अपराध गर्न आउने विदेशीको संख्या बढ्दै

अपराध गर्न आउने विदेशीको संख्या बढ्दै
सांकेतिक तस्बिर।

काठमाडौं : चैतमा उपत्यकाका विभिन्न ठाउँबाट २८ जना बंगलादेशी नागरिक पक्राउ परे। वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक पुर्‍याइदिने भन्दै उनीहरूले बंगलादेशबाट नागरिकलाई ल्याएर काठमाडौंको एउटा होटलमा बन्धक बनाएर राखेका थिए। क्यानडा, इटाली, अमेरिका, क्रोसियालगायतका देशमा नेपालबाट सजिलै भिसा लाग्ने प्रलोभन दिएर उनीहरूले ती व्यक्तिलाई ल्याएका थिए। नेपाल ल्याएर कोठामा बन्धक बनाएर धाकधम्की दिने, कुटपिट गर्ने र आफन्तसँग सम्पर्क गर्न नदिई पासपोर्ट नियन्त्रणमा लिएका थिए। पीडितसँग लाखौं नगद लिएर उनीहरूले अलपत्र पारेका थिए। 

चैत २२ गते ठमेलस्थित होटल ‘सिस्टर होम’बाट प्रहरीले दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ गर्‍यो। यस्तै, काठमाडौंको अर्को एक होटलबाट दुई जना पाकिस्तानी नागरिक पनि पक्राउ परेका थिए। श्रीलंकाका नागरिकलाई नेपालमा ल्याएर उनीहरूले बन्धक बनाएर राखेका थिए। पाकिस्तानका जुबैर अजमद, शाहजहन तन्विर, मलिक अब्दुल हमिद र आरिफ मसिहविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले थप अनुसन्धान गरिरहेको छ। 

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार एजेन्टको सहयोगमा युरोप पठाइदिने भन्दै श्रीलंकाका नागरिकलाई हवाईमार्गबाट काठमाडौं ल्याइएका थिए। पक्राउ परेका पाकिस्तानी नागरिकबाट क्यानडा, ग्रिस र स्पेनको नक्कली भिसा फेला परेको प्रहरीले जनाएको छ।  

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गत फागुन ३ गते रातोपुलको एक घरबाट ११ जना भारतीय नागरिकलाई बन्धक अवस्थाबाट उद्धार गर्‍यो। उनीहरूलाई बन्धक बनाउने आठ भारतीय नागरिक प्रहरी हिरासतमा छन्। यो समूहले अमेरिका जान नेपालको एयरपोर्ट सहज भएको भन्दै स्थलमार्गबाट उनीहरूलाई काठमाडौं ल्याएको थियो। उद्धार गरिएका ११ जनालाई अमेरिका जान ४० लाख लाग्ने भन्दै प्रलोभन दिइएको थियो। भारतीय नागरिक इन्दुसिंह यादवको समूहले ११ भारतीयलाई काठमाडौं ल्याएर बन्धक बनाएका थिए। 

गत कात्तिक महिनामा कलैया—६ बारामा स्थानीय रुपेश सर्राफको दिउँसै गोली हानी हत्या भयो। कलैया—६ मदरसाटोलको बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक सर्राफलाई भारतीयले गोली हानेका थिए। 

युगान्डाकी एक महिलालाई काठमाडौं ल्याएर वेश्यावृत्तिमा लगाएको आरोपमा २०७९ फागुनमा पक्राउ परेका २५ वर्षीया नताशा भनिने एमाकुलेट नाबासुम्बाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको मुद्दा चलेको छ। 

