याह छी हमर जनकपुर

संस्कृति/सभ्यता

याह छी हमर जनकपुर
फाइल तस्बिर।

अयोध्याको राम मन्दिर दर्शन गर्न पुग्ने हरेक पर्यटकलाई जानकी मन्दिरको दर्शन गर्न आउने सहज वातावरणको निर्माण गर्न सक्नुपर्छ।

याह छी हमर जनकपुर

यी सीताके जनकपुर
यी जनक गाम जनकपुर
यी हमरा अहाँक जनकपुर !

अर्थात् यो हो हाम्रो जनकपुर, यो सीताको जनकपुर, यो जनक नगरी जनकपुर, यो तपाईं–हाम्रो जनकपुर। 

प्राचीन मिथिला तथा वर्तमान मधेस प्रदेशको राजधानी जनकपुरधाम पुराताŒिवक सम्पदा, संस्कृति, मिथिला सभ्यता र मिथिला चित्रकलाले जति धनी छ, ऐतिहासिक एवं धार्मिक गन्तव्यका दृष्टिले पनि उत्तिकै वैभवपूर्ण छ। जनकपुरधाम ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक पर्यटकीय नगरीमध्येका एक महत्त्वपूर्ण नगरी हो। धार्मिक एवं सांस्कृतिक पर्यटनको प्रचुर सम्भावना बोकेको जनकपुरधामबारे भनाइ छ,
बावन कुटी, बहत्तर कुण्ड !
फिरही सन्तजन झुन्ड ही झुन्ड !

अर्थात् ५२ कुटी ७२ कुण्डको सहर जनकपुरधाममा साधुसन्त प्रशस्त भेटिन्छन्। जनकपुरधाममा पाइलैपिच्छे विभिन्न देवीदेवताका मठमन्दिर र तालतलैया छन्। जसले जनकपुरधामलाई आकर्षक बनाएको छ। जनकपुरधाममा पाइलैपिच्छे साधुसन्त भेटिन्छन् र भेटैपिच्छे उत्साहित हुँदै भन्छन्, ‘जय सीताराम ! जय सीयाराम।’

साधुसन्तको अभिवादनले भक्तजन तथा पर्यटकमा भिन्न किसिमको उत्साह थपिदिन्छ। यी सबै कुराले जनकपुरधाम एक पवित्र धार्मिकस्थल रहेको यहाँ आउने भक्तजन र पर्यटकलाई सजिलै अनुभूत गराउँछ। यहाँको मठमन्दिरमा बिहानैदेखि गुञ्जिने मैथिली गीतसंगीत, भजन, कीर्तन तथा मन्दिरको घण्टीको र विभिन्न समयको आरतीको सुमधुर ध्वनिले भक्तजन र पर्यटकलाई मन्त्रमुग्ध बनाइदिन्छ। भक्तजन र पर्यटकको जनकपुरधाम बसाइलाई आनन्ददायी बनाइरहन्छ।

कुनै पनि राष्ट्रलाई समृद्धिको बाटोमा अगाडि बढाउन पर्यटन व्यवसायको प्रमुख हात हुन्छ। पर्यटन व्यवसायबाट देशको आर्थिक विकाससँगै ऐतिहासिक र सांस्कृतिक चिनारीलाई विश्वमाझ फैलाउन सकिन्छ। पर्यटन व्यवसाय मूल रूपले विदेशी मुद्रा आर्जन गर्ने एउटा ठूलो आधार हो। यसले स्थानीय बासिन्दाका लागि रोजगारीको अवसरसमेत सिर्जना गर्छ।

नेपालमा पर्यटनको इतिहास निकै पुरानो छ। नेपाल पर्यटन विकास र विस्तारको भरपूर सम्भावना बोकेको मुलुक हो। हिमालका चुचुरादेखि पहाडका थुप्रै थुम्कासम्म र भित्री मधेसका उपत्यकादेखि तराईका समथर फाँटसम्म सबै भूगोलमा पर्यटन विकास र विस्तारको उत्तिकै सम्भावना छ। नेपालको सबै भौगोलिक एवं राजनीतिक प्रदेशका आआफ्नै विशिष्टता छन्। मधेस प्रदेश भने ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक पर्यटनका हिसाबले महत्त्वपूर्ण छ। मधेस प्रदेशका सबै जिल्लामा ऐतिहासिक एवं धार्मिकस्थल छन् भने जनकपुरधाम ऐतिहासिक एवं धार्मिकस्थलहरूको खानीको नगरी छ। जनकपुरधाम कला र संस्कृतिका हिसाबले पनि उत्तिकै धनी छ।

