बाग्लुङका १० पालिकाको बेरुजु साढे ३४ करोड
बागलुङ : बाग्लुङ जिल्लाका १० स्थानीय तहमा आर्थिक वर्ष २०७९÷८० मा ३४ करोड ४२ लाख रुपैयाँ बढी बेरुजु देखिएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१औं वार्षिक प्रतिवेदनअनुसार बाग्लुङका १० स्थानीय तहमा ३४ करोड ४२ लाख २५ हजार रुपैयाँ बेरुजु देखिएको हो।
बजेट अनुपातका आधारमा बाग्लुङमा सबैभन्दा बढी रकम बेरुजु निसीखोला गाउँपालिका (७.६३ प्रतिशत) र सबैभन्दा कम बेरुजु बरेङ गाउँपालिकामा (०.७१ प्रतिशत) देखिएको छ। निसीखोला गाउँपालिकाको १ अर्ब १ करोड १३ लाख २२ हजार रुपैयाँको लेखापरीक्षण गरेकोमा ७ करोड ७२ लाख ३ हजार रुपैयाँ बेरुजु देखिएको छ। यस्तै बरेङ गाउँपालिकाको ७६ करोड ३३ लाख ८१ हजार रुपैयाँ लेखापरीक्षण गरेकोमा ५४ लाख १८ हजार रुपैयाँ मात्र बेरुजु देखिएको छ।
महालेखाको प्रतिवेदनअनुसार बाग्लुङ नगरपालिकाको २ अर्ब ९० करोड १७ लाख २१ हजार रुपैयाँ लेखापरीक्षण गर्दा ५ करोड ३४ लाख ८४ हजार रुपैयाँ, गलकोट नगरपालिकाको १ अर्ब ३३ करोड ३६ लाख ४८ हजार रुपैयाँ लेखापरीक्षण गर्दा २ करोड १ लाख ८६ हजार रुपैयाँ, जैमिनी नगरपालिकाको १ अर्ब ८२ करोड २७ लाख ५९ हजार रुपैयाँ लेखापरीक्षण गर्दा १ करोड ३४ लाख १९ हजार र ढोरपाटन नगरपालिकाको १ अर्ब ८ करोड ५२ करोड १७ हजार रुपैयाँ लेखापरीक्षण गर्दा २ करोड ३४ लाख ३२ हजार रुपैयाँ बेरुजु रहेको छ।
यस्तै काठेखोला गाउँपालिकाको १ अर्ब ५६ करोड २५ लाख ३७ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ५ करोड ७७ लाख १९ हजार रुपैयाँ, तमानखोला गाउँपालिकाको ५९ करोड ३६ लाख ८५ हजार रुपैयाँको लेखापरीक्षण गर्दा १ करोड १९ लाख ५१ हजार रुपैयाँ, ताराखोला गाउँपालिकाको ८८ करोड ५१ लाख ३० हजार रुपैयाँको लेखापरीक्षण गर्दा ६ करोड ३२ लाख ३५ हजार रुपैयाँ र बडिगाड गाउँपालिकाको १ अर्ब ३५ करोड ८८ लाख ७० हजार रुपैयाँको लेखापरीक्षण गर्दा १ करोड ८१ लाख ६८ हजार रुपैयाँ बेरुजु छ ।