पार्टीभित्र एक्ल्याइँदै नेपाल
काठमाडौं : २०७८ भदौमा एमाले फुटेर एकीकृत समाजवादी बन्यो। त्यसको एकछत्र हर्ताकर्ता अध्यक्ष माधवकुमार नेपाल बने। त्यति बेला ओलीसँग रुष्ट बनेका एमालेका पूर्वअध्यक्ष झलनाथ खनाल भारतमा उपचार गराइरहेका थिए। नेपालले खनाललाई सम्मानित नेता बनाए, आफू अध्यक्ष भए।
सम्मानित नेता खनाल एमसीसीको विरोधमा थिए। नेपाल कांग्रेससहितको गठबन्धनको बलियो साझेदार बने। कांग्रेस सभापति शेरबहादुर देउवाका बलियो सहयोगी पनि भए। पार्टीको ठूलो हिस्सा एमसीसी विरोधी हुँदाहुँदै देउवा सरकार बचाउन हस्ताक्षर गरे।
नेपाल मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको खरो समर्थक हुन्। उनले भण्डारीको रहस्यमय मृत्युपछि १५ वर्ष पार्टीको एकछत्र नेतृत्व गरे।
त्यो बेला पनि नेपालले नै जबजलाई पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा नै स्थापित गराए। जबज परिमार्जनका कुरा उठे पनि उनले एक शब्द यता उता नहुने भन्दै प्रतिवाद गर्दै आए। एकीकृत समाजवादीमा पनि उनी त्यही जबजको बलियो अडानमा हलचल भएनन्।
सम्मानित नेता झलनाथ खनाल भने समाजवादी कार्यक्रमका पक्षधर हुन्। भण्डारीकै पालादेखि उनको फरक मत रहदँै आएको थियो। नेकपा एस बनेपछि प्रारम्भमा उनको कुरा सुनिदिने कोही भएन।
भुसालको आगमनले फेरेको वातावरण
पार्टी विभाजनका समयमा घनश्याम भुसाल एमालेमा बसे। उनले १० भाइको बिल्ला भिरे। चितवनमा भएको एमालेको दसौं महाधिवेशनमा उपाध्यक्षमा उम्मेदवार भए। भीम रावल केपी शर्मा ओलीसँग अध्यक्षमा भिडे। रावल र भुसाल दुवै पराजित भए। उनी एसमै गए। एमालेमा पेलिएर भित्तामै पु¥याएपछि पार्टी छाड्न बाध्य भएको उनले भने। पार्टीमा गएको केही समयपछि उनलाई महासचिव बनाइयो। त्यससँगै नेपालको एकछत्र वैचारिक वातावरण खलबलियो।
सुरुमा भुसाल र खनाल एक ठाउँमा आए। पार्टीमा खनालको प्रभाव बढ्न थाल्यो, भुसालको साथ उनले पाए। त्यससँगै अन्य नेतालाई आफ्ना विचारमा जोड्दै लगे। त्यसले पारेका केही प्रभाव यस्ता छन्–
दस्ताबेज : पहिलो त, पार्टी दस्तावेजमै नेपालको प्रस्ताव अस्वीकृत भयो। नेपाल जबजका कडा समर्थक हुन्। जबज नै चाहिने भए किन अर्को पार्टी चाहिन्छ ? त्यो एमाले छँदै छ भन्ने खनाल र भुसालको लाइन हाबी हुन थाल्यो। अनि, खनालको समाजवादी कार्यक्रम पार्टीको दस्तावेजमा राखियो। जबज अस्वीकृत भयो। सचिवालयमा अस्वीकृत भएपछि नेपालले त्यसलाई स्थायी कमिटीमा लगे। त्यहाँ पनि स्वीकृत हुन सकेन। त्यसपछि पोलिटब्युरो हुँदै केन्द्रीय कमिटीसम्म पु¥याइयो। त्यो पनि सम्भव भएन।
महाधिवेशन : पार्टीको पहिलो महाधिवेशन कहिले गर्ने भन्ने विषयमा नेपालको प्रस्ताव पारित हुन सकेको छैन। नेपालले आगामी फागुनमा गर्नु पर्ने प्रस्ताव लगे। तर, खनाल–भुसालले तत्कालै गर्नुपर्ने अडान राखे। तत्काल गर्नुपर्नेमा सहमति जुट्यो। महाधिवेशन गर्ने विषयमा नेपाल एक्लिए।
