लामो खडेरीका कारण सुक्यो गहुँबाली

लामो खडेरीका कारण सुक्यो गहुँबाली

कालीकोट : कालीकोटमा लामो खडेरीका कारण गहुँबाली बोटमै सुकेको छ। गत असोजदेखि खासै पानी नपरेका कारण गहुँबाली बोटमै सुकेको हो। बाला लागेका छन्। तर बालामा गहुँका दाना छैनन्। 

रास्कोट नगरपालिका-९ स्थानीय किसान कविराज न्यौपानेले कहिलेकाही पर्ने पानीले सुक्खा क्षेत्रमा छरिएको गहुँलाई खासै सिँचाइ नपुगेको बताए। उनले भने, ‘सिँचाइ अभाव भइरहेका क्षेत्रमा पाक्दै गरेको गहुँ बोटमै सुक्न सुरु गरेको छ। फागुन महिनामा परेको पानीले गहुँका बालामा केही फल लागेको थियो।’
 

तर चैत लागेयता पानीको छिटासम्म नपरेकाले गहुँका बाला फल बोटमै सुक्न थालेपछि किसान चिन्तित भएका छन। रास्कोट नगरपालिका वडा नं ९ कै स्थानीय अनिराज बरालले बोटमै गहुँ सुक्न थालेपछि किसानहरू आत्तिएको बताए। उनले भने, ‘पानी पार्नका लागि रातभरी भजनकृर्तन (खहरात्री) गर्ने चलन पनि अहिले छैन। गहुँको फल दूध जमेको गहुँबाली किसानले काँचै भएपनि भित्र्याउन थालेका छन्। केही किसान भने अलि भएपनि पानी परेपछि गहुँमा फल फर्किन्छ की भनेर प्रतीक्षा गरिरहेका छन्। सिँचाइ कुलो थियो मुल, खोला सुकेपछि कुलोमा पानी छैन। पाखो बारीमा न सिँचाइ छ, न पानी पर्छ उसै सुकेर गहुँबाली खर जस्तै भएको छ। खडेरीमा सानो पानीले सिँचाइ नहुने भएकाले खेतका गहुँ सुक्ने भएपछि किसानहरू त्रासमा छन्।’ 

बर्षेनी चामल किनेर खाने घरमा अवस्था छैन। जागिरे नभएको घरमा झनै समस्या भएको वडा नम्बर ९ का सचिव तुलसी न्यौपानेले बताए। उनले भने, ‘खडेरीले गहुँबाली मात्रै सुकाएन, व्यापार गरेर खानेहरूको अवस्था समेत छैन।’ 

यसैगरी पलाँता-२ का धनबिरे विश्वकर्माले गाउँमा रोजगारी नभएको र बारीको गहुँ सुकेर बोटमै हराएपछि परिवारको पेट पाल्न दुई महिना भए पनि भारततर्फ जान लागेको बताए। उनी बिहीबार जिते बसपार्कमा भेटिएका थिए। उनले असारको अन्तिम तिर पानी परेमा रोपाइँ गर्न आउने र पानी नपरेमा आएर पनि अर्थ नहुने बताए। 

रोजगारीका लागि भारत गएका नागरिकहरू घर फर्किने समय हो। तर खेतबारीमा लगाएको गहुँबाली खडेरीले सुकेका कारण घरमा बसेर के खाने भन्दै भारत जानु पर्ने बाध्यता भएको धनविरेसँगै भेटिएका पलाँता ७ का लालबहादुर बिष्टले बताए। उनले भने, ‘खेतबारीमा अन्न फल्दैन। समयमा पानी नपरेर किसानले लगाएको बाली खेतमा सुकेर जान्छ। यसको विकल्पका लागि स्थानीय सरकारले खाद्यान्न व्यवस्था गरिदिन अनुरोध गरे। 

यस्तो समस्या कालीकोटका सबै गाउँ बस्तीमा छ। सिँचाइका लागि स्थानीय सरकारले कुलाको व्यवस्थापन नगर्नु, सिँचाइ कुलो भएको ठाउँमा पानी नहुनु, खडेरीले खोला, मुल सुक्नुले किसानलाई हैरान भएको हो। सडक निर्माण गर्दा स्काभेटर (डोजर)को प्रयोगले पानीका मुहान पनि अन्यत्र सर्नुले झन समस्या चुलिँदै गएको स्थानीयको गुनासो छ। धेरै ठाउँका मुहानमा पानी छैन। पानीका श्रोत बन्द हुँदा खोलामा पनि पानी नबग्ने गरेकाले सिँचाइ कुला भएका ठाउँमा पनि किसानले सिँचाइ गर्न पाएका छैनन्।

यस्तो समस्याको समाधानतर्फ सरकारको खासै चासो नभएको किसानको गुनासो छ। जलवायु तथा वातावरणको क्षेत्रमा लामो अनुभव समालेका राष्ट्रिय योजना आयोगका पूर्व सदस्य मिनबहादुर शाहीले जलवायु परिवर्तनका नकारात्मक असरसँग जुध्न स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने बताए। उनले भने, ‘पानीका मुलको संरक्षण, बोटबिरुवाको सुरक्षा, कतिपय स्थानमा आरसीसी पोखरीको निर्माण गर्न सके मात्र खडेरीसँग अनुकूलन हुन सक्छ।’ 

यसैगरी रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाही पोषणले किसानले लगाएको गहुँबाली बोटमै सुक्न थालेपछि खाद्यान्न वितरण केन्द्र नगरपालिकामै स्थापना गरेको बताए। उनले भने, ‘एक बोरा चामल लिन सदरमुकाम मान्ममा धाउनुपर्ने बाध्यता अहिले नगरका जनतालाई छुटेको छ। यदि नियमित वर्षा भएर पानी आयो भने रास्कोटमा भोकमरी हुँदैन। असारमा लगाउने धानबालीले किसानलाई राहत पुर्‍याउन सक्छ।’ आगामी दिनमा नगर सरकारले फोहोरा सिँचाइको समेत व्यवस्था गर्ने प्रतिबद्धता गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.