थोरङ भन्ज्याङको खोंचमा फसेका पर्यटकको सकुशल उद्धार
![थोरङ भन्ज्याङको खोंचमा फसेका पर्यटकको सकुशल उद्धार](https://annapurnapost.prixacdn.net/media/albums/uddar_IxfvVyPj9x_lHCVEeUd9c.jpg)
जोमसोम : मनाङ र मुस्ताङको सिमाना थोरङ भन्ज्याङको ड्रम्प क्याम्प खोंचमा फसेका एक जना नेपाली पर्यटकलाई शनिबार मुस्ताङ प्रहरीद्वारा उद्धार गरिएको छ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङको समन्वयमा ईलाका प्रहरी कार्यालय मुक्तिनाथबाट खटिगएको २ जना प्रहरी टोलीले कास्कीको पोखरा घर भइ अमेरिका बस्ने ४५ वर्षीय सुदिप सुवेदीलाई सकुशल उद्धार गरेको हो।
लमजुङको बेसी सहरदेखि मनाङ हुँदै मुस्ताङतर्फ आउँदै गर्दा गन्तब्य पहिल्याउन नसकी थोरङ भन्ज्याङको ड्रम्प क्याम्प नजिकैको खोंचमा फसेर अलपत्र परेका सुवेदीलाई उद्धार गर्न ईलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक गिरुप्रसाद पौडेलको २ जना प्रहरी टोली १५ किमी उकालो हिडेर त्यहाँ पुगेको मुस्ताङका डिएसपी भोजराज पाण्डेयले जानकारी दिए।
राउण्ड अन्नपूर्ण चक्रिय पदमार्ग अन्तर्गत मनाङ हुँदै उनी एक्लै मुस्ताङतर्फ आउँदै गर्दा साँझ साँढे ६ बजे ड्रम्प क्याम्पको खोंचमा अलपत्र परेका थिए। सुवेदी अलपत्र परेको सूचना पाएपछि प्रहरीले राति साँढे ८ बजे त्यहाँबाट सकुशल उद्धार गरेको डिएसपी पाण्डेयले बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)