प्रश्नमा प्राध्यापकहरूको प्रतिष्ठा
प्रध्यापकहरुको विद्वता र ज्ञानको विचरण गर्ने प्राज्ञिक व्यक्तित्वहरूलाई विश्वविद्यालय वा नियामक निकायहरूको रोहबरमा प्रत्याङकृत उच्च शैक्षिक संस्थाहरूले प्रदान गर्ने उपल्लो अनि असमानान्तर आभूषण हो। प्राध्यापकहरूलाई विशिष्ठ श्रेणीको निजामती कर्मचारीसरह संवैधानिक मर्यादाक्रम दिइएको छ। विशिष्ठ श्रेणीको पद आफैंमा गौरवको विषय हो। यद्यपि प्राज्ञिक हिसाबले ज्ञान तथा अध्ययनको अपार सागर मानेर दिइने प्राध्यापक पदको महानताको शाब्दिक व्याख्या त्यति सहज छैन। कुनै काम विशेषको अनुभवमात्र नभै ज्ञानको विचरण तथा अध्ययनको क्षेत्रमा अनन्त दख्खल प्रमाणित गरेवापत प्राध्यापक बनिन्छ।
ज्ञान सदा उत्तिकै मूल्यवान् रहन्छ र कहिल्यै अवकास वा भूतपूर्व हुँदैन। ज्ञान, निष्ठा र सत्यका धरोहर प्राध्यापकहरू पनि भूतपूर्व हुँदैनन्, जीवनपर्यन्त प्राध्यापक कहलिन्छन् र सोही हिसाबले सम्बोधित हुने गर्छन्। त्यही भएर प्राध्यापकहरूको गरिमा अन्तर्राष्ट्रिय हिसाबमा समेत उच्च छ। विदेशबाट कुनै प्राध्यापक नेपाल भ्रमणमा आउँदा सम्बन्धित देशका राजदूतावासका कर्मचारीहरू उनीहरूको सम्मान र गारथीलाई सहजीकरण गर्न दिनरात खट्छन्। प्राध्यापकले कोही कुनै व्यक्ति वा विषयका बारेमा गरेको सिफारिस अथवा अन्य कुनै प्रकारका टिप्पणीहरूको बाँकी समाजलाई निकै ठूलो महत्व रहन्छ।
लेखक विला कार्थरको पुस्तक ‘द प्रोफेसर्स हाउस’मा प्राध्यापकलाई अति सम्मानित व्यक्तित्व देखाइएको छ। कुनै कुरामाथि बौद्घिक र तार्किक सत्यताको अन्तिम बुझाइ निर्माणमा प्राध्यापकहरूलाई आधार मानिन्छ। तर, हामी भने विपरीत यात्रामा छौं। हाम्रो देश नेपालमा पनि प्राध्यापकको संख्या निकै विशाल छ। अहिले लगभग एक हजार माथि प्राध्यापकहरू भएको अनुमान गरिन्छ। यद्यपि खारिएको ज्ञान र गहिरो अनुसन्धानबाट मिश्रित भएर आभूषित पद प्राध्यापकको सही मर्यादा र मानक थाम्न नसक्ने प्राध्यापकहरूको संख्या बढ्दो देखिन्छ।
प्राध्यापकको आदर र इज्जत राख्न सहयोग गर्ने विभिन्न आधारहरूमा स्वयं प्राध्यापकबाटै खिल्ली उडाउने काम हुन्छ। केही विश्वविद्यालयमा आफू विद्यावारिधि नै नगरी विद्यावारिधि गर्नेहरूलाई शोध निरीक्षण गर्नेऔगराउने प्राध्यापकहरूको संख्या पनि देखिन्छ। आफैंले प्राप्त नगरेको उपाधिमा अरूलाई सुझाउनु र निर्देशन गर्नु प्राज्ञिकताको अनावश्यक र अतिरञ्जित बढोत्तरी हो कि घोर अवमूल्यन, सायद बहस हुनुपर्छ। अहिले अधिकांश प्राध्यापक विषयको विज्ञता, सम्बन्धित क्षेत्रमा ज्ञान, अनुसन्धानको अपारता अनि देशको विकासमा उनीहरूले पुर्याउनुपर्ने योगदानभन्दा विभिन्न पार्टीका राजनीतिक गतिविधिमा संलग्न छन्।
