यसपटक पानी धेरै पर्ने, प्रकोपको जोखिम उत्तिकै

यसपटक पानी धेरै पर्ने, प्रकोपको जोखिम उत्तिकै
जल तथा मौसम विज्ञान विभागले सरदरभन्दा बढी पानी पर्ने भनेर आंकलन गरेका स्थानहरू ।
सुन्नुहोस्

काठमाडौं : यो वर्षको मनसुनमा मुलुकभरि नै सरदरभन्दा बढी पानी पर्ने आकलन गरिएको छ। त्यसबाट मनसुनजन्य प्रकोप अत्यधिक हुनसक्ने भन्दै मौसम विभागले पूर्वतयारीका लागि सरोकारवालालाई सचेत गराएको छ। उक्त आंकलन विभिन्न ग्लोबल मोडलहरूको तथ्यांक केलाएर बनाइएको मौसम विभागका मौसमविद् सुदर्शन हुमागाईंले बताए। 

उनका अनुसार सरदरभन्दा बढी वर्षा आकलन गर्नुपूर्व विश्वव्यापी तथा क्षेत्रीय पूर्वानुमानहरूको अध्ययन गरिन्छ। जापान मौसम एजेन्सी, कोलम्बिया युनिभर्सिटी, कोपर्निकस क्लामेट सिस्टमलगायतका पूर्वानुमान हेरिन्छ। त्यसपछि विभिन्न खालका सातवटा जति मोडलहरूको तथ्यांकलाई हेरेर नेपालको तथ्यांकसँग सहसम्बन्ध कस्तो छ हेरेर पूर्वानुमान गरिन्छ। हुमागाईं भन्छन्, यो तथ्यांकीय मोडल हो। यसमा गणितीय गणनामार्फत पुराना डाटासँग कुनै मोडलका सम्बन्ध निकालेर भविष्यमा कस्तो हुन्छ भनेर निकाल्ने हो। अहिले धेरैजसो मोडलहरूले सरदरभन्दा बढी पानी पर्ने देखाएको छ।’ पहिला निकालिएको तथ्यांकलाई पुनः अपडेट गरेर यसै साता दोस्रो अपडेट विभागले निकाल्ने छ। त्यसले आगामी मनसुनमा कति पानी पर्छ सुनिश्चित गर्छ। 

विभागले विपद् आउनसक्ने सूचना दिएर सूचित गरे पनि सम्बन्धित निकायहरूले प्रतिकार्यका लागि तयारी हुनुपर्ने उनी बताउँछन्। विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जिल्लास्तरीय निकाय, स्थानीय निकायहरूले मनसुनजन्य प्रकोप न्यूनीकरण, व्यवस्थापनमा तत्पर हुनुपर्छ। प्रिमनसुनमा भन्दा मनसुनमा चट्याङका घटना कमै हुने भए पनि बाढी, पहिरो जस्ता विपद्का घटना भने धेरै हुन्छन। विभागले कुन ठाउँमा बाढीको संभावना छ त्यहाँका जनतालाई एसएमएसमार्फत पूर्वसूचना दिँदै आएको जनाएको छ। 

वरिष्ठ मौसमविद्, अजय दीक्षित भन्छन्, मनसुन चाँडै आउँदै छ  र मनसुनसँगै केही हुँदै छ। उनले भने, ‘विभाग जस्तो निकायले पूर्वानुमान अवधि र प्रभावकारितालाई सुधार गर्दै लैजानुपर्छ।’ 

त्यसैगरी नेपालका ७ सय ५३ वटै स्थानीय तह, प्रदेश तथा संघीय सरकारका सम्पूर्ण निकायहरू विपद् प्रतिकार्यका लागि सतर्क रहन सुझाएका छन्। मनसुनजन्य गतिविधिबाट हुने बाढी तथा पहिरोको लागि तत्काल उद्धारकार्य, औषधि उपचार, खाद्यान्नको व्यवस्था मिलाउन तम्तयार अवस्थामा बस्नुपर्ने हुन्छ। यसका लागि नेताहरूले महत्वपूर्ण भूमिका खेल्न सक्ने दीक्षितले बताए। 

