चिन्न सके ‘कालो सुन’ हो टिमुर

लुम्बिनीमा टिमुर सम्मेलन

चिन्न सके ‘कालो सुन’ हो टिमुर

बुटवल : स्वास्थ्यका हिसावले महत्वपूर्ण जडीबुटीको रूपमा लिइने टिमुरको बजारीकरणका लागि लुम्बिनी प्रदेश सरकारले शनिबार दाङको लमहीमा ‘टिमुर सम्मेलन’ ग¥यो। पहिलोपटक गरिएको टिमुर सम्मेलनमा सहभागी किसान, व्यवसायी, स्थानीय तहका जनप्रतिनिधि, प्रदेश सरकारका मन्त्रीदेखि सचिवहरू उत्सुकताका साथ छलफलमा सहभागी भए। 

सहभागी सबैको एउटै स्वर थियो, ‘टिमुरको बजारीकरणमा अब नीतिगत निर्णय र बजेट विनियोजन गर्नैपर्छ।’ वनस्पति विभागको तथ्यांकअनुसार नेपालमा ३३ थरीका विभिन्न जडीबुटीहरू पाइन्छन्। त्यसमध्येको एउटा महत्वपूर्ण जडीबुटीको रूपमा टिमुरलाई विभागले सूचीकरणसमेत गरेको छ। तर, टिमुरको महत्वलाई राम्रोसँग नचिन्दा यो जडीबुटी ओझेलमा परेको निष्कर्ष सम्मेलनबाट निकालियो। 

लुम्बिनी प्रदेश टिमुर खेती हुनेमा देशकै अग्रणी प्रदेशमा पर्छ। लुम्बिनीका पहाडी जिल्लाहरू प्यूठान, गुल्मी, अर्घाखाँची, रोल्पा, पाल्पा, पूर्वीरुकुम र दाङमा टिमुर खेतीको उच्च सम्भावना छ। यहाँका कतिपय किसानहरूले व्यावसायिक रूपमै यसको खेतीसमेत गर्दै आएका छन्। 

 प्रदेशमा टिमुर उत्पादन, निर्यातलगायतको एकिन तथ्यांक भने कुनै पनि निकायले राखेका छैनन्। तर, सम्बन्धित जिल्लाका डिभिजन वन कार्यालयहरूले दिएको छुटपुर्जीलाई आधार मान्ने हो भने लुम्बिनी प्रदेशबाट हालसम्म १ लाख ४४ हजार ६ सय ७६ किलो टिमुर निकासी भएको वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशका सचिव मोहनराज काफ्लेले बताएका छन्। यसबाहेक बाहिरको संयन्त्रबाट पनि टिमुर विदेश निर्यात हुने गरेको उनको भनाइ छ। 

‘टिमुरलाई कालो सुनको रूपमा पनि जोडेर हेर्ने गरिन्छ’, काफ्लेले भने, ‘हामीले टिमुरलाई नचिन्दा कति सित्तैमा, कम पैसामा र कति त यत्तिकै खेर फालिरहेका छौं। सजिलै प्रतिफल लिन सकिने भएकाले यसको व्यावसायिक खेतीमा जोड गर्नुपर्छ।’ उनले लुम्बिनी प्रदेश टिमुर खेतीका लागि अत्यन्तै सम्भावना भएको क्षेत्र भएकाले प्रदेशलाई ‘टिमुर हब’ बनाउने गरी योजना ल्याउने सामूहिक प्रतिबद्धता जनाइएको बताए। पछिल्लो समय विभिन्न कृषिजन्य उत्पादनहरू जंगली जनावरको चपेटमा परेकाले टिमुरखेतीमा त्यस्तो समस्यासमेत हुँदैन। 

टिमुरको के छ फाइदा ?

स्वास्थ्यका दृष्टिकोणले टिमुरको बहुउपयोगी फाइदा छन्। मसलाको रूपमा प्रयोग गरिने यसलाई विष काट्ने काममा पनि प्रयोग गरिन्छ। टिमुरको प्रयोग गरेर जैविक विषादीको समेत प्रयोग हुन्छ। टिमुरको फल, फूल, बोक्रा जस्ता सबै भागलाई मन्जन र अन्य उत्पान बनाउनसमेत प्रयोग गरिन्छ। आयुर्वेद प्रणालीअनुसार ज्वरो, हैजा, दाँत दुखेको समस्या हटाउनसमेत यसको प्रयोग हुने विज्ञहरू बताउँछन्। यो शरीरलाई ऊर्जा र ताकत दिने उत्पादनको महत्वपूर्ण जडीबुटीसमेत हो। टिमुर जाडो मौसममा अझ बढी लाभदायी हुन्छ। हाडजोर्नी दुख्ने, पेट दुख्दा, आँखाको दृष्टि कम भएका, न्यून रक्तचाप र फसफोरसको मात्रा हुने भएकाले हाडजोर्नी मजबुद बनाउनसमेत यसको फाइदा छ। क्यान्सर जस्तो प्राणघातक रोगको सम्भावना कम गर्न पनि टिमुर उपयोगी हुने विज्ञहरू बताउँछन्।