जनकपुरधाम मिथिला खाना र माछाका परिकारका लागि पनि उत्तिकै प्रख्यात छ। मैथली समाजमा खानपानसम्बन्धी भनाइ छ, ‘माछ, पान आ मखान स्वर्गमे सेहो नइ भेटैत छै।’ अर्थात् माछा, पान र मखान स्वर्गमा समेत पाइँदैन। त्यस्तै मिथिलाको वर्णन गर्दै लोकप्रिय कवि सोमदेवले लेखेका छन्, ‘पगपग पोखर, माछ, मखान, सरस मधुर मुस्की मुखपान।’ अर्थात् पाइलैपिच्छे पोखरी, माछा, मखान भेटिने मिथिलामा मुस्कुराउँदै पानले स्वागत गरिन्छ।

भौतिक पूर्वाधारका हिसाबले जनकपुरधाम सुगम पर्यटकीय नगरी तथा धार्मिकस्थल हो। खासगरी हिन्दु धर्मावलम्बीको विशेष आस्थाको केन्द्र धार्मिक एवं सांस्कृतिक धरोहर, ऐतिहासिक स्थल, इतिहासका विभिन्न कालखण्ड र किंवदन्तीसँग जोडिएको सम्पदायुक्त सहर, पोखरी र मिथिला चित्रकलाको धाम हो, जनकपुरधाम। ऐतिहासिक सम्पदाको धनी जनकपुरधाम एकपटक सबैले भ्रमण गर्नै पर्ने पर्यटकीय नगरीमध्ये एक हो। जनकपुरधाम धार्मिक एवं सांस्कृतिक पर्यटनका साथै अध्ययन तथा अवलोकनको ठूलो सम्भावना बोकेको स्थल हो। जनकपुरधाम नेपालमा मात्र नभई विश्वमै परिचितस्थल छ। तर, धार्मिक र सांस्कृतिक जगमा उभिएको प्राचीन नगरी जनकपुरधामको जति प्रचारप्रसार हुनुपर्ने हो, त्यति भने हुन सकेको छैन। जनकपुरधामको महत्त्वका बारेमा प्रचारप्रसार गर्न सके विश्वका धेरै पर्यटक अध्ययन तथा अवलोकनका लागि आउनेमा कुनै शंका छैन।

मिथिला सभ्यता, मिथिला चित्रकला, मिथिलाको ऐतिहासिकतासँग जोडिएका विभिन्न आयामको पोयो खोतल्न प्रमुख बाटो हो– जनकपुरधाम। जनकपुरधाममा घुम्न सकिने र अध्ययन गर्न सकिने ठाउँको कुनै कमि छैन। रामायण, वेद, पुराण, उपनिषद्, बृहत् विष्णुपुराण र मिथिला माहात्म्यमा समेत मिथिलाको उन्नत सभ्यताबारे र जनकपुरधामलाई एउटा अति पवित्रस्थलको रूपमा व्याख्या गरिएको छ। प्राचीनकालदेखि ज्ञानविज्ञान, धर्मदर्शन, कलासांस्कृतिक क्षेत्रमा प्रसिद्धि स्थल हो, जनकपुरधाम। जनकपुरधामको चर्चा पुराण, वेद तथा धार्मिक ग्रन्थहरूमा समेत उल्लेख छ।

प्राचीनकालदेखि नै राजर्षि जनक, जगदम्बा जानकी एवं विभिन्न विद्वान्, ऋषिमुनिहरूको तपोभूमिको रूपमा जनकपुरधाम विश्वमा प्रसिद्ध छ। जनकपुरधाम प्राचीन कालमा नै विद्वान, व्यापारी, कलाकार, शिक्षक, कवि आदिको केन्द्र थियो। सबैभन्दा ठूलो धार्मिक पर्यटन केन्द्रको रूपमा जनकपुरधामलाई लिने गरिन्थ्यो।