यी त केही उदाहरणमात्रै हुन्। विभिन्न अपराधका घटनामा विदेशी नागरिकको संख्या ह्वात्तै बढेको छ। आपराधिक मानसिकतासाथ नेपाल आउने विदेशीको संख्या पनि बढ्दो छ। सजिलै अनअराइभल ‘आगमन’ भिसा पाइने भएकाले पनि आपराधिक मानसिकताका विदेशी नागरिक नेपाल आउन थालेको सुरक्षाविज्ञहरूको भनाइ छ। आगमन भिसामा नेपाल आएका विदेशी नागरिक कहिले मानव तस्करीमा संलग्न भएका भेटिन्छन्, त कहिले हत्या, चोरी र ठगीजस्ता अपराधमा मुछिन थालेका छन्। कहिले अनलाइन ठगीमा चिनियाँ नागरिकको समूहमै संलग्न भएको भेटिन्छ। त कहिले कोकिन, हिरोइनजस्ता लागुऔषध बोकेर नेपाल भित्रिएका अवस्थामा अफ्रिकन नागरिक फेला पर्न थालेका छन्। 

प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो साढे ३ वर्षमा ४ सय ८० जना विदेशी नागरिक विभिन्न अपराधमा संलग्न भएको पाइएको छ। आव २०७७/०७८ को सुरुवातदेखि आव २०८०/०८१ को फागुनसम्म विभिन्न देशका नागरिक नेपालमा आएर अपराधमा मुछिएका हुन्। प्रहरीको तथ्यांकअनुसार अपराधमा संलग्न हुने विदेशी नागरिकमध्ये सबैभन्दा धेरै भारतीय छन्। त्यसपछि चीन र बंगलादेशी नागरिक छन्। यो अवधिमा मुलुकमा गैरकानुनी कार्यमा संलग्न भएका विदेशी नागरिकमा १ सय ९२ जना भारतीय छन्। ८४ जना चिनियाँ नागरिक र ३२ जना बंगलादेशी नागरिक आपराधिक कार्यमा संलग्न भएको पाइएको प्रहरीको भनाइ छ। 

कारागार व्यवस्थापन विभागका सूचना अधिकारी गोकर्ण खनालका अनुसार १ हजार ३ सय ८४ जना विदेशी नागरिक जेलमा छन। जसमा १ हजार २ सय ४ जना भारतीय नागरिक छन्। २४ जना चिनियाँ नागरिक नेपाली जेलमा परेका छन्। यस्तै, बंगलादेशी ३ जना र पाकिस्तानी १२ जना जेलमा छन्। थाइल्यान्डका ८ जना, फिलिपिनी ३, दक्षिण अफ्रिकाका १३, सुडानका १२ र अमेरिकाका २ जना नेपाली जेलमा परेका छन्। 

