मलाई रगत मनपर्छ
रगतसँग वीरताको गाथा हुन्छ
बरु स्वाभिमानको कथा हुन्छ।
रगतकै कथा हुन्
नालापानी, सतलज र काँगडाका कथा
केरुङ, कुती र वेत्रावती किनारका कथा।
रगतले नै लेखिएका हुन्
व्यवस्था परिवर्तनका कथा
सामाजिक न्याय र समानताका कथा
नील आकाशमुनिका मुक्तिका कथा।
रगतले कहिल्यै आस्था बेचेन
विश्वासको बगैंचामा
कहिल्यै बेइमानी रोपेन
आफ्नो मृत्युमा अरूको जीवन देख्यो
बलिदानमा देशको भविष्य देख्यो।
युग परिवर्तनपछि
चाल र रङ फेरेको रगतले होइन सत्ताले हो
आसनसँग आमाको मुटु साटेको पनि
रगतले होइन सत्ताले हो
तिमीलाई छलेर
तिम्रै औंठाछाप र दस्तखतमा तिम्रो पहिचान
बेचेको पनि रगतले होइन सत्ताले हो।
सत्ताले जस्तो रगतले
बिखण्डनका सीमारेखाहरू कोरेर
राष्ट्रियतालाई टुक्रा–टुक्रामा विभाजित गर्दैन
तल्ला घरको आँगन पुर्न
आफ्ना घरको मझेरीको माटो चढाउँदैन
भोकसँग लडिरहन्छ निरन्तर
तर सत्ताले जस्तो जिब्रोको स्वादका लागि
घाम र जून कहिल्यै बेच्दैन
त्यसैले मलाई रगत मनपर्छ
किनकि, रगतसँग सुन्दर बिहानीको गाथा हुन्छ
सबैको बगैंचामा वसन्त फुलेको कथा हुन्छ।
-नानुमैयाँ दाहाल