आमविद्यार्थीलाई वैज्ञानिक र प्रायोगिक शिक्षा प्रदान गर्दै गुणस्तरीय मानव स्रोतसाधन तयार पारी देशको भविष्य समुज्वल बनाउन लाग्नुपर्ने उनीहरूको दायित्व हो। आफूहरूले नेतृत्व गरेका निकायहरू र तिनमा आबद्घ मानिसको बौद्घिकता अनि न्यायसंगत व्यवहार निर्माण गर्दै देशभर प्रशंसाको पात्र बन्नुपर्ने हो। तर, हामीकहाँ विश्वविद्यालयको नेतृत्व गरेका प्राध्यापकहरू भ्रष्टाचारको माखोमा बेरिएका भेटिन्छन् अनि पदमा नरहेकाहरूचाहिँ कुनै समय हाजिर गर्नसम्म विश्वविद्यालय पुग्ने अनि लगत्तै निजी कलेजहरूतिर दौडने गर्छन्। नाम चलेकै प्राध्यापकहरूले विद्युतीय हाजिरी मेसिन नै उखलेर फालेको, विभागभित्र हुलदंगा गरेको र छात्रामाथि दुव्र्यवहारको गरेको गाइँगुई चलेको त धेरै भएको छैन। आफू स्वयं प्राध्यापक रहेको विभागमा एउटा पनि विद्यार्थी भर्ना नभएर बन्द भएका छन्। ती विभागलाई विद्यार्थी आकर्षित हुने बनाउन नसक्ने तिनै प्राध्यापक देश नै बनाउने हवलामा आत्मरति लिँदै अरूमाथि हुर्मत लिइरहेका हुन्छन्। तर, विश्वजगत्मा प्राध्यापकको प्रतिष्ठा अनुपम र समर्पण सघन देखिन्छ।
प्राध्यापकहरू देशका गरिमा र शान हुन्। ज्ञान, सोच र विद्घताका अपार स्रोत तथा सदाकाल प्रज्वलित दिप हुन्। उनीहरूको विज्ञता र विद्घताको परिमिश्रणबाट समाजमा अग्रगमन तथा विकासका नयाँ चिन्तनहरू प्रस्फुटन हुन्छन्। आज नासाका वैज्ञानिक प्राध्यापकहरू कसरी मंगलग्रहमा मानव बस्ती बसाउने भनेर अनुसन्धान गर्दैछन् भनिन्छ। लन्डन स्कुल अफ इकोनोमिक्सका प्राध्यापकहरू समस्त युरोपको आर्थिक पुनर्जागरणलाई कसरी मजबुत गराउने भनेर नयाँ चिन्तन र विचार पर्दोषणमा व्यस्त छन्। सन् २०१६ मा कोलम्बिया विश्वविद्यालयले गरेको रिसर्च ‘प्रोफिसिङ प्यासन’को निष्कर्ष छ ‘प्राध्यापकहरू सत्य विचार निर्माणका अन्तिम र अकाट्य सारथी हुन् अनि त्यस्तो भएको देशमा विकासको रफ्तार राम्रो छ।’
ठूलो संख्यामा संस्कृत विश्वविद्यालयहरू भएको मानिने जर्मनीका केही प्राध्यापकहरूको संख्या ज्ञानको खोजमा नयाँ क्षितिज केलाउन व्यस्त छ। पूर्वीय दर्शनमा ज्ञानको विशाल भण्डार सिर्जना गरेका कौटिल्य तत्कालीन तक्षशीला विश्वविद्यालयका प्राध्यापक थिए। राज्यले सबै विषयमा अन्तिम धारणा बनाउन उनको सहयोग लिन्थ्यो। संसारका नामुद दर्शन तथा सामाजिक एवं आर्थिक परिवर्तनका सुत्रपात्र गर्नेहरू अधिकांश प्राज्ञिक पृष्ठभूमिकै छन्। संसारलाई कायपलट गर्ने सिद्घहस्त अनुसन्धान र अभिनव वा नवप्रवद्र्धनमूलक कार्यमा व्यस्त छन्।
यस किसिमका नजिरका बागजुज हाम्रा प्राध्यापकहरूचाहिँ कहिले र कस्तो आन्दोलन गर्ने, धर्नामा के हुने भन्नेमा मात्रै कार्यक्रम बनाउँछन्। केही घोषणा गरिहाले त्यो पनि आन्दोलन र विरोध वा अनशनकै मात्र हुन्छ। अब त स्थायी नियुक्तिसमेत आन्दोलनबाटै मागिँदैछ र यसका लागि अनसन चलिरहेको हुन्छ। अहिले पनि विभिन्न विश्वविद्यालयलगायत सेवा आयोगहरूमा तालाबन्दी कायमै छ। के यो बौद्घिकताको नांगो धज्जी हैन र ?