सजिलै भिसा पाइन्छ, खुरुखुरु यता आउँछन् 

नेपाल प्रहरीका पूर्वआईजीपी ठाकुर ज्ञवाली आपराधिक मानसिकता भएका व्यक्तिले जहिले पनि सुरक्षित स्थानको खोजी गर्ने बताउँछन्। उनी भन्छन्, विदेशीका लागि नेपाल आउनका लागि भिसा प्रक्रिया अत्यन्तै सजिलो छ। एयरपोर्टमा समेत भिसा पाइन्छ। त्यसकारण कतिपय विदेशी नागरिक गैरकानुनी कार्य गर्न पनि यहाँ आउने गर्छन्।’ जुनसुकै विदेशीलाई सजिलै आगमन भिसा दिने प्रवृत्तिले उसको चेकजाँच र पृष्ठभूमि जान्न नसकिने बताउँदै पूर्वआईजीपी ज्ञवाली भन्छन्, ‘सुरक्षा व्यवस्था कमजोरभन्दा पनि कानुनी ‘लुपहोल’का कारण विदेशी नागरिकको अपराध फस्टाएको हो।’ सबै सरकारी डाटाहरू अनलाइन बेसमा गइनसकेका कारण पनि अपराध नियन्त्रणमा सहज नभएको ज्ञवालीको भनाइ छ। ज्ञवाली भन्छन्, ‘आपराधिक क्रियाकलापको डाटा नेपाल प्रहरीसँग हुन्छ। आर्थिक कारोबारको डाटा अन्यसँग तथा विदेशी आगमनको डाटा अर्को निकायसँग हुने र ती निकायबीच सहकार्य नहुने हुँदा घुम्न आउने विदेशीको निगरानी गर्न असहज हुने गरेको छ।’ विदेशीहरू नेपालमा आएर गैरकानुनी कार्यमा संलग्न हुनु भनेको नेपाली असुरक्षित हुनुभएको ज्ञवालीको भनाइ छ। ‘नेपाल आउने विदेशीको सम्पूर्ण अभिलेख पनि हामीसँग हुँदैन,’ ज्ञवाली भन्छन्, ‘ऊ कहाँ बस्छ ? आर्थिक कारोबार कसरी गर्छ ? नगद हो भने कहाँबाट ल्यायो ? लगायतका विषयमा निगरानी हुनुपर्छ।’ उनका अनुसार प्रविधिमा अपडेट र अपग्रेड हुने हो भने विदेशीको मात्रै हैन नेपाली व्यक्तिले गर्ने अपराध पनि कम गर्न सकिन्छ। घुम्ने भिसामा नेपाल आएका विदेशीको गतिविधि अनलाइन अपडेट र कारोबार गर्दा डेबिट कार्ड अनिवार्य गरेमा अप्ठ्यारो पर्दा रेकर्ड निकाल्न पनि सहज हुन्छ। 

विदेशी नागरिकको ट्र्याक रेकर्ड गर्नुपर्छ

सुरक्षाविज्ञ तथा प्रोफेसर इन्द्रा अधिकारी पर्यटक बोलाउने र उनीहरूलाई दिने भिसा व्यवस्थामा कडाइ गर्नुपर्ने बताउँछिन्। उनका अनुसार नेपालमा पर्यटनको विकासका लागि जतिसुकै धेरै विदेशी बोलाउने भन्दै आगमन भिसा सजिलो बनाइएको छ। नेपालमा आएपछिको गतिविधिको ट्र्याक रेकर्ड गर्ने र उनीहरूको कारोबारलाई डिजिटल बनाउने हो भने समस्या कम हुने अधिकारीको तर्क छ। 
सुरक्षाविज्ञ अधिकारी भन्छिन्, ‘विभिन्न समाचार, प्रहरीको तथ्यांक हेर्दा सबै प्रकारका अपराध बढेको देखिन्छ। नेपालमा आएर अपराधमा संलग्न हुने विदेशीको संख्या पनि पक्कै बढेको देखिन्छ। संख्या बढ्यो भन्दैमा सबै सकियो भन्ने तरिकाले पनि बुझ्न भएन नि ! सुरक्षा निकायप्रति विश्वसनीयता बढ्यो। घटना रिपोर्टिङ हुन थाल्यो। अपराध नसुल्झने, अपराधी लुक्ने, नेपालमा अपराध गरेर विदेशमा भाग्ने चलन थियो। तर, अहिले प्रविधिको विकास सँगसँगै जहाँ जसले अपराध गरे पनि पक्राउ पर्ने क्रम बढ्दो छ। यो पनि त सकारात्मक पक्ष हो नि। 

पहिलेको तुलनामा जघन्य अपराध केही कम भएको बताउँदै उनले यसले गर्दा हाम्रो सुरक्षा निकाय आधुनिक र प्रविधिमैत्री, चुस्त दुरुस्त र विश्वसनीय हँुदै गएको भन्न सकिने जानकारी दिइन्। उनी भन्छिन्, अपराधीहरू कानुन र सुरक्षा निकायभन्दा एक स्टेप माथि सधैं देखिन्छन्। अपराधको संख्या यहाँमात्रै हैन हरेक देशमा बढिरहेको छ। नेपाल प्रहरीले विदेशी नागरिकको संलग्नता र आपराधिक प्रवृत्तिको विषयमा पनि संवेदनशील भएर हेर्ने गरेको छ। निष्पक्ष अनुसन्धान गर्ने गरेको छ। 

