चट्याङ दोस्रो ठूलो प्रकोप

चट्याङ दोस्रो ठूलो प्रकोप
सुन्नुहोस्

काठमाडौं : गत बुधबार पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा एक जना २९ वर्षीया महिला पुनम कोइरीको चट्याङ लागेर मृत्यु भयो। मंगलबार पनि झापाको अर्जुनधारा नगरपालिकाका ५४ वर्षीय मोहनप्रसाद दुलालको मकैबारीमा मल लगाउँदै गर्दा चट्याङ लागेर बिते। मंगलबार नै बागलुुङको ढोरपाटन नगरपालिकाका ५६ वर्षीय कुमबहादुर पुन पनि चट्याङ लागेर बितेका थिए। बझाङ र डडेलधुरामा चट्याङ लागेर मंगलबार मात्रै सात जना घाइते भए। उनीहरूको घर पूर्ण रूपमा नष्ट भयो। 

यसै सातामात्रै चट्याङबाट ६ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकले प्रष्ट्याउँछ। सन् २०११ देखि हालसम्म रेकर्ड हेर्ने हो भने १ हजार १ सय ९० जनाले चट्याङबाट ज्यान गुमाइसकेका छन्। यस अवधिमा ३ हजार ५ वटा चट्याङका घटना घटेका छन्। यसमा ३ हजार ३ सय ६५ घाइते, एक जना हराएको र १०१ मिलियन रुपैयाँको क्षति भनिएको छ। ३ हजार ५ सय ५ वटा पशुधन र १ सय ५९ वटा संरचना ध्वस्त भएका छन्। 

चट्याङजन्य घटना कसरी घातक बन्दैछन् भन्ने यी दृष्टान्तहरूले छर्लंग बनाउँछ। नेपालमा चट्याङ मानिसको ज्यान लिने दोस्रो ठूलो प्रकोप बनेको छ। विज्ञहरूको अनुसार पहिरोबाट सबैभन्दा धेरैको ज्यान जान्छ भने दोस्रोमा चट्याङबाट मृत्यु हुने गरेको छ। 

त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देल भन्छन्, ‘नेपालमा कम्तीमा १ सय १० जनाको प्रत्येक वर्ष चट्याङबाट मृत्यु हुन्छ। यी घटना रेकर्डमा आएका मात्रै हुन। थुप्रै घटना रेकर्डमा आएका हुँदैनन्। त्यसैले अझ बढीको मृत्यु भएको हुन सक्छ।’ 

चट्याङजन्य घटनाबाट हुने क्षति न्यूनीकरणको बारेमा गम्भीर भएर लाग्नुपर्ने समय आएको विज्ञहरू बताउँछन्। यसै सिलसिलामा त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका अर्का सहप्राध्यापक विनोद पोखरेलले गत मंगलबार र बुधबार नेपालका विभिन्न स्थानमा हुन सक्ने चट्याङका घटनाका बारेमा प्रक्षेपण गर्दै ट्विट गरेका थिए। उनले त्यस्ता चट्याङबाट जोखिम रहेका क्षेत्रका मानिसलाई सचेत हुन सन्देश दिएको थियो। मंगलबार जस्तै बुधबार पनि चट्याङको जोखिम रहेको पोखरेलले बताए। 

सहप्राध्यापक सिग्देलले पनि चट्याङ प्रभावित क्षेत्र भनेर पहिचान गर्न सकिने खालका नेपालको नक्सांकनसहितको ट्विट गरेका थिए। उनका अनुसार पश्चिम र वीरगन्जको दक्षिणी क्षेत्रमा मंगलबार चट्याङ बढिरहेको थियो। चट्याङ पूर्वानुमान गर्दा वायुमण्डलमा कति बेला कस्तो परिघटना सुरु हुन्छ त्यसैअनुसार परिवर्तन हुन्छ। बादलको गति र प्रकारअनुसार परिभाषित गर्न सकिने बताए। जनधनको क्षति न्यूनीकरण गर्न चट्याङ पूर्वसूचना प्रणाली आवश्यक रहेको जनाए। सिग्देल भन्छन्, ‘यो एक प्रकारको इलेक्टिक चार्ज हो। बादलका विपरीत दिशा आपसमा जुधेपछि करेन्ट उत्पन्न हुन्छ। र आगोको मुस्लो निस्किन्छ। त्यसलाई हामी बिजुली चम्केको भन्छौं। त्यो जमिनतिर प्रहार हुन्छ।’

अन्य विपद्को घटना एक ठाउँमा हुन्छ र त्यसको क्षति एकै क्षेत्र ठाउँमा देखिन्छ। तर चट्याङ आकाशबाटको दूरीअनुसार १० देखि १२ किलोमिटर क्षेत्रसम्म फैलिन्छ। त्यसैले यसको क्षति धेरै हुन्छ। चट्याङले क्षति बढाउँदै लगेको छ। 