संसारमा विश्वविद्यालय वा शैक्षिक संस्थाभित्रै प्राध्यापकहरूको खुला राजनीतिक संगठन कहाँ छ ? के प्राध्यापकले कुनै राजनीतिक विचारको प्रवक्ता बन्न र आफ्नै संस्थाभित्र संगठन बनाएर राजनीतिको झन्डा बोक्न मिल्छ ? विश्वविद्यालयका पदाधिकारी नियुक्त हुने बेलामा आफ्नो योग्यता, दक्षता, विशेषज्ञता अनि कर्मशीलता जस्ता पक्षलाई आधार बनाउन छोड्दै विभिन्न पार्टीका समीपमा भएर पद लिन र सौदाबाजी गर्न नैतिकताले दिन्छ ?
आज पनि धेरै प्राध्यापकलाई समाजले उनीहरूको योगदान वा विशिष्ठ विशेषज्ञताको आधारमा चिन्ने आधार छैन। कक्षामा जाँदा अधिकांश समय कुनै दलको सदस्य वा कार्यकर्ताको रूपमा अनि उक्त दलमा पुग्दाचाहिँ प्राध्यापकको विपरीत प्रभाव प्रेषित गरेको देखिन्छ। अनि दुवै ठाँउमा असंगतपूर्ण काममात्र सम्पादन हुन्छ। आफ्नो शैक्षिक एवं प्राज्ञिक कर्तव्यमा पूर्ण सफल मानक स्थापित गरी बाँकी रहेको अलिकति समयमा राजनीतिलाई पनि शुद्धिकरण गर्न खोज्नुलाई असल नियत मान्न सकिएला। राजनीतिक दललाई समेत परार्मश दिनुलाई स्वीकार्न सकिएला। तर, सक्रिय राजनीति र शून्य प्राज्ञिक प्रवोधीकरणचाहिँ आजको रोग बन्दैछ।
अनुसन्धान प्रकाशन, सभा सम्मलेन तथा गोष्ठीमा कार्यपत्र प्रस्तुति जस्ता अनिवार्य पक्षमा पुर्नै नसकिने खाडल हुन्छ। पुस्तक लेख्ने, शोधअनुसन्धान गर्ने, समसामयिक विषयगत सशक्त विचार सम्प्रेषण गर्ने काम भएको हुँदैन। प्राज्ञिक उचाइ, असामान्य ओझ र दायरा बनेकै हुँदैन। शिक्षाको उज्यालो छरिरहेको दाबी गरिन्छ तर उज्यालो छर्न बत्ती बलेको हुनुपर्छ, बत्ती बल्न तेल थपिरहनुपर्छ भन्ने सत्य बिर्साइन्छ। प्राज्ञिकतामा पूर्ण विकर्षण र अन्य पक्षमा अनन्त आकर्षण देखिन्छ। जब विज्ञताका प्रमुख धरोहर नै अनुत्पादक बन्छन् अनि उनीहरूले ज्ञान, सीप, अनुशासन र आचरणभन्दा भाषण संस्कृतिमात्रै सिकाउनु सामान्य हो।
त्यही भएर अधिकांश हाम्रा जनशक्तिहरू काम कम र कुरा बढी गर्ने खालका छन्, बजारमा खपत हुने खालका बन्दैनन्। राजनीतिक रंगरोकन र लालसाका कारण अधिकांश प्राध्यापकहरू समस्त देश र नागरिकका सिंगो प्राज्ञिक नेतृत्व तथा उचाईका पर्यायवाची नभै विभिन्न दलका भ्रातृसंगठन बनेका छन्। अनि आमनागरिकले उनीहरूको दक्षता र विश्वनियतामाथि शंका गर्नु जायजै हुन्छ। यसरी अनेकन अपचलनको उपज प्राध्यापक पदको गरिमा निरन्तर गुम्दै गएको हो।