सिक्किम आयो, नेपालका लागि ‘सेटअप’ भएन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुन छिमेकी भारतको सिक्किमसम्म आइसकेको भए पनि नेपालमा कहिले प्रवेश गर्छ भन्ने विषयमा अध्ययन गरिरहेको जनाएको छ। सामान्यतः जुन १३ मा मनसुन भित्रिने गर्छ। तर, हालसम्म मनसुन ‘सेटअप’ भइनसकेको महाशाखाले जनाएको छ। महाशाखाकी मौसमविद्, शान्ति कँडेल भन्छिन्  ‘पूर्वमा शनिबारबाट अलि–अलि पानी पर्न थालेको छ। तर, पूरै मनसुन सेटअप भइसकेको छैन। अपडेट गर्ने छौं।’ मौसमविद्, कँडेल मौसमको पूर्वानुमान एकदमै चुनौतीपूर्ण रहेको बताउँछिन्। ‘मनसुन यो दिन आउँछ भनेर ठोकुवा गर्न मिल्दैन,’ उनी भन्छिन्, ‘त्यसका लागि आधार चाहिन्छन्।’ मनसुन भित्रिने विषयमा विभिन्न मापदण्ड हुन्छन्। मापदण्ड पूरा भएपछि मात्रै मनसुन भित्रिएको घोषणा गरिन्छ। 

कँडेलका अनुसार दुईचार वर्ष पहिलासम्म मनसुन भित्रिएको केही दिनपछि मात्रै घोषणा गरिन्थ्यो। तर, हिजोआज मनसुन कसरी भित्रिन्छ भन्ने विषयमा अध्ययन गर्दै अपडेट गर्न थालिएको कँडेलले बताइन्। मनसुन प्रवेश भयो भन्नलाई मुलुकको पूर्वी भूभागमा कम्तीमा तीन दिनदेखि लगातार वर्षा भएको हुनुपर्छ। त्यसैगरी पानीको वाष्पीकरण र बादलको मात्रा निश्चित हुनुपर्छ र पश्चिमी वायु सेटअप बन्नुपर्ने लगायतका विभिन्न मापदण्डहरू हुन्छन्। यस्ता विषयमा गहन अध्ययन, अनुसन्धान महत्वपूर्ण मानिने कँडेलले बताइन्। 

सोमालियामा लो प्रेसर स्थापित हुनुपर्छ 

मनसुन भित्रिएको घोषणा गर्नुअघि राष्ट्रिय मात्रै नभएर र अन्तर्राष्ट्रिय मापदण्डहरू पनि अध्ययन गर्नुपर्ने हुन्छ। मनसुनलाई ग्लोबल क्लाइमेटले फरक पार्छ। सोमालियामा सोमाली लो प्रेसर र मगादास्करमा हाई प्रेसर स्थापित हुनुपर्छ। त्यहाँबाट हावाको गति विस्तारै अरवियन सागरमा आइपुग्छ। त्यहाँबाट दुइटा मनसुनको शाखा बन्छ। एउटा अरवियन सागर र अर्को बंगालको खाडीमा जान्छ। अरवियन सागरबाट गुजरात हुँदै पाकिस्तान जान्छ र कहिलेकाहीँ नेपालसम्म पनि पुग्छ। पूर्वतिर बंगालको खाडी हुँदै नेपाल भित्रिने हुन्छ। 

सामान्यतयः मनसुनमा हावाको प्याटर्न परिवर्तन हुन्छ। जाडोसम्म सतहदेखि माथिसम्म पश्चिमी वायु हुन्छ। तर, मनसुन आएपछि विस्तारै पूर्वीय वायु स्थापित हुन्छ। त्यसमा माथिल्लो वायुमन्डलमा तीव्र गतिको हावा हुन्छ। त्यो नेपालभन्दा माथि तिब्बततिर सर्नुपर्छ। त्यहाँ उष्णचापीय क्षेत्र बन्नुपर्ने लगायतका विभिन्न मापदण्डका आधारमा नेपालमा मनसुन भित्रिने उनले बताइन्। 

तर, कहिलेकाहीँ मनसुन भित्रिने समय ढिलोछिटो पनि हुने गर्छ। महाशाखाका अर्का मौसमविद् गोविन्द झा भन्छन्, ‘मनसुन भित्रिन उपयुक्त वातावरण नभएको खण्डमा कहिलेकाहीँ बाटोबाटै हराउने पनि हुन्छ। कतिपय अवस्थामा हावाको गतिमा पनि भर पर्छ। हावा बढी तीव्र गतिको भएमा छिटो अगाडि बढ्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.