जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु : प्रधानमन्त्री दाहाल
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले जति पटक लिनुपरे पनि आफूले विश्वासको मत पाउने दाबी गरेका छन्। पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले विश्वासको मत पाउँदैन कि भन्ने चिन्ता नलिन आग्रह गरे।
'जेठ ७ गते एकपटक फेरि विश्वासको मत लिने भनेको छु। कांग्रेसका एक नेताले १२-१३औं पटक विश्वासको मत लिनुपर्ने अवस्था आउँछ भनेको थियो। यो चौथोपटक त भयो। पाँचौं, छैटौं हुँदै जाने हो कि भन्ने देखिन्छ। तर, जति पटक लिए पनि विश्वासको मत प्राप्त हुनेमा म स्पष्ट छु। तपाइँहरूले धैरे टेन्सन लिनुपर्दैन,' उनले भने।
प्रधानमन्त्री दाहालले मत घटबढ हुनु सामान्य कुरा भएको स्पष्ट पारे। 'कहिले मत घट्छ कहिले बढ्छ। घटबढ हुनु सामान्य कुरा हो। तर, विश्वासको मत पाउँछु,' उनले भने।