दमाईं लोकदर्शनमा पर्यावरण

दमाईं लोकदर्शनमा पर्यावरण
हुड्के नाचमा विभिन्न नाच र गाथा प्रस्तुत गर्दै ललित दमाईं।

‘जुन गाउँमा देउला मुङ्ग्रा (धारा) पाटीपौवा जलवृक्ष सागर भएको गाउँ रहेछ भने त्यस गाउँमा मनुष्यको स्वभाव हुन्छ। जस गाउँमा देउला मुङ्ग्रा पाटीपौवा जलवृक्ष सागर नभएको गाउँ रहेछ भने त्यस गाउँमा मनुष्यको स्वभाव हुँदैन’, रैथाने आदिवासी दमाईं जातिको मानव बस्ती एवं जैविक पर्यावरण संरक्षण लोक जीवनदर्शन यस्तो छ।

अछामका ललित दमाईंले बुबा लट्टे दमाईंबाट सुन्नु भएको थियो रे यो वाक्य। थोरै शब्दमा विशाल परिवेश, जैविक प्रकृति संरक्षण, मानवसभ्यता र चालचलनको दर्शन बोकेको पाइन्छ यसमा। यस दर्शनले व्यक्तिदेखि गाउँसम्मको परिवेशलाई चाहिने अति आवश्यक कुराहरूको बारेमा बोलेको छ। व्यक्ति–व्यक्ति मिलेर परिवार बन्छ, त्यही परिवार–परिवार मिलेर गाउँ बन्छ। गाउँ–गाउँ मिलेर नै सहरको विकास हुन्छ। अर्थात् सहरको आधार नै गाउँ हो। यसर्थ दमाईं मानव बस्ती विकासको अवधारणामा व्यक्तिदेखि सहरी जनजीवनलाई चाहिने आधारभूत कुराको वर्णन गरिएको पाइन्छ।

मनुष्य अर्थात् मानवीय स्वभाव हुन चाहिने कुराको बारेमा व्याख्या गरिएको पाइन्छ। शिक्षाको उज्यालो घामबाटै वञ्चित, विमुख पारिएका दमाईं जातिबाट यस्तो दिव्यज्ञान कसरी आयो होला रु नागरिकको शिक्षा लिन पाउने जन्मसिद्ध नैसर्गिक अधिकार हो। तर राज्यले शिक्षा लिनबाट बहिष्करणमा पारेको समुदायमध्ये दमाईं जाति पनि एक हो। मनुष्य गुण हुन उनीहरूको लोकजीवन दर्शनले यसरी बोलेको छ। जस गाउँमा देउला मुङ्ग्रा ९धारा० पाटीपौवा जलवृक्ष सागर भएको गाउँ रहेछ भने त्यस गाउँमा मनुष्यको स्वभाव हुन्छ। यहाँ उल्लिखित प्रत्येक मनुष्य गुणको बारेमा तल विवेचना गरिएको छ।

देउला– काठमा मानव आकृति कोरी कुनै पनि देवीदेवताको नाममा घरको पूर्वतिर राखिन्छ। यसले घरको बेरबार, रखे, सुरक्षा, लागूभागो, नकारात्मक ऊर्जालाई नियन्त्रण गर्ने विश्वास गरिन्छ। देउलालाई दमाईं गुरु विद्याबाट मन्त्र–तन्त्र गरी जगाएर घरको छानोमाथि राख्ने गरिन्छ। यसले घरको आकर्षण र शोभा बढाउने काम गर्छ। जुन पितापुर्खाको आकृति बनाइन्छ, तिनको आत्मालाई विभिन्न देवीदेवताको जिम्मा लगाइन्छ। यो परम्परा दमार्इं जातिको कुलपितृदेव र प्रकृतिपूजाको निरन्तरता हो। शिल्पकला, वास्तुविज्ञान वा खगोलविज्ञान नमिलेको घरमा सुखशान्ति, मेलमिलाप, उन्नति र प्रगति हुँदैन भनिन्छ। त्यस्तो अवस्थालाई समेत यसले मुक्त गराउने भएकाले घरमाथि मानव आकृति राख्न विशेष महत्त्वका साथ प्राथमिकतामा राखिएको पाइन्छ।

मुङ्ग्रा ९धारा०– मानव गुण र चिम्पाञ्जीको वंशानुगत गुणसँग ९६ प्रतिशतभन्दा बढी मिल्ने वैज्ञानिकले पत्ता लगाएका छन्। सोच्ने तरिका र बुद्धिमा धेरै समानता पाइन्छ। चिम्पाञ्जीले आजसम्म धारा बनाउन सकेको छैन। उसले कुवा र पोखरीको पानीमै भर पर्नु परेको छ। तर मानवले खोला, पोखरी, कुवाको पानी पिउन असहज भएकाले धाराको विकास गरेको छ। धारा निरन्तर बगिरहने वा खोल्न, बन्द गर्न मिल्ने गरी बनाउन पनि मानव सफल भएको छ। अहिले त स्वचालित (अटो सेन्सर) प्रविधिको धाराको विकास भइसकेको छ।

धाराको विस्तृत अर्थमा छहरो, छाँगो वा झर्ना भन्ने पनि हुन्छ। पानी अर्थात् मानव सभ्यताको जग नै पानी थियो। मानवका लागि पानी आधारभूत कुरा हो। सफा पानीको व्यवस्थापनले धेरै रोगबाट मुक्त भइन्छ। पशुप्राणीलाई खुवाउन, नुहाइधुवाइ गर्न, लुगा धुन, करेसाबारी लगाउन आदि कामका लागि गाउँमा धारा अति नै आवश्यक छ। देउलापछि धारालाई दमाईं प्राचीन बस्ती विकासमा विशेष महत्त्व दिइएको छ।

पाटीपौवा – दमाईं जातिको प्राचीन बस्ती विकास र निर्माणमा पाटीपौवा वा ठाँटीलाई उत्तिकै महŒव दिइएको छ। यसलाई गाउँको शोभा बढाउने, आकर्षण थप्ने र मनुष्यको गुणको रूपमा स्थान दिइएको पाइन्छ। यसको शाब्दिक परिभाषाअनुसार पाटीपौवाको अर्थ बटुवाहरूलाई बास बस्न बनाइएको खानेपानीको समेत व्यवस्था भएको पाटी, पाटी र धारा, पाटी र पौवा भनिएको छ। जहाँ बटुवा यात्रीले आराम गर्न, सुत्न, आश्रय लिन वा रात बिताउन प्रयोग गर्न सक्छन्। चारवटा पौवा ९खुट्टा० सहितको फलेक प्रयोग गरिएको खाटसमेत पाटीमा रहेको हुन्छ। पाटीपौवा वा ठाँटीमा विशेषगरी बटुवा वा यात्री, बेवारिसे मानिस, घरवारविहीनका लागि समेत आश्रयस्थलको रूपमा लिइन्छ। पाटीपौवा वा ठाँटीले बृहत् मानवीय सेवा र परोपकारी, हितकारी भावनालाई बोकेको देखिन्छ।

जलवृक्ष– दमाईं जातिको प्राचीन बस्ती विकास र निर्माणमा मानवीय गुणले भरिपूर्ण गाउँको परिकल्पना गरिएको छ। देउला, मुङ्ग्रा (धारा), पाटीपौवा वा ठाँटी सँगसँगै जलवृक्ष हुनुपर्ने उल्लेख गरिएको छ। ललित दमाईंका अनुसार जलवृक्ष भनेको वरपीपललाई भनिएको हो। जहाँ घरको छानोमाथि सुन्दर देउला सजिएको छ। गाउँको बीचमा धारा छ, बटुवा, यात्रीका लागि पाटीपौवा छ। जहाँ जलवृक्ष हुन्छ, त्यहाँ चौतारी भइहाल्छ। गाउँको सार्वजनिक स्थलमा वरपीपलसँगै चौतारी हुनेगर्छ। वैज्ञानिकहरूका अनुसार वरपीपलले सबैभन्दा बढी पानी सोसेर राख्ने र अक्सिजन फाल्ने गर्छ।

त्यसै कारणले गर्दा दमाईं प्राचीन बस्ती विकासमा वरपीपललाई जलवृक्ष नामकरण गरिनु विज्ञानसंगत देखिन्छ। यो वृक्षले सबैभन्दा बढी अक्सिजन फाल्ने गर्छ। जैविक जीवनचक्र, पर्यावरणीय सन्तुलन, मानव स्वास्थका लागि समेत गाउँको बीचमा जलवृक्ष हुनै पर्छ। गाउँको बीचमा जलवृक्ष हुनु मानव स्वभावको रूपमा चित्रण गरिएको छ। पीपल समुद्री सतहबाट पाँच सय मिटरदेखि दुई हजार मिटरसम्मको पहाडी भूभागमा फैलिएको हुन्छ। यसको पात ठूलो र बाक्लो हुने भएकाले गर्दा वातावरणमा धेरै पानी छोड्ने गर्छ।

पीपलको जराबाट करिब पाँचदेखि दस टनसम्म पानी छोड्ने गर्छ। यसको वैज्ञानिक नाम फ्ल्कुस रेलिजिओसा हो। पीपल नेपाल, भारत, बंगलादेश, म्यान्मार, पाकिस्तान तथा श्रीलंकालगायतका राष्ट्रमा पाइने एक प्रकारको ठूल्ठूला हाँगा हुने पतझड समूहको रुख हो। यसले चौबिस घण्टा अक्सिजन प्रदान गर्छ। पीपल मानव शरीरका विभिन्न रोगमा समेत लाभदायक भएको प्रमाणित छ। पाउलो फेरिने बेलाको यसको डुकु खानाले यार्सागुम्बा जस्तै शक्तिवद्र्धक हुने जडीबुटी विज्ञानले पुष्टि गरेको छ।

सागर– दमाईं जातिको प्राचीन बस्तीमा सागरलाई गाउँको अर्को स्वभाव र गुणको रूपमा लिइएको छ। ललित दमाईंका अनुसार सागर भन्नाले तालतलैयाको रूपमा बुझ्नुपर्छ। विशाल समुन्द्र वा सागर भने होइन। गाउँको आसपासमा सागर हुनुपर्छ। सागर भएमा जलचर, थलचर र उभयचर जीवजनावर, पशुपक्षी, चराचुरुंगीका लागि पानी र आश्रयस्थलको रूपमा रहन्छ। यसको वरिपरि हरियाली कायम भई पर्यावरण सन्तुलन कायम हुन्छ। सागरको पानीबाट खेतीपाती गर्नसमेत सजिलै सकिन्छ। सागरलाई मानव मृत्युपछि मुर्दा पोल्ने मसानघाटको रूपमा बुझिन्छ।

यसरी दमाईं जातिको प्राचीन बस्तीले बहुआयामिक प्रकृति र वास्तुविज्ञानको शिल्पकलामा आधारित सजावट गरेको छ। चिटिक्क परेको घरको छानोमाथि सजिएको देउला, धाराको कलकल आवाज, जलवृक्षको शीतल हावा, सागर वरिपरि हरियालीसँगै चिसो हावाको वहावले मानवमनलाई शान्तिप्रिय बनाइदिन्छ। यस्तो वातावणमा जन्मे, हुर्केको र बसेको मानिसको सोच्ने तौरतरिकामा निकै भिन्नता पाइन्छ। वैज्ञानिकहरूका अनुसार सहर, कोलाहल, धुलोधुवाँमा बस्ने मानिसलाई नकारात्मक कुराले धेरै प्रभावित पारेको हुन्छ।

तर सफा, सुन्दर, हरियाली र स्वच्छ हावा र अक्सिजन धेरै पाइने ठाउँमा बसेका मानिसमा सहरभन्दा तुलनात्मक रूपमा शान्तिप्रिय रहने पृष्टि भएको छ। यहाँ दमार्इं जातिको प्राचीन मानव बस्तीका आधारमा लोकवास्तुकला दर्शनशास्त्रले गाउँमा हुनुपर्ने मानवीय गुणलाई चित्रण गरेको छ। गाउँ–गाउँ मिलेर नै सहरको विकास हुने भएकाले सहरको विकासमा समेत दमाईं मानव बस्ती प्रणाली अत्यन्तै उपयोगी देखिन्छ। यस्तो पुरानो बस्तीअनुसारको विकास निर्माण गर्न सकेमा मानवीय स्वभावलाई जीवित राख्न सकिन्थ्यो।

अहिले दिगो विकासको अवधारणा आएको छ। तर हजारौं वर्षअघि नै दमाईं जातिका पुर्खाहरूले वैज्ञानिक र जैविक पर्यावरणीय सन्तुलन एवं आदिवासी मौलिक ज्ञानसहितको दिगो मानव बस्ती कस्तो हुनुपर्छर? भन्ने अवधारणा विकास गरेको पाइन्छ। जल, जमिन, जंगल, जीवजनावर, पशुपंक्षी, पर्यावरण सन्तुलन र दिगो विकासका बारेमा उल्लेख गरिएको छ। त्यसैले यस्तो बस्तीको अवधारणा दिगो विकास र आधुनिक वास्तुकलासँग समेत मिल्दोजुल्दो छ। समाजले समाजमा दमाईं जातिको अस्तित्व स्वीकार्य नभए तापनि उनीहरूको मौलिक बस्ती विकासको अवधारणाले सामुदायिक क्षमता र असाधारण सभ्यता रहेको प्रमाणित हुन्छ।

यो प्राचीन परोपकारी नेपाली संस्कृतिको एक अभिन्न अंगको रूपमा स्थापित छ। अहिलेको स्वार्थ प्रेरित विकासले यसलाई मास्दै लगिरहेको छ। पर्यावरणमैत्री सन्तुलित विकासलाई विस्थापित गरेर मरुभूमीकरणतर्फ अगाडि बढिरहेको छ। मानवमैत्री वातावरण, आहारविहार र जीवनशैली नहुँदा समाजमा हत्याहिंसा र अपराध बढेको प्रष्ट हुन्छ। सबै राजनीतिक नेतृत्व, सरकार, योजनाविद्, नीतिनिर्माता, नागरिक समाज र सरोकारवालाले शान्ति स्थापनाका लागि वातावरणमैत्री योजना, विकास र भैतिक निर्माणलाई उच्च प्राथमिकता दिनैपर्छ। यो आजको राष्ट्रिय माग र मुद्दा बनाइनुपर्छ।

एक गाउँमा मानव जन्मदेखि मृत्यसम्म चाहिने मुख्य–मुख्य कुराहरूको बारेमा दमाईं मानव बस्तीले स्पष्ट गरेको छ। यो वस्ती विकासको अवधारणा दमाईं पुर्खाहरूले गरे तापनि समग्र मानव जातिकै बृहत्तर हितमा रहेको पुष्टि हुन्छ। वर्तमान पर्यावरण विनाश र विश्व तापक्रम वृद्धिले विश्वलाई नै सताइरहेको अवस्थामा यस्तो राष्ट्रिय बस्ती विकासको प्राचीन सम्पदा संरक्षणमा राज्यको ध्यान जानुपर्छ। यस बारेमा थप खोज अनुसन्धान,संरक्षण, संवद्र्धन र विकास गरिनु अपरिहार्य खाँचो छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.