एक हेक्टर क्षेत्रफल जग्गामा खेती गरिएको टिमुर पाँच वर्षमा कम्तीमा तीन गुणा उत्पादन हुने गर्छ। जर्मन प्राविधिक सहयोग (जीटीजेट) ले सन् २००४ मा गरेको एक अध्ययनअनुसार काठमाडांैमा मात्र वार्षिक चार हजार किलो टिमुर खपत हुने गर्दथ्यो। टिमुरखेती गर्ने किसानहरूलाई प्रोत्साहन नगर्दा किसानहरूको आकर्षणमा कमी हुँदै गएको पाइएको छ। 

अध्ययनअनुसार नेपालमा वार्षिक ८ सय ५० देखि १ हजार १ सय टनसम्म टिमुर उत्पादन हुन्छ। विश्वकै उच्च गुणस्तरको टिमुर नेपालमा पाइन्छ। देश–विदेशमै राम्रो बजार भएको टिमुरको प्रवद्र्धनका लागि सरोकारवाला निकायले चासो नदिँदा यो क्षेत्र ओझेलमा परेको निष्कर्ष टिमुर सम्मेलनबाट समेत निकालिएको छ। 

रोल्पाको माडी गाउँपालिकाकी किसान बन्दना घर्तीले सरकारको झन्झेटिलो नीतिका कारण किसानहरू व्यावसायिक जडीबुटी खेतीमा आकर्षित नभएको गुनासो गरिन्। ‘किसानले खेती किन गर्ने ? सबैभन्दा पहिले किसानमैत्री नीति बनाउनुपर्छ’, उनले भनिन्, ‘दुई किलो टिमुरको पनि छुटपुर्जी बनाउनुपर्छ। राजस्व तिरेर किनेको सामान बिल काटेर व्यापार किन नगर्ने ?’

गौमुखी गाउँपालिका–५ खुङका ३८ वर्षीय रेशम कुवँरले टिमुर बिक्री वितरण गर्न थालेको वर्षांै भइसक्यो। उनले वार्षिक ७० देखि ८० लाख रुपैयाँ बराबरको टिमुर बिक्री गर्छन्। पुनम मसला उद्योगमार्फत ब्रान्डिङ गरेको उनको टिमुर प्युठानसहित देशका विभिन्न सहरमा पुग्छ। ‘जिल्लाका सबै गाउँका किसानहरूको टिमुर खरिद गर्छु’, कुँवरले भने, ‘बजार राम्रो छ। चिन्ता गर्नुपर्दैन्। तर, सरकारको स्पष्ट नीति र किसानलाई प्रोत्साहन छैन।’ मूल्यमा एकरूपता नहुँदा समस्या हुने गरेको समेत उनले सुनाए। ग्रेडिङ गरेको टिमुर प्रतिकिलो एक हजार रुपैयाँ र ग्रेडिङ नगरेकोलाई पाँच सय, सात रुपैयाँसम्म बिक्री गर्ने गरेको उनले सुनाए।

देशमै पहिलोपटक लुम्बिनी प्रदेशमा गरिएको टिमुर सम्मेलनले उत्साहित बनाएको रिब्दीकोट गाउँपालिका पाल्पाका अध्यक्ष नारायणबहादुर कार्कीले प्रतिक्रिया दिए। ‘टिमुर बहुउपयोगी हो तर यतिधेरै महत्व रहेछ भन्ने कुरा यहाँ आएर मात्र थाहा पाए’, कार्कीले भने, ‘हाम्रो गाउँपालिकाका पाँचवटा वडाहरू टिमुरडाँडा भनेर चिनिन्छन्।’ दुई घरिपरिवारले टिमुर बेचेरै जीविकोपार्जन गरेको समेत उनले सुनाए। कार्कीले गाउँपालिकाभरि १० लाख रुपैयाँको टिमुर लगाइएको र १० करोड रुपैयाँ बराबरको उत्पादन हुने अनुमान गरिएको प्रतिक्रिया दिए। 

लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री अर्जुनकुमार केसीले विभिन्न जडीबुटीसहित टिमुर खेतीमा हुने गरेका कानुनी बाधा अड्चनहरूलाई सहज बनाउने प्रतिबद्धता जनाएका छन्। ‘गैरसरकारी संस्थाहरूले प्रदान गर्ने कार्यक्रमहरू तार्किक निष्कर्षमा नपु¥याउने र बीचमै छाड्ने गरेको देखिन्छ’, केसीले भने, ‘हाम्रा सिकाईहरू अपुरो नहुने गरी योजना ल्याउनुपर्ने छ।’ कृषिमन्त्री भण्डारीलाल ऐरले कृषि क्षेत्रमा हुने कार्यक्रमलाई भाषणमा मात्र सीमित नराखेर प्रतिफल दिने गरी अघि बढ्नेसमेत आश्वासन दिए। 

कार्यक्रममा सहभागी कृषि, वन तथा वातावरण, प्रदेश योजना आयोग, सहकारी मन्त्री, सचिव, स्थानीय तहका जनप्रतिनिधिहरूसहित खाद्य तथा कृषि संगठन (एफएओ) लगायतले आगामी वर्षका लागि प्रस्तुत गरिने वार्षिक नीति, कार्यक्रम र बजेटमा टिमुरखेतीलाई उच्च प्राथमिकता दिने सामूहिक प्रतिबद्धता जनाएका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.