नेपाल आउन चाहने कुनै पनि विदेशी नागरिकको ट्याकरेकर्ड नहेरीकन भिसा दिने व्यवस्थाले केही अपराध बढाएको सुरक्षाविज्ञ अधिकारीको दाबी छ। उनी भन्छिन्, ‘नेपाल आएपछि कहाँ कति दिन बस्छ ? कारोबार कसरी गर्छ, कहाँ कोसँग भेट्छ ? लगायतका विषयमा भिसा दिनु अगाडि नै स्पष्ट लेखिनुपर्छ।’ 

आउन चाह्यो भने सजिलै आउन दिने र जति बस्छ बस्न दिने। पर्यटन प्रवद्र्धन गर्ने राष्ट्रिय नीतिमा कस्ता पर्यटकलाई नेपाल राख्ने र उनीहरूको गतिविधिको निगरानी कसरी गर्ने भन्ने विषयमा चर्चा भएको देखिँदैन। जुन हुन आवश्यक छ। 

सुरक्षा संयन्त्रमा राजनीति हाबी हुने भएकाले उनीहरूले निष्पक्ष अनुसन्धान गर्न सकिरहेका छैनन्। पर्यटनसम्बन्धी राष्ट्रिय नीतिमा विदेशीहरूको नियन्त्रण र निगरानीको विषयमा छलफल गर्नुपर्छ। उनीहरूलाई जतिसक्यो धेरै नेपाल बसाउनुपर्छ भन्ने मान्यता राज्यको छ। 

सुरक्षाविज्ञ इन्द्रा अधिकारी भन्छिन्, ‘नेपालले चिनियाँ नागरिकलाई अनअराइभल भिसा दिन्छ तर चीनले नेपाली व्यक्तिलाई अनअराइभल भिसा दिँदैन। यसमा दोहोरो भिसा आदानप्रदान नै उही हुन जरुरी हैन र ? हजारौं चिनियाँ नागरिक भेला भएर नेपालका विभिन्न एटीएम ह्याक गर्नु त हाम्रै कमजोरी त हो। नेपाललाई ट्रान्जिट बनाएर काठमाडांै बसेर करोडौं ठगी गर्नु पनि हाम्रौ सिस्टमको खराबी नै हो। सुरक्षा सिस्टम जति कडा हुनुपर्ने हो त्यति भएको देखिँदैन। गृह मन्त्रालयले २५ चैतमा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सर्कुलर गर्दै विदेशी नागरिकहरूको गैरकानुनी गतिविधिको निगरानी गर्न निर्देशन दिएको छ। गृहको यो निर्देशनअनुसार सबै जिल्लामा पुग्ने विदेशी नागरिकको निगरानी बढाइएको छ। गृह प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार नेपालमा बसेर गैरकानुनी कार्य गर्न कसैलाई पनि छुट छैन। स्वदेशी हुन या विदेशी सबैजना कानुनी दायरामा ल्याइने उनले बताए। 

भारतसँगको खुला सिमाना र चिनियाँ नागरिकको नेपालमा बाक्लो आगमनका कारण नेपालमा केही अपराध फस्टाएको सत्य हो। भिजिट भिसामा होस् या बिजनेस गर्ने सिलसिलामा आएका हुन् विदेशीहरू कहिले नक्कली कागजात प्रकरणमा मुछिएका हुन्छन् त कहिले आर्थिक अपराधमा संलग्न भएका हुन्छन्। केहीअघि चर्चित सिरियल किलर चाल्र्स शोभराज नेपालमै लामो समय जेल बसेर रिहा भए। 

