विश्वासको मत माग्दै
सरकारको निर्भिक र निष्पक्ष कारबाहीले जनतामा लोकतन्त्रप्रति भरोसा जागेको छ : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका कामले सुशासनको क्षेत्रमा आशा जागेको दाबी गरेका छन्। प्रतिनिधि सभाको बैठकमा चौथो पटक आज विश्वासको मत माग्दै उनले पछिल्ला दिनमा लोकतन्त्र कताकता नेतातन्त्र जस्तो देखिएपनि अहिले सुधार भएको दाबी गरेका हुन्।
प्रधानमन्त्री प्रचण्डले राजनीतिक नेतृत्व कानुनभन्दा माथि हुन नसक्ने दाबी गरे। उनले भने,‘पछिल्ला दिनमा लोकतन्त्र कताकता नेतातन्त्र जस्तो देखिँदै गएको थियो। राजनीतिक नेतृत्व कानुनभन्दा माथि भएको डरलाग्दो वैचारिकी बनिरहेको थियो । तर भुटानी शरणार्थी, ललिता निवास, सुन काण्ड, बालमन्दिर, बासबारी जग्गाकाण्डमा सरकारको निर्भिक र निष्पक्ष कारवाहीले जनतामा लोकतन्त्र र त्यसको शक्तिप्रति ठूलो भरोसा जागेको छ।’
प्रचण्डले सरकारले सबैजसो मोर्चामा सार्थक उपलब्धि र गौरव हासिल गर्दागर्दै पनि जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गरे। प्रधानमन्त्री प्रचण्डले फेरि देशमा देखिएको चुनौतीलाई सम्बोधन गर्न सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए। प्रधानमन्त्री प्रचण्डले भने,‘ सुरूदेखिको निरन्तर सहयात्राका लागि जसपा नेपालप्रति आभारी छु । सरकारलाई समर्थन वा विरोधको उसको राजनीतिक अधिकारको पनि म सम्मान गर्छु । तर राष्ट्रका चुनौतीहरूको सामना गर्न फेरि पनि मिलेर अगाडि बढ्न आग्रह गर्छु ।’
नीति तथा कार्यक्रम पेश गरिसक्नुभएको र बजेटको छलफल चलिरहेको अवस्थामा आफूले सरकारका दीर्घकालिन प्रतिबद्धताहरू सम्मानित संसदको साथ र सहयोग बिना पूरा हुन नसक्ने बताए।