हुन पनि जनकपुरधाम तीन शब्द मिलेर बनेको छ जसले जनक भनेको पिता, पुर भनेको नगर तथा धाम भनेको देव भूमिलाई दर्शाउँछ। यसबाट के बुझ्न सकिन्छ भने जनकपुरधाम प्राचीनकालदेखि नै पर्यटन क्षेत्रको उत्पत्ति स्थल हो। आज जस्तो सडक मार्ग, रेल मार्ग तथा हवाई मार्गको विकास भई नसकेको भए पनि जनकपुरधामसँग विभिन्न धार्मिक, सांस्कृतिक नगरीहरूको सम्बन्ध राम्रो रहेकाले एक नगरबाट अर्को नगरसम्म आवतजावत गर्ने राम्रै बाटो–घाटो रहेको अनुमान गर्न सकिन्छ।

वर्तमान समयको जनकपुरधाम नेपालको एउटा विकसित नगरको रूपमा स्थापित छ। आजको जनकपुरधाम विश्व जगत्सँग जोडिएको छ। जनकपुरधामसम्म आवतजावत गर्न सडकमार्ग, रेलमार्ग तथा हवाईमार्गको सेवा उपलब्ध छ। यहाँ तीर्थयात्रीहरूको आवतजावतमा निकै वृद्धि भएको छ। तर, जनकपुरधाममा आउने तीर्थयात्रीलाई पर्यटकका रूपमा बदलिन नसक्दा जनकपुरधामको पर्यटन प्रवद्र्धन हुन सकेको छैन। जनकपुरधामलाई धेरै दिन बस्ने र पैसा खर्च गर्ने पर्यटक चाहिएको छ।

पर्यटन उद्योगको विकास गर्न तथा विश्वका पर्यटकहरूको ध्यान तान्न सर्वप्रथम पूर्वाधार खडा गर्न जरुरी छ। दोस्रो पर्यटकहरूको जनकपुरधामको बसाइ र भ्रमणलाई कसरी लम्ब्याउन र सजिलो बनाउन सकिन्छ भन्ने योजना र रणनीति बनाउन जरुरी छ। जनकपुरधामको पर्यटन प्रवद्र्धन गर्न सरोकारवालाले गृहकार्य गर्नुपर्ने देखिन्छ।

जनकपुरधामलाई खासमा दुई पाटोमा हेर्नुपर्ने हुन्छ। पहिलो प्राचीन जनकपुरधाम दोस्रो आधुनिक जनकपुरधाम। प्राचीन जनकपुरधाम जनकको नगरी, मिथिलाको राजधानी एवं सीताको जन्मभूमिको रूपमा इतिहासमा प्रख्यात छ। मिथिलाको राजा जनकको नामबाट नामकरण भएको जनकपुरधाम जनक वंशको कुशल तथा विद्वान् राजाहरूद्वारा शासित थियो।

जनकपुरधाम हिन्दु धर्मावलम्बीका लागि प्राचीनकालमा पनि एउटा पवित्र तीर्थस्थल एवं धामको रूपमा विश्वविख्यात थियो। विश्वका विभिन्न ठाउँका मानिस जनकपुरधाममा शिक्षा आर्जन गर्न आउँथे, शिक्षित भएपछि स्वदेश फर्कन्थे। त्यसबेला पनि जनकपुरधाम एउटा पर्यटकीय स्थलको रूपमा विश्वप्रसिद्ध थियो। आधुनिक जनकपुरधाम एउटा विशेषधाम तथा स्थानीय एवं प्रादेशिक शासनका केन्द्रको रूपमा मात्र सीमित हुन पुगेको छ। यहाँ पर्यटकको आवतजावतमा निकै वृद्धि भएको छ। अहिले हिन्दुमात्रै होइन, अन्य धर्मावलम्बीसमेत जनकपुरधाममा आएर पवित्र हुन चाहन्छन्। आधुनिक जनकपुरधामको खोजीको श्रेय महात्मा शूरकिशोर दास वैष्णवलाई जान्छ।