छिमेकीसँग खुला सिमानाको कारण उताका आपराधिक प्रवृत्तिका मानिसहरू तस्करीमा संलग्न हुने, लागुऔषध, मानव बेचबिखन, अपहरण, हत्याजस्ता जघन्य अपराधमा मुछिने गरेको समाचार समयसमयमा सार्वजनिक हुन्छन्। खुला सिमानाको अपराध त शदियौंदेखि नै छ। तर, पछिल्लो समय भारतबाहेक अन्य देशका नागरिक पनि नेपाल आएर अपराध कार्यमा मुछिनु सुखद खबर हैन। सुवेदी भन्छन्, ‘महेन्द्रनगर र धनगढीका नाकाहरूबाट पछिल्ला केही समययता भारतबाट ब्राउनसुगरहरू भित्रिँदै आएका छन्। सुन तस्करीमा पनि अन्तर्राष्ट्रिय अपराधीहरू मुछिँदै आएका छन्। भारतीय र चिनियाँ नागरिक सुन तस्करीमा संलग्न हँुदै आएको बढी देखिन्छ। 

चिनियाँ नागरिकको नेपालमा बिजनेस र आगमन बढ्दै गर्दा उनीहरू केही गैरकानुनी धन्दामा पनि संलग्न भएको पाइएको छ। केही वर्षअघि नेपालका बैंैकहरूको आठ वटा एटीएम बक्सबाट आठ जना चाइनिज ह्याकरलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरू टुरिस्ट भिसामै नेपाल आएका थिए। उनीहरूले नेपालको बंैकिङ सिस्टमको कमजोर सेक्युरिटी सिस्टम ह्याक गरेर रकम लुटेका थिए। यसमा नेपाल प्रहरी ह्याकरसम्म पुगेको थियो। यसपछि यस्ता घटना दोहोरिएका छैनन्। यसपछि एकैपटक १ सय २२ जना चिनियाँ नागरिक नेपालबाट डिपोर्ट भएका थिए।

‘प्रविधिमा अपडेट हुन जरुरी छ’
उत्तमराज सुवेदी, पूर्वएआईजी

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको पूर्वप्रमुख तथा पूर्वएआईजी सुवेदीका अनुसार अन्तर्राष्ट्रिय माफियाहरूले अपराध फैलाउन सजिलो रुट खोज्ने गर्छन्। नेपालको कानुनमा भएका ससाना छिद्रहरूलाई पहिल्याउँदै उनीहरूले लागुऔषधको ट्रान्जिट हबका रूपमा काठमाडौंलाई बनाउँदै आएका छन्। यस्ता अपराधमा अफ्रिकन नागरिकहरू बढी प्रयोग हुन्छन्।  

अन्तर्राष्ट्रिय अपराधीहरूले नेपाललाई टार्गेट बनाएको त हैन। तर, नेपालको रुटबाट जान सकिन्छ है भनेर यहाँको सेक्युरिटी सिस्टमलाई कम आँटेको भने हो। अबको प्रविधिको समयमा सुरक्षा प्रदान गर्ने भनेको प्रविधि नै हो। यस विषयमा नेपालको सुरक्षा निकाय तथा अनुसन्धान गर्ने निकायहरूमा पर्याप्त स्रोतसाधन नभएकै कारण सजिलो छ। जस्तै कोही फरार मान्छेलाई एयरपोर्टमा ट्र्याकिङ गर्नुपर्‍यो उच्च प्रविधिमैत्री सिस्टम नै छैन हामीसँग। यही अवस्थामा विदेशका अन्य एयरपोर्टमा अन्तर्राष्ट्रिय स्तरमै फरार अभियुक्तहरूको फोटो सफ्टवेयरमा अपडेट गरेका हुन्छन्। 

ऊ त्यहाँ आउनासाथ संकेत बजिहाल्छ। तर यस्तो आधुनिक प्रविधि नेपालसँग छैन। टेक्नोलोजी बेस सेक्युरिटी सिस्टममा हामी गएनौं भने हाम्रो सुरक्षा चुनौती बढ्दै जान्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.