गृहमन्त्रीले रोस्टममा आएर बोल्न पाउनुहुन्छ, बोल्नुस् : डा. शेखर कोइराला
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले रोस्टममा आएर बोल्न पाउने बताएका छन्।
उनले भने, गृहमन्त्रीले रोस्टममा आएर बोल्न पाउनुहुन्छ, बोल्नुस्, हामीलाई चित्त बुझे ठिक छ,चित्त बुझेन भने हामी बोल्छौं त्यसपछि। त्यसलाई न गृहमन्त्रीले स्वीकारेका छन् न एमालेले।’
उनले सहकारी ठगीमा गृहमन्त्री नै संलग्न भएको र पीडितले न्याय नपाउने भएकाले संसदीय छानबीन समितिको माग गरेको स्पष्ट पारे। कोइरालाले कांग्रेसले गृहमन्त्रीको राजीनामा नमागेको उल्लेख गरे।
‘सहकारीमा आफूले राखेको रकम हिनामिना हुँदा जनता सडकमा आए। हामीले संसद्मा त्यो कुरा स्पष्ट राखिदिएको छ।’ उनले भने, ‘कुनै राजनीतिक दलको नेपाली कांग्रेसलाई धम्की आइरहेको छ। कुनै धम्कीले डराउँदैनौं।’
कोइरालाले संविधान संशोधन गरेर अहिलेको निर्वाचन प्रणाली परिवर्तन गर्नु आवश्यक बताए। संविधान संशोधन नगरेसम्म यो देश अगाडि बढ्न नसक्ने धारणा २/३ महिनादेखि भनिरहेको बताए। उनले भने, ‘अहिलेको निर्वाचन प्रणालीले राजनीतिक स्थिरता दिँदैन। निर्वाचित प्रणाली परिवर्तन गर्दा कुनै दलको बहुमत आउने गरी बनाउनुपर्छ।’
उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रधानमन्त्रीले नहुने भएकाले यहि प्रणालीलाई नै सुधार गरेर अगाडि बढ्नुपर्ने धारणा राखे।