प्रतिनिधिसभामा कुर्सीहरू रित्तै
काठमाडौं : प्रतिनिधिसभामा बजेटमाथिको छलफल चलिरहेको छ। तर, सांसदहरू उत्साहित छैनन्। सुन्ने धैर्यता छैन। सोमबारको छलफल सांसद चित्रहादुर केसीलाई दिक्क लाग्यो। उनी
आर्थिक वर्ष २०८१/८२ को बजेटमाथिको दोस्रो दिनको छलफललाई सांसदहरूले महत्व दिन छोडेका छन्। केही सांसदहरू विद्युतीय र कागजी हाजिर गरेरै टाप ठोके। विद्युतीय हाजिरीमा २ सय १० र कागजी हाजिरिमा २ सय ३ जनाले हाजिर गरे। तर, अधिकांशले बजेट माथिको छलफलमा उपस्थिति जनाएनन्।
छलफलमा उपस्थित केही सांसदहरूले रोस्ट्रममा पुगेर दुःखेसो पोखे। सांसद केसीले त बजेटमाथि हुने छलफलको औचित्यमाथि प्रश्न गरे। ‘यहाँ जति उफ्रे पनि सत्तापक्षले पेस गरेको बजेट एक सुका, एक आना तलमाथि गर्न नपाइने, यहाँ जे आएको छ त्यसलाई स्वीकार गर्नुपर्ने भए पछि छलफलको पनि औचित्य लाग्न छाड्यो,’ सांसद केसीले हाँस्दै भने,‘यस्तो छलफल बर्सेनि हुने गर्छ। छलफलमा कुरा सुन्दा वाक्क लागेर निदाए छुँ पनि एकछिन्।’ राष्ट्रिय जनमोर्चाका अध्यक्ष समेत रहेका सांसद केसीले बजेटले उत्पादन क्षेत्रलाई जोड दिन नसकेको बताए।
प्रतिनिधिसभाको सोमबारको बैठक बिहान ११ बजे नै सुरु भएको थियो। तर, हाजिरि गरेर सांसदहरू क्रमशःः बाहिरिन थाले। संसद्भवनमा कुर्सीहरू खालि हुन पुगे। सांसदहरूले छलफल पट्यारलाग्दो रहेको बताए। सांसद केसीले भने, ‘रमाइलो छैन संसद्, दिक्क लाग्दो छ।’
संसद्मा प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसले बजेटको आलोचना गरेको त छ नै सत्तारुढ नेकपा एमालेका सांसदहरू पनि असन्तुष्ट देखिएका छन्। ‘फूल फूल्न त फुलेको छ, भीरै भरमा छ। जिन्दगी चल्न त चलेको छ, पिरैपीरमा छ,’ सांसद पन्तले थपे,‘ यी गीतले मुलुकको यथार्थ भन्छ। बजेट ल्याएका छौं। तर, भोलि कार्यान्वयनमा जाँदाखेरि लक्ष्य पूरा गर्न बजेट सक्षम हुन्छ ? बजेटका लक्ष्यहरू अपूरा नहोऊन्।’ एमालेका अर्का सांसद ऋषिकेश पोखरेलले बजेटले जनताको निराशा चिर्ने र जनतालाई विकल्प दिनेबाटो पहिल्याउन नसकेको बताए।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले अघिल्लो वर्षको भन्दा यस वर्षको बजेट राम्रो र सन्तुलित भएकोे बताइन्। ‘करसम्बन्धी सूचना विश्लेषण गर्न एआईको प्रयोग गर्ने घोषणाले राजश्व संकलनको राम्रो अभ्यासमा पनि नयाँ आयाम थपिदिएको छ,’ सांसद डाँगीले भनिन्, ‘समग्रमा बजेट सकारात्मक भए तापनि केही कमजोरी पनि देखिएका छन्। आन्तरिक ऋणको आकार बढाइएको छ। यो चिन्ताजनक छ।’
प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले करको दायरा बढाएर राजस्व वृद्धि गर्न सकिने बताए। गाँजा खेतीका लागि कानुन बनाउनका लागि पटक–पटक सुझाव दिएको चर्चा गर्दै उनले औषधिजन्य पदार्थका रूपमा गाँजाको निर्यात गर्न सके २ खर्बभन्दा बढी राजस्व उठ्ने बताए। धार्मिक,संस्कृतिक, खेलकुदलगायत पर्यटनको सम्भावनालाई अघि बढाउनुपर्ने र चितवनको सौराहालाई हनिमुन सिटी बनाउन उनले सुझाव दिए।
नेपाली कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले स्थानीय तहको अनुदान कटौती गर्ने सरकारको निर्णय फिर्ता लिन माग गरे। सांसद बडूले सरकारले संघीयताको मूल मर्म विपरीत स्थानीय तहको अनुदान कटौती गरिदिएका कारण गाउँपालिका महासंघ र नगरपालिका संघ धर्ना र प्रदर्शनमा जान बाध्य भएको बताए।
नेकपा माओवादी केन्द्रका सांसदहरू महिन्द्रराय यादव, माधव सापकोटा,रूपा चौधरी लगायतले बजेटको मुक्तकण्ठले प्रसंशा गरेका थिए।