सिम्रिकले ल्यायो कैलाश मानसरोवर यात्रा प्याकेज, छोटो दूरीसँगै बैंक किस्ताको सुविधा
काठमाडौं : चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको कैलाश मानसरोवरको यात्रा अब ६ दिनमा नै तय गर्न सकिने भएको छ। नेपालगञ्जबाट सुरु गरिने यात्रा कैलाश दर्शन गरेर ६ दिनमा पुनः नेपालगञ्जमा फर्किने गरी सिम्रिक एयरले प्याकेज ल्याएको हो।
कोभिडपछि बन्द गराइएको कैलाश यात्रा चीनले पुनः सुचारु गरेसँगै यो प्याकेज ल्याइएको बताइएको छ। भारतीय पर्यटकलाई गराइरहेको यो यात्रा अब नेपालीहरूको लागि सुरु गरिएको सिम्रिकले बताएको छ। चीनले भारतीय पर्यटकका लागि भिसा नखुलाएकाले कैलाश यात्राका लागि नेपाली पर्यटक लक्षित कार्यक्रम ल्याइएको बताइएको छ।
हिन्दू धर्मालम्बीहरूको पवित्र तिर्थस्थल कैलाशसम्मको यात्रालाई सहज र सुखद बनाउनेगरी व्यवस्थापन गरिएको सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशी बताउँछन्। नेपाली तिर्थालुहरूलाई नै लक्षित गर्दै यो प्याकेज ल्याइएको उनले बताए। सिम्रिकले असार १० गते (जुन २४) यो प्याकेज सुरु गर्दैछ। यसका लागि जेठ २३ (जुन ५) सम्म बुकिङ गराइसक्नु पर्ने जानकारी दिइएको छ। प्रत्येक प्याकेजमा १५ जनालाई लिएर जाने बताइएको छ। जुनदेखि अगष्टसम्म ३ महिना हुने मानसरोवर यात्रा प्याकेजमा करिब ५ सय जनालाई पुर्याउने लक्ष्य सिम्रिकको छ।
सिम्रिक एयरले मानसरोवर यात्रालाई समन्वय गर्दै विभिन्न स्थानीय होटल, टुर गाइड अन्य संस्थहरूसँग सहकार्य गरेको छ। नेपालगञ्जदेखि कैलाशसम्मको यात्रा खर्च २ लाख ५० हजार निर्धारण गरिएको छ। उक्त रकममा चिनको भिसा शुल्कदेखि खाना र बासस्थानसँगै सम्पूर्ण यात्रा खर्च व्यहोरिने छ। यात्रापूर्व १५ दिनअघि नै चीनको भिसाका लागि आवेदन दिनुपर्ने हुन्छ। यसको व्यवस्था सिम्रिम एयरले नै गर्छ। बुकिङका लागि सुरुमा ५० हजार रुपैयाँ बुझाउनुपर्ने हुन्छ।
कसरी जाने मानसरोवर?
