काठमाडौं : यस पटक संयक्त राष्ट्रसंघले विश्व वातावरण दिवसको नारा बनाएको छ हाम्रो भूमि, हाम्रो भविष्य। यसै नारालाई मूल सन्देश बनाएर विश्वभरि नै बुधबार विश्व वातावरण दिवस मनाइँदैछ। नेपालमा पनि वन तथा वातावरण मन्त्रालयले मन्त्री नवलकिशोर साह सुडीको प्रमुख आतिथ्यमा वातावरण दिवस कार्यक्रम आयोजना गरेको छ।
हाम्रो भूमि, हाम्रो भविष्य यो सन्देश महत्त्वपूर्ण छ ? वातावरण विभागका, उपमहानिर्देशक, शैलेशकुमार झा भन्छन्, भूमि क्षयीकरण भन्नाले माटोको उत्पादन क्षमता वर्तमानमा होस् वा भविष्यमा बिग्रिँदै जानु हो। यो विश्वव्यापी समस्या बनिरहेको छ। तीव्र गतिमा भूमि क्षयीकरणको समस्या बढिरहेको छ। हाम्रो भूमि विभिन्न किसिमले क्षयीकरण भइरहेको छ।
विश्वको कुल भूभागको ४० प्रतिशत भूमी क्षयीकरण परिसकेको छ। त्यसले विभिन्न खालका वातावरणीय समस्या आइपरिरहेका छन्। डढेलो, सुक्खा, खडेरीलगायतका समस्या क्षयीकरणले गर्दा भइरहेको छ। त्यसैले हाम्रो भूमिलाई पुनस्र्थापना गरेर पहिलाकै प्राकृतिक स्वरूपमा फर्काउनुपर्छ भन्ने सन्देश यस नाराले दिन खोजेको छ। त्यो काम आजको पुस्ताले गर्न सक्छ भन्ने मूल सन्देश दिन यस्ता कार्यक्रमको आयोजना महत्त्वपूर्ण रहेको झाले बताए। उनी भन्छन् हाम्रो भूमिलाई पुनस्र्थापना र संरक्षण नगरे भविष्यमा विकराल समस्या आइपर्ने निश्चित प्रायः छ। सन् २०५० सम्ममा विश्वको दुई तिहाइ जनसंख्या खडेरीबाट प्रभावित हुने संयक्त राष्ट्रसंघको प्रक्षेपण छ।
‘जमिनका विभिन्न स्वरूप हुन्छन्। जुनै स्वरूपका जमिनमा क्षयीकरण भए पनि त्यसको असर नकारात्मक हुन्छ। कृषि भूमिमा क्षयीकरण हुँदा खाद्यसुरक्षामा असर हुन्छ’ झाले थपे ‘यो विषय बहुआयामिक छ। क्षयीकरण हुनुमा जलवायु परिवर्तनको असर पनि उतिकै छ।’ भूमि नै ठीक भएन भने पानीका स्रोतमा नकारात्मक असर हुन्छ र त्यसले इकोसिस्टम खल्बलिन्छ। त्यसको असर मानव, जीवजन्तु, जैविक विविधतामा पर्छ।
झाका अनुसार अहिले तीन किसिमको प्रमुख वातावरणीय समस्या छन्। जलवायु परिवर्तन, फोहोरमैला, प्रदूषण र खडेरी सबैभन्दा ठूलो समस्या बनेको छ। यी समस्यामा केन्द्रित भएर विश्वमा विभिन्न प्रकारका काम भइरहेको छ। अब डिसेम्बरमा साउदी अरेबियामा हुने जैविक विविधता सम्बन्धी (कोप १६) को बैठकमा जमिनलाई कसरी पुनस्र्थापना गर्ने भन्ने विषयमा व्यापक छलफल हुँदैछ। त्यसले भूमिलाई प्राकृतिक स्वरूपमा फर्काउने मुद्दामा टड्कारो छलफल हुने र त्यसैअनुसार नेपालले पनि कार्ययोजना बनाउने उनले बताए।
भूमिको विभिन्न स्वरूपमध्ये कृषिभूमि एकदमै महत्त्वपूर्ण र मानिसको जीवनसँग जोडिएको हुन्छ। तर पछिल्लो समय पानीपर्ने शैलीमा परिवर्तन भएर अनियमित वर्षा (इराटिक रेनफल) हुँदा उर्बर माटो बगाएर लैजाने समस्या धेरै भएको राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिक सुरेन्द्र श्रेष्ठ बताउँछन्। ‘राम्रो माटो पखालिएको छ। अनियमित वर्षाले बाढी, पहिरो ल्याउँछ। उर्बर तथा राम्रो माटो बगाएर लैजाने समस्या विकराल छ। माटोको गुणस्तर खण्डवृष्टि, अतिवृष्टिले बिगारेको छ।
अर्को समस्या भनेको माटोको उर्वराशक्ति कम हुँदै गएको छ।’ श्रेष्ठ भन्छन्, परम्परागत अभ्यासअनुसार कम्पोस्ट मल राख्ने गरिन्थ्यो। तर कम्पोस्ट मलको प्रयोग कम भइसकेको छ। तराईमा झनै धेरै रासायनिक मल लगाउने र गाई, भैंसीको गोबर गुइँठा बाल्ने गर्दा बिरुवालाई चाहिने खाद्यपदार्थ पुगेको छैन। बिरुवालाई १६ प्रकारका पोषण तत्त्व चाहिन्छ। कम्पोस्ट मल प्रयोग गरेको खण्डमा ती सबै तत्त्व बिरुवाले पाउँछ। तर रासायनिक मल (डीएपी, युरिया, पोटास)मात्रै लगाउँदा बिरुवालाई सन्तुलित खाना पुग्दैन। यी मलहरूबाट बिरुवाले पाउने खाद्य पदार्थ कुनै धेरै हुने र कुनै नहुने हुँदा उर्वराशक्ति घटेको छ। माटोमा हुने सूक्ष्म जीवहरू रासायनिक मल मात्रै प्रयोग गर्दा हराएका छन्। ती जीवहरू बिरुवाको लागि आवश्यक हुन्छन्। यसले माटोमा हुने उर्वराशक्तिमा ह्रास आएको छ।
नेपाल कृषि अनुसन्धान परिषद्का, कृष्णबहादुर कार्की र रोशनबाबु ओझाको अध्ययनले नेपालको कृषि क्षेत्रमा भूमि क्षयीकरण अत्यधिक ठूलो समस्या बनिरहेको बताएका छन्। विशेषगरी मनसुन सिजनमा भारी वर्षाका कारण उर्बर माटो बगाएर लैजाने समस्या छ। केमिकलको प्रयोग, विषादी प्रदूषणले माटोको पोषण तत्