केन्द्रीय सदस्य स्वत: प्रतिनिधि : पार्टीमा केन्द्रीय सदस्यको प्रतिनिधिबारे दुई धार भयो। नेपाल समूहले केन्द्रीय सदस्य स्वत: प्रतिनिधि हुनुपर्ने धारणा राख्यो।
खनाल–भुसालले केन्द्रीय सदस्य पनि निर्वाचित हुनुपर्ने अडान राखे। यो विषय पनि सचिवालय, स्थायी समिति, पोलिटब्युरो हुँदै केन्द्रीय समितिसम्म पुग्यो। सबै जना तलैबाट निर्वाचित हुनुपर्ने पास भयो।
केन्द्रीय कमिटीको चुनाव, त्यसबाट पदाधिकारी : अध्यक्ष नेपालले पहिला केन्द्रीय कमिटीको निर्वाचन गर्नुपर्ने र त्यसबाट पदाधिकारी चयन गर्नुपर्ने प्रस्ताव ल्याए। खनाल–भुसालले त्यसलाई मानेनन्। नेपालको प्रस्तावै खारेज भयो।
कारण : चरम गुटबन्दी
पछिल्लो समय नेकपा एस कमजोर हँुदै गएको छ। प्रतिपक्ष र सत्तापक्षको चेपुवामा छ। यसले इलाममा भएको प्रतिनिधिसभाको निर्वाचनमा जम्मा ४ सय ८ मत ल्याएको छ। जसले गर्दा कार्यकर्ता तहमा पनि मनोबल खस्किँदै गएको छ। पार्टी कमजोर हुनुको कारण प्रमुख नेपालको सत्ताप्रतिको आशक्तिका रूपमा कार्यकर्ताहरूले लिने गरेका छन्।
सत्ता लिप्सा
नेपालमाथि दलका नेताले सत्तालिप्साको आरोप लगाउने गरेका छन्। नेपालको प्रधानमन्त्री हुने लोभले पार्टीलाई क्षति पुगेको उनीहरूको टिप्पणी छ। कांग्रेस माओवादीसँगको गठबन्धनमा प्रचण्डपछि नेपाल प्रधानमन्त्री हुने भन्ने चर्चा थियो। त्यो भत्किएर एमाले–माओवादी गठबन्धनमा उनले आफू प्रधानमन्त्री हुनुपर्ने सर्त राखेको भन्ने गरिएको छ।
केपी ओलीको तत्कालीन सत्ता भत्काउनै जन्मिएको यो पार्टी लगातार सत्तामा छ।
अवसरमा विभेद
नेपालले अवसरमा विभेद गरेको भन्दै नेताहरूले गुनासो गर्दै आएका छन्। उनीहरूले आफन्त र परिवारका सदस्यलाई बढ्ता मौका दिने गरेको उदाहरण दिने गरेका छन्। नेपालको सानो घेरा छ। त्यो घेराभन्दा बाहिर उनी निस्कन नै नसकेको अन्य नेताको आरोप छ। उनीहरूका अनुसार सिनियर नेताको भन्दा केही झुन्डको सल्लाहमा नेपाल चल्ने गरेका छन्।
वाम एकता : एस वाम एकतामा दुई धार छ। नेपाल एमालेसहितको वाम एकता चाहदैनन्। खनाल–भुसाल एमालेसहितको वामपन्थी एकताको पक्षमा छन्। उनीहरूको वाम गठबन्धनमा एमालेलाई छुटाउन नहुने तर्क छ।
भेट शृंखला
पछिल्लो उदाहरण : गत बुधबार नेपाल विपक्षी गठबन्धनको बैठकमा पुगे। कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा उपेन्द्र यादव, महन्थ ठाकुरसहितको बैठकमा मेटमणि चौधरीलाई लिएर नेपाल सहभागी भए। यो बैठकमा महासचिव भुसालसहितका अन्य नेतालाई जाऔंभन्दा नमानेको स्रोतले बतायो।
भोलिपल्ट बिहीबार बिहानै त्यसको काउन्टरमा खनाल प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगे। यो घटनाले पार्टीभित्रको असमझदारी चरममा पुगेको संकेत गर्छ।