हावाहुरीले बर्दियाको दुई घरमा रुख ढलेर क्षति
गुलरिया : बर्दियामा आएको हावाहुरीका कारण रुख ढल्दा दुई वटा घरमा क्षति भएको छ। सोमबार अपराह्न आएको हावाहुरीका कारण मधुवन र गुलरिया नगरपालिकाका घरमा रुख ढलेको हो।
मधुवन नगरपालिका-१ कैलाशीस्थित लक्ष्मी विकको घरमा घर नजिकै रहेको सिमलको रुख ढल्दा ब्लकले बनाएको पक्की घर क्षति भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले बताए।
गुलरिया नगरपालिका-१० स्थित नक्छेद मल्लाहको घरमा मसलाको रुख ढल्दा कच्ची घरमा क्षति पुगेको छ। हावाहुरीका कारण बढैयातालका कर्ण बहादुर विकको टाउकोमा चोट लागेको छ। सामान्य उपचारपश्चात् उनी डिस्चार्ज भएका छन्।
बढैयाताल गाउँपालिका-५ स्थित जितेन्द्र थारुको दुईवटा बाख्रा मरेका छन्। हावाले उडाएको घरको टिनको छानाबाट दुईवटा भैसी घाइते भएको छ।
हुरीका बेला भे ११ प ३२२८ नम्बरको मोटरसाइकलमा बढैयातालको भोलागौडीदेखि जाँदै गरेको सुरेश कामीले चलाएको मोटरसाइकल अनियन्त्रित भाई सोरहवा स्कुल नजिक विद्युतको पोलमा ठोकिएर मोटरसाइकलमा क्षति पुगेको उनले बताए।
हावाहुरीका कारण २५ वटा घरको टिनका छाना उठाएको छ। सबै क्षतिको तथ्यांक आएको छैन। यकिन तथ्यांकका लागि जनप्रतिनिधि र प्रहरीले संयुक्त रुपमा अनुगमन गरेको डीएसपी अर्यालको भनाइ छ।