पछि अन्य सन्त महन्थले जनकपुरधामको विकासमा इटा थप्दै आए। आधुनिक जनकपुरधाम अहिलेसम्म पनि व्यवस्थित सहरको रूपमा विकसित हुन सकेको छैन। न त यहाँ रहेका मठमन्दिर, तालतलैया र मार्गहरूको सौन्दर्यीकरण नै हुन सकेको छ। जनकपुरधामको वैभव फर्काएर गौरवशाली इतिहासलाई वर्तमानमा परिणत गर्न सक्नु नै आधुनिक जनकपुरधामका लागि प्रमुख चुनौती छ।

  • हुन त जनकपुरधाम सम्पदा पथ (मार्ग) सीमांकन खाका प्रतिवेदन, २०७८ मा जनकपुरधामका सम्पदाहरूसँग नजिक हुन जम्मा नौवटा करिडोरमा बाँडेर भ्रमण पथलाई सजिलो बनाइएको छ। ती नौवटै करिडोरको मूल केन्द्र जानकी चौकलाई निश्चित गरिएको छ।
  • जनकपुरधाममा राम जन्मको अवसरमा हरेक चैत्रमा रामनवमी, वैशाखमा जानकी नवमी, मंसिरमा रामजानकी विवाह महोत्सव, असोज पूर्णिमामा कोजाग्रत, साउन—भदौमा झुला महोत्सव र होली पर्व पहिलेको १५ दिन मिथिला माध्यमिकी परिक्रमा मनाइन्छ।

जनकपुरधाममा प्राचीन कालका अवशेष अहिले मूलरूपले पोखरी, तलाउ, कुण्ड, कुप, कुटी तथा केही मार्गहरूलाई लिन सकिन्छ। यिनको महत्त्वका बारेमा ‘रामायण’लगायत विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ। धार्मिक ऐतिहासिक महत्त्व बोकेका कुटी तथा पोखरी झन्डै आधि जति अस्तित्वमा छैनन् भने मठमन्दिर जीर्ण बन्दै गएको छ। बाँकी धेरैजसो दिनप्रतिदिन अतिक्रमणको चपेटामा पर्दै गएका छन् भने पछिल्लो समयमा सरसफाइको प्रयास भए पनि पूर्णरूपमा सरसफाइ हुन सकेको छैन।

तसर्थ यसको मौलिकता जोगाउँदै यस क्षेत्रको सौन्दर्यीकरण गर्न सके जनकपुरधाम विश्वभरिका पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्न सक्नेमा कुनै शंका छैन। पोखरीका डिल र सडकको दायाँबायाँ बोटबिरुवाको वृक्षरोपण गरी हरियो जनकपुरधाम बनाउनुपर्ने खाँचो छ। जनकपुरधाम जबसम्म विश्व सम्पदा सूचीमा सूचीकृत हुँदैन, तबसम्म विश्वका पर्यटकलाई तान्न कठिन छ।

तसर्थ सर्वप्रथम जनकपुरधामलाई विश्व सूचीमा सूचीकृत गराउने प्रयास गरिनुपर्छ। साथै यहाँको मठमन्दिर र तालतलैयाको उचित संरक्षण तथा सरसफाइ र मिथिला संस्कृतिबारे जानकारी दिने व्यवस्था मिलाई जनकपुरधामको पर्यटन प्रवद्र्धन गर्न सकिन्छ। धार्मिक पर्यटकका लागि जनकपुरधाम पशुपतिपछिको दोस्रो ठूलो केन्द्र हो।

जनकपुरधाममा रहेको पुराना राम मन्दिर, नौलखाका रूपमा परिचित जानकी मन्दिर, जनक मन्दिर, राजदेवी मन्दिर, गंगासागर तथा आरती, शिव मन्दिर, संकटमोचन मन्दिर, स्वर्गद्वारी, रामजानकी विवाहमण्डप, मणि मण्डप, धनुषाधाम, कपिलेश्वर मन्दिर, कुपेश्वरनाथ महादेव, हनुमानगढी मन्दिर, दूधमती नदी, धनुष सागर, अंगराज सर, दशरथ सर, महाराज सर, अग्निकुण्ड, विहारकुण्ड, ज्ञानकुप कुटी, धनुषसागर, रत्नसागर, गोडधोईलगायत दर्जनौं मठमन्दिर र तालतलैया छन्।

