको
लोभले द्वेषको आगो सल्काएको
द्वेषले क्रोधको आगो फैलाएको
क्रोधले वैमनश्यको ज्वाला दन्काएको
चारैतिर अन्धकार हुने गरी
मुस्लो मुस्लो मोहको धुँवा फैलिरहेको।
मेरा आँखा हेर्दै छन्–
कर्मको विपाक र फलको भोगाइ
कत्ति न हात पार्छु भनेर
अर्काको भाग खोसेर खानेहरू
छातीभरि सन्ताप लिएर बाँचिरहेका छन्।
बुद्ध आज पनि प्रत्यक्ष मेरो अघि बसेर बोल्दै छ–
कसैलाई थिच्नु, कसैको मिच्नु त के
‘यसले मलाई थिच्यो, यसले मलाई लुट्यो’
भनेर बारम्बार मनमा खेलाउनु मात्र पनि
शान्तिबाट वञ्चित हुनु हो।
तन्नम हुने गरी लुटिएको त ऊ हो,
जसको–
शान्ति रित्तिएको छ
मनको चैन
नभेट्ने गरी टाढिएको छ
जो अभिशप्त छ–
भित्रभित्रै विषाद जीवन बाँचिरहन
जिउँदै प्रेतको पीडा छट्पटिरहन !
हे करुणामय,
धन्य तिमी !
आज मेरो सन्मुख बसेर
मेरा आँखालाई
प्रत्यक्ष देशना गर्दै छौ।
आहा !
कति शीतल छ !