‘आरोपकै आधारमा व्यक्ति केन्द्रित संसदीय समिति बनाउन हुँदैन’
टीओआर बनाउन पार्टीको उपस्थिति बाधक लाग्छ भने कार्यदलबाट बाहिरिन्छौं : रास्वपा
काठमाडौं : रास्वपाले सहकारी ठगी प्रकरण छानबिन गर्न बनाउने भनिएको संसदीय समितिको कार्यादेश तय पार्टीको उपस्थितिले रोकिएको भए छाड्न तयार रहेको बताएको छ।
सहकारी ठगी प्रकरण छानबिन गर्न आज बिहान कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको कार्यदलको बैठकमा रास्वपाका नेता शिशिर खनालले आरोपकै आधारमा व्यक्ति केन्द्रित समिति बन्न नहुने धारणा राखेका हुन्।
‘आरोपका आधारमा व्यक्ति केन्द्रित संसदीय छानबिन समिति बनाउन मिल्दैन। बनाउँदा गलत नजिर बस्छ, छानबिन समितिबाट दोषी देखिए बेग्लै कुरा हो भन्ने हाम्रो भनाई छ। उहाँहरु व्यक्ति केन्द्रित छानबिन बनाउनुपर्छ भनेर उहाँहरु लागिरहनु भएको छ।’ खनालले भने,‘कार्यदलमा हामी बस्दा अफ्ठ्यारो हुन्छ भने बस्न जरुरी छैन, हामी बाहिरिन्छौं। तपाईहरु बसेर टीओआर बनाउनुस् भनेका छौं।’
सत्ता पक्ष र विपक्षबीच लामो छलफलपछि छानबिन गर्न समिति बनाउन सहमत भएर समितिको क्षेत्राधिकार टुंगो लगाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन भएको छ। तर विभिन्न चरणमा छलफल हुँदा पनि कार्यदेशमा सहमति हुन सकेको छैन।
मूलत : कार्यदेशमा सत्ता पक्ष र प्रतिपक्षबीच उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने लगायतको नाम उल्लेख गर्ने वा नगर्ने लगायतका विषयमा सहमति हुन नसकेको हो।