तर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक आउँदा जनकपुरधामको भ्रमण कहाँबाट सुरु गर्ने र कहाँ अन्त गर्ने थाहा पाउँदैनन्। न त यहाँ पर्यटक घुमाउने पर्यटक गाइड नै पर्याप्त छन्। पर्यटक आफैं ठाउँ खोज्दै र भौतारिँदै हिँड्नुपर्ने बाध्यता छ। पर्यटकका नजिकका साथी अटोरिक्सा र तिनका चालक हुन्। पर्यटकलाई गन्तव्यमा पु¥याउनेदेखि जनकपुरधामको भ्रमण गराउने काम चालकहरूले नै गर्दै आएका छन्।

उचित जानकारीको अभावमा पर्यटकहरू जानकी मन्दिरको मात्रै दर्शन गरी फर्किने गरेका छन्। यहाँ रहेका अन्य ठाउँबारे पर्यटकले थाहै पाउँदैनन्। व्यावसायिक पर्यटक गाइडको अभावमा जनकपुरधामको बारेमा विस्तृत र वास्तविक जानकारी प्राप्त गर्न सकेका छैनन् पर्यटकले। अधुरो जानकारीले जनकपुरधामको इतिहास र जीवनशैलीबारे गलत बुझाइ पनि प्रवाह हुने गरेको छ।

हुन त जनकपुरधाम सम्पदा पथ (मार्ग) सीमांकन खाका प्रतिवेदन, २०७८ मा जनकपुरधामका सम्पदाहरूसँग नजिक हुन जम्मा नौवटा करिडोरमा बाँडेर भ्रमण पथलाई सजिलो बनाइएको छ। ती नौवटै करिडोरको मूल केन्द्र जानकी चौकलाई निश्चित गरिएको छ। तर, यसबारे पर्यटकलाई जानकारी गराउने पर्याप्त पर्यटन सूचना केन्द्रहरूको अभाव छ।

जनकपुरधाममा राम जन्मको अवसरमा हरेक चैत्रमा रामनवमी, वैशाखमा जानकी नवमी, मंसिरमा रामजानकी विवाह महोत्सव, असोज पूर्णिमामा कोजाग्रत, साउन—भदौमा झुला महोत्सव र होली पर्व पहिलेको १५ दिन मिथिला माध्यमिकी परिक्रमा मनाइन्छ। यहाँ प्रत्येक पूर्णिमामा हजारौं श्रद्धालु भक्तजन सहभागी हुन्छन्। त्यस्तै दसैं, दीपावली र छठ पर्वलगायतका चाडपर्वमा जनकपुरधामलाई बेहुली झैं सिँगारिन्छ। जनकपुरधामका सम्पूर्ण धार्मिक महत्त्व बोकेका स्थल, मठमन्दिर, तालतलैया र कुटीहरूलाई विद्युतीय प्रचारप्रसारमा राख्न जरुरी छ। जनकपुरधाममा एउटा ठूलो धार्मिक संग्रहालयको निर्माण गर्न अत्यन्त जरुरी छ। यी सबै ऐतिहासिक तथा सांस्कृतिक धरोहरहरूलाई इन्टरनेटमा राखेर विश्व सामुन्ने पु¥याउनुपर्ने आवश्यकता छ।

मिथिला संस्कृतिको महत्त्वपूर्ण पक्ष लोकगीत, लोकनृत्य, मिथिला चित्रकला आदिको प्रचारप्रसार गर्न सके सबै पर्यटकलाई आकर्षित गर्न सकिन्छ। जनकपुरधाम विवाह भूमि तथा आदर्श भूमिका रूपमा स्थापित भएकाले विवाहमा गन्तव्यको रूपमा समेत विकसित गर्न सकिन्छ। खासमा अयोध्याको राम मन्दिर दर्शन गर्न पुग्ने पर्यटकलाई जानकीको दर्शन गर्न आउने सहज वातावरणको निर्माण गर्न सक्नुपर्छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.