नेपाल–कतारका अनेक आयाम
कतारमा रहेका नेपाली, कतार र नेपाल—कतार सम्बन्धका समग्र पाटालाई मिहिन ढंगले केलाएर लेखिएको छ यो पुस्तक।
नेपालले कतार बनायो अब कतारले नेपाल बनाउनु पर्छ। इन्टरनेसनल लेवर अर्गनाइजेसन (आईएलओ) का अनुसार हाल पृथ्वीमा रहेका करिब १७ करोड ९० लाख मानिस कामका लागि बाह्य देशमा छन्। संसार साँघुरो हुँदै गएको छ। यातायात र सञ्चारको तीव्र विकास, औद्योगिकीकरण आदि कारणले गर्दा मानिस एकदेशबाट अर्को देशमा जानु सामान्य भइसकेको छ। नेपाल पनि यो सत्यताबाट अछुतो छैन।
औपचारिक रूपमा हेर्ने हो भने नेपालबाट श्रमका लागि विदेश जाने चलन सन् १८१४—१८१६ अंग्रेज युद्धपछि सुरुवात भएको देखिन्छ। सन् १९१६ मा सुगौली सन्धि भएसँगै नेपाली युवाहरूलाई बेलायती सेनामा भर्ना लिइएको थियो। आज आएर संसारका विभिन्न मुलुकमा नेपाली श्रमका लागि पुगेका छन्। नेपालले १११ देश वैदेशिक रोजगारीका लागि खुल्ला गरेको छ भने तीमध्ये केही देशसँग दुईपक्षीय श्रम सम्झौता पनि गरेको छ। देशको मुख्य अर्थतन्त्रको हिस्सा नै रेमिट्यान्स रहेको हालको अवस्थामा करिब ३५ लाख नेपाली वैदेशिक रोजगारमा छन्। तीमध्ये नेपालीका मुख्य रोजगारका गन्तव्य मध्यपूर्वका विभिन्न देश र मलेसिया नै हुन्।
यिनैमध्ये कतार हाम्रा लागि एक प्रमुख रोजगारको गन्तव्य हो। सन् १९८० को दशकबाट तराई क्षेत्रका अरबी र उर्दु भाषाका ज्ञाता एक मुस्लिम नेपाली, पूर्वी नेपालका राई थरका अर्का एकजना र धनुषाका एक मुस्लिम समुदायका व्यक्तिबाट सुरु भएको मानिएको नेपालको कतारी श्रम गन्तव्य अहिले फैलिएर लगभग चार लाख पुगिसकेको छ। यही नेपालीको सुखदुःखको सारथि रहँदै आएको कतारमा रहेर त्यहाँको सरकारको राष्ट्रिय मानवअधिकार आयोगमा परामर्शदाताका रूपमा कार्यरत डा.मोहम्मद रमजान अलि मियाँले लेखेको ‘मैले देखेको कतार’ नामक पुस्तकमा कतारमा रहेका नेपालीको सांगोपांगो अवस्था, कतारको समग्रताको वर्णन साथै नेपाल र कतार सम्बन्धका आयामहरू केलाइएको छ।
राज्यका सम्बन्धित निकायका व्यक्तिहरूले नेपालको उन्नतिमा कतारसँगको सम्बन्ध अझ विस्तार गर्न उल्लेख्य चासो र पहलकदमी नगरेको दुःखेसो उनले पोखेका छन्। उनले पुस्तकमा एउटा वाक्यांश दोहोर्याएका छन्, ‘नेपालले कतार बनायो अब कतारले नेपाल बनाउनु पर्छ।’
लेखकले यो पुस्तकलाई कतार बनाउन साझेदारी गर्ने इमानदार नेपालीको दस्तावेजको रूपमा हेरेका छन् भने यिनै हातहरूबाट आफ्नै देशको समृद्धिको परिकल्पना पनि गरेका छन्। यस पुस्तकलाई उनले कतारमा नेपाल, कतारमा कतार र नेपाल–कतार गरी मुख्य तीन खण्डमा विभाजन गरेका छन्। खण्डगत रूपमा विषयहरूलाई विभिन्न उपशीर्षक दिएर आँकडासहित प्रस्तुत गरिएकाले पाठकलाई पुस्तकका हरेक खण्डका विषय बुझ्न सजिलो छ।