सिम्रिक एयरको प्याकेजअनुसार देशको कुनै पनि कुनाबाट नेपालगञ्जसम्म पुग्नुपर्ने हुन्छ। कैलाश जानका लागि नेपालगञ्जबाट नै छोटो पर्ने हुँदा यसलाई बेसलाइन मानिएको बताइन्छ। नेपालगञ्जमा डाइमन्ड प्यालेस होटलसँग सहकार्य गरिएको छ। उक्त होटलमा भएको ट्राभल डेस्कले यात्राको बारेमा सम्पूर्ण जानकारी प्रदान गर्ने छ। एक रात त्यहाँ बसेपछि अघिल्लो दिन जहाजबाट सिमिकोटसम्म पुर्याइन्छ। सिम्रिकले तारा र समिट एयरसँग उक्त उडानका लागि सहकार्य गरेको छ। ४० देखि ४५ मिनेटको दूरीमा नेपालगञ्ज विमानस्थलबाट सिमिकोट विमानस्थल अवतरण हुने गरेको छ। सिमिकोटमा रहेको विजय होटलसँग मानसरोवर प्याकेजका लागि समन्वय गरिएको छ।
त्यो रात विजय होटलमा नै खानाको व्यवस्था हुन्छ। ३ हजार मिटरको उचाइमा अवस्थित सिमिकोटमा एक रात बिताएपछि भोलिपल्ट सिम्रिक एयरको हेलिकप्टरले हिल्सासम्म पुर्याउने काम गर्छ। करिब २०-२२ मिनेटमा नेपाल र चीनको सीमा क्षेत्र हिल्सा पुगिन्छ। हिल्सामा पुगेपछि नेपाली एजेन्ट सनराइज कैलाश ट्राभलले अध्यागमनको प्रक्रिया पूरा गर्छ। उक्त प्रक्रिया सकिएपछि त्यहाँबाट पर्यटक बसमा २७ किलोमिटर पर रहेको ताक्लाकोटमा लगिन्छ। त्यहाँ नेपाली खानाको नै व्यवस्था गरिने बताइएको छ। यात्राको पाँचौं दिन विहान धार्मिकस्थल कैलाश पुर्याइन्छ। ताक्लाकोटबाट मानसरोवरसम्मको बसयात्रा करिब डेढ घन्टा हुने भनिएको छ।
मानसरोवर पुगेपछि नुहाउने, दर्शन गर्नेलगायतका काम गर्न सकिन्छ। करिब ९८ किलोमिटरको मानसरोवर ताल करिब ३ घन्टामा बसबाट नै घुमाइने प्याकेजमा समावेश गरिएको छ। ताल परिक्रममापछि करिब २५ देखि ३० किलोमिटर पर यमद्वार (करिब ५ हजार मिटरमा अवस्थित) छ, जहाँबाट कैशाश पवर्तको स्पष्ट र नजिकबाट दर्शन हुन्छ। यमद्वारसम्म तीर्थालु यात्रुलाई लगिने सिम्रिक बताउँछ। त्यहाँ नै प्याकेटको खाना खान दिएर पुनः ताक्लाकोट फर्काइनेछ। यात्राको छैठौं दिन ताक्लाकोटबाट हिल्सा, सिमिकोट हुँदै नेपालगञ्ज अवतरण गराइने छ।
यो प्याकेजको आकर्षण
सिम्रिक एयरले ल्याएको मानसरोवर यात्रा प्याकेज अन्य प्याकेजभन्दा छोटो छ। नेपालगञ्जबाट मानसरोवरसम्म करिब ६ घण्टाको या मात्र तय गर्दा पुग्ने सिम्रिकका महाप्रबन्धक जोशी बताउँछन्। अर्को भनेको यो प्याकेजमा बीमालाई पनि समावेश गरिएको छ। सगरमाथा लुम्बिनी बीमा कम्पनीसँगको सहकार्यमा मेडिकल खर्च ५ लाखसम्म र दुर्घटना वा मृत्यु भएमा १० लासम्म व्यहोर्ने जानकारी जोशीले दिए।
त्यस्तै हेलिकोप्टरले यात्रुलाई केही गाह्रो पर्यो भने नजिकको स्वास्थ्य चौकी वा अस्पतालसम्म पुर्याउने छ। मानसरोवर यात्रा प्याकेजको अर्को आकर्षण भनेको बैंक किस्तामा यात्राको खर्च तिर्न सक्नु पनि हो। सिम्रिकले बैंक किस्ता सुविधाका लागि माछापुच्छ्रे, नबिल, हिमालय र नेपाल इन्भेष्टमेन्ट मेघा बैंकसँग सम्झौता गरेको छ। सम्झौता अनुसार यी वाणिज्य बैंकहरूको क्रेडिट कार्डबाहक ग्राहकले यो सुविधा लिन सक्नेछन्। बैंक किस्तामा हिमालयले १२ महिनाको अवधी र बाँकी ३ बैंकले ९ महिनाको अवधि दिने भएका छन्। यो किस्तामा व्याज नलाग्ने सिम्रिकले जानकारी दिएको छ।