मार्चदेखि अगस्टसम्म चट्याङ बढी पर्ने भएकाले यस अवधिमा सावधानी अपनाउन सकिन्छ। २ देखि ६ बजेसम्म बढी चट्याङ पर्ने गरेको देखिन्छ। त्यो समयमा खुल्ला ठाउँमा काम नगरेर सुरक्षित स्थानमा बस्दा पनि मानिसको कम मृत्यु हुने उनले बताए। उनका अनुसार, खुल्ला ठाउँमा हुनेहरू, खेतबारीमा काम गर्ने, गाईबस्तु चराउनेहरू बढी प्रभावित छन्। 

कन्भेक्टिभ क्लाउड र जमिनबाट माथि जाने क्युमुलस क्लाउड भन्ने हुन्छ। यो माथि बढ्दै जाँदा १५ किलोमिटरसम्म पनि पुग्छ। माथि पुग्दा पर्याप्त आद्रता भए, वायुमण्डल अस्थिर भएमा चट्याङको सम्भावना धेरै बढ्छ। त्यसको अनुगमन राडार र सेटलाइट इमेजबाट गर्न सकिन्छ। तर त्यसलाई हेरिराख्नुपर्ने हुन्छ। बेलैमा सूचना पुर्‍याएर मानिसलाई सूचित गराउन पनि सकिन्छ। जल तथा मौसम विज्ञान विभागले सन् २०१७ मा चट्याङ मापन गर्ने ९ वटा स्टेसनहरू स्थापना गरेको थियो। तर ती कुनै पनि स्टेसन सञ्चालनमा नभएको जानकारी विभागका मौसमविद् सुदर्शन हुमागाईंले दिए। कम्तीमा तीन ठाउँको स्टेसन चलेपछि मात्रै तथ्यांक आउने हुन्छ। हुमागाईंले भने ‘मर्मत गर्न बाहिरबाटै मान्छे आउनुपर्छ। त्यसलाई हटाएर अर्को स्टेसन बनाउन खर्चिलो हुन्छ। ती सेन्सरमा विद्युतीय साधनका कारण फ्रिक्वेन्सी जुधेर आवाज बढी आउने (न्वाइज) समस्या छ।’

पहिला सुरुमा काम गरे पनि सेन्सरहरू विस्तारै काम गर्न छोडेको र नेपालमा मर्मत नहुने र बाहिर मर्मत गर्न पनि समस्या भएको हो। ती स्टेसनहरूले कहाँ कहाँ चट्याङका घटना भए भन्ने तथ्यांक देखाउँथ्यो। 

सरकारले सुर्खेत, पाल्पा र उदयपुरमा राडार स्थापना गरेर चट्याङ पूर्वानुमान गथ्र्यो। त्यसबाट चट्याङ हुन सक्ने ठाउँहरू नाउकास्टिङ (तत्काल दुई घण्टाभित्र के हुन्छ) भन्ने पूर्वानुमान गर्न सक्थ्यो। तर सुर्खेतको राडार चलिरहेको छैन। प्राविधिक समस्या छ। पाल्पा र उदयपुरमा भने सञ्चालित रहेको हुमागाईंले जानकारी दिए। दिनहुँ बुलेटिन जारी गर्दा मौसम पूर्वानुमान महाशाखाले वर्षा र चट्याङको पूर्वानुमान त्यसैको आधारमा गर्दै आएको छ। चट्यांगको हिसाबले (कन्भेक्टिभ एक्टिभिटी) तुरुन्त जमिन तातेर तुरुन्त बादल बन्ने प्रक्रियामा क्युमुलस क्लाउड बन्छ। त्यसपछि चट्याङ पर्ने हो।

त्यसैले तराई र मध्यपहाडी क्षेत्रमा बढी चट्याङको जोखिम रहेको उनी बताउँछन्। तर हिमाली क्षेत्रमा कन्भेक्टिभ एक्टिभिटी नहुने भएकाले चट्याङको समस्या हुँदैन। अध्ययनहरूले प्रत्येक डिग्री तापक्रम बढ्दा १० देखि १२ प्रतिशत चट्याङको जोखिम बढने देखाउँछ। जलवायु परिवर्तनसँग चट्याङका घटना बढिरहेको विषयमा विश्वव्यापी बहस पनि सुरु भएको छ। बंगलादेशमा ३८ दिनमा ७४ जनाको चट्याङबाट मृत्यु भएको छ। दक्षिण एसियामा एक दशकमा २ हजार ८ सय मानिसको मृत्यु चट्याङबाट भएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.