१८ वर्षदेखि फरार प्रतिवादी पक्राउ
बागलुङ : जिल्ला प्रहरी कार्यालय बागलुङले कर्तव्य ज्यान मुद्दामा फैसाला भएका फरार दुई जनालाई १८ वर्षपछि पक्राउ गरेको छ।
२०६३ वैशाख ३० गते कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गर्दै १० वर्षको कैद फैसला तोकेपछि फरार रहेका बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर ४ घर भई हाल कपिलवस्तुको बाणगंगा नगरपालिका-७ बनगाई बस्ने ५१ वर्षिय दुर्गा गौतम भन्ने दुर्गा आचार्य र सोही ठाउँ बस्ने उनकी ४६ वर्षीय बहिनी पार्वती आचार्यलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए।
जिप्रका बागलुङबाट खटिएको विशेष टोलीले वैशाख २२ गते बाणगंगाबाट दुवै जनालाई पक्राउ गरेको थियो। पक्राउ परेका आचार्य दिदीबहिनीलाई जिल्ला अदालत बागलुङमा पठाइएको र अदालतको फैसाला कार्यान्वयनको लागि बिहीबार जिल्ला कारागार बागलुङमा पठाइएको यादवले बताए।