कतारमा नेपाल : ‘मिनी नेपाल छ कतारमा’ उपशीर्षकबाट सुरु भएको यस खण्डमा कतारमा नेपाल र नेपालीसँग सम्बन्धित सबै पाटालाई केलाउने प्रयास गरिएको छ। पहिलोपटक कतार प्रवेश गर्ने नेपालीको जानकारीबाट यस खण्डको सुरुवात गरेका लेखकले कतारमा नेपालीले पुर्याएको योगदान, यहाँका सबै क्षेत्रमा रहेको हाम्रो उल्लेख्य उपस्थितिको चर्चा गरेका छन्।
‘कतारमा धेरै नेपाली छन् जो मरुभूमिमा पोखिएका पसिनाको मूलबाट हिमाली स्वर्गजस्ता सपनाको मखमली फूल फुलाउने प्रयास गरिरहेका छन्।’ यस वाक्यले प्राकृतिक रूपमा सम्पन्न देशका बासिन्दाले मरुभूमिको देशमा श्रम गरेर आफ्नो मुलुकलाई बनाउन गर्दै गरेको प्रयत्नलाई इंगित गरेको छ भने प्राकृतिक रूपमा सम्पन्न हामीले आफ्नो स्रोत उपयोग गर्न नसकेको व्यंग्य पनि यसमा झल्किन्छ। नेपाली आप्रवासी कामदारको बढ्दो संख्यासँगै आएका सबै पाटा जस्तै कला संस्कृति, नेपाली स्वादका रेस्टुरेन्टहरूको विस्तार, नेपालीको व्यवसायीहरूको विस्तारै बढ्दै गएको उपस्थितिजस्ता विषयलाई यस खण्डमा समेटिएको छ।
काठमाडौं कीर्तिपुरका नेपाली डाक्टर देवकाजी डंगोलले अलमहंसुर सुपर मार्केट खोलेर नेपाली व्यावसायिक पाइला कतारमा राखेको जानकारी होस् वा कतारमा नेपालीले खोलेका संघसंस्था वा कतारमा नेपालीका दुःख व्यथा तथा यहाँ नेपालीले गरेका उपलब्धि र उन्नति सबैले पुस्तकमा स्थान पाएका छन्। अनुकूलता र प्रतिकूलताबीच रहेर करिब २५ हजार नेपाली नारीले हाम्रो परिवारलाई र समग्र अर्थतन्त्रमा ऊर्जा थपिरहेको विषय पुस्तकमा चर्चा छ।
नेपाल र कतारबीच सन् १९७७ मा भएको दौत्य सम्बन्ध र त्यस यता नेपाल र कतारले क्रमशः सन् २००० मा र २०१२ एकआपसका देशमा दूतावास खडा गरेसँगै विस्तार हुँदै गएको कूटनीतिक सम्बन्धको चर्चा पुस्तकमा छ। कतार नेपालको दौत्य सम्बन्ध, व्यापारिक साझेदारीदेखि कृषि, पर्यटन उद्योगधन्दाका क्षेत्रमा हाम्रो जनशक्ति र कतारको अर्थलाई जोडेर नेपालको समृद्धिको यात्रामा कतारलाई सारथि बनाउन सकिने पनि छ। यसमा उल्लेखित नेपालीका उपलब्धिका कथाहरूले पाठकलाई खुसी तुल्याउँछ भने जेलमा रहेका नेपालीका कथा, मृत्युवरण गरेर बाकसमा फर्किएकाहरूको कथा, भिसाको समस्या, स्वास्थ्य समस्या भोगिरहेका नेपालीको अवस्थाको चित्रणले गम्भीर सोचमा पुर्याउँछ।
कतारमा रहेका नेपालीले रेमिट्यान्सको क्षेत्रमा महŒवपूर्ण योगदान पुर्याएको छर्लंगै छ। अझ हामीले अर्धदक्ष र दक्ष कामदारको संख्या बढाउन सकेमा देशले लिन सक्ने फाइदालाई लेखकले उल्लेख गरेका छन्। यसका अलावा लेखकले कतारस्थित नेपाली कूटनैतिक नियोगले आफूलाई प्रविधिगत रूपमा निखार्र्दै र जनशक्ति पनि बढाउँदै प्रवासमा रहेका नेपालीको समस्या समाधानमा तदारुकता देखाउनुपर्ने विषयमा जोड दिएका छन्।
कतारमा कतार : ‘कतारमा विश्व छ’ पहिलो अनुच्छेदमा नै यस्तो वाक्यबाट सुरुआत भएको यस खण्डमा कतारको समग्रता समेटिएको छ। त्यहाँको इतिहास, भूगोल, जनसंख्या, रहनसहन, संविधान, राष्ट्रिय परियोजनाहरू, सरकार सञ्चालन र प्रणाली, उद्योग, श्रम बजार, यहाँका आकर्षक गन्तव्यहरू आदिको चर्चाले कतार बुझ्न चाहने जो कोहीलाई पुस्तकले पर्याप्त जानकारी दिन्छ। कतारलाई छोटो समयमा समृद्धिको शिखरमा पुर्याउन योगदान गर्ने लेखकै शब्दमा ‘कतारी हिरोज’हरूको वर्णन यहाँ गरिएको छ। छोटो समयमा कतारको प्रतिव्यक्ति आएमा संसारको उत्कृष्ट पाँचभित्र सफल भएको छ।
५० हजार वर्षभन्दा बढी समयदेखि मानव बसोबास रहेको कतारमा राजनीतिक विकासक्रमको चर्चा पनि छ। यहाँको स्वास्थ्य प्रणाली, मानवअधिकार र यसको संरक्षणको विषयमा कतारले संसारभर बढाएका सहयोगी हातहरूले यो यसलाई एक अब्बल राष्ट्रको रूपमा स्थापित गर्दै लगेको छ। कतारले मोती र माछाबाट आफूलाई नै मोतीका रूपमा स्थापित गर्न सफल भएको भन्दै देशमा भएको प्राकृतिक स्रोतको उच्चतम उपयोग गर्ने र नेतृत्वमा इच्छाशक्ति भयो भने देशले समृद्धिको बाटोमा कसरी फड्को मार्न सक्छ भन्ने पनि छ।
नेपाल कतार : पुस्तकको यस खण्डमा नेपाल र कतारको सम्बन्धका बारेमा चर्चा गरिएको छ। लेखकले कतारसँगको नेपालको सम्बन्ध श्रम लिने र दिनेबाहेक हामीले हाम्रो आर्थिक समुन्नतिका लागि प्रयोग गर्नुपर्ने कुरामा जोड दिएका छन्। उनले दुई देशबीचको सम्बन्धलाई अझ विस्तार गर्दै नेपाली श्रमिकले कतारको उन्नतिका लागि योगदान गरे जस्तै नेपालले पनि कतारलाई आफ्नो विकासमा लगाउन कूटनैतिक पहल कदमी गर्नुपर्ने धारणा राखेका छन्।
नेपालको नेतृत्वदायी भूमिकामा रहेका व्यक्तिहरूले यस विषयलाई गम्भीरतापूर्वक लिएर त्यसलाई आफ्नो उन्नतिमा लगाउन पहलकदमी गर्नुपर्नेमा लेखकको जोड छ। राज्यका सम्बन्धित निकायका व्यक्तिहरूले नेपालको उन्नतिमा कतारसँगको सम्बन्ध अझ विस्तार गर्न उल्लेख्य चासो र पहलकदमी नगरेको दुःखेसो उनले पोखेका छन्। उनले पुस्तकमा एउटा वाक्यांश दोहोर्याएका छन्, ‘नेपालले कतार बनायो अब कतारले नेपाल बनाउनु पर्छ।’
कतारमा रहेका नेपाली, कतार र नेपाल—कतार सम्बन्धका समग्र पाटालाई मिहिन ढंगले केलाएर लेखिएको छ यो पुस्तक। जसले कतार नेपाल र यसका सम्बन्धहरूको बारेमा बुझ्नमात्र नभई हामीले कतारबाट के सिक्न सक्छौं र कतार नेपाल सम्बन्धलाई आफ्नो उन्नतिमा कसरी लगाउन सक्छ भन्ने खाका देखाएको छ। धेरै विषयवस्तु समेट्दा केही ठूलो (४९० पृष्ठ) हुन पुगेको यस पुस्तकलाई विषयवस्तु खण्डित गरेर फरकफरक दुई पुस्तक बनाएको भए हुन्थ्यो कि भन्ने भान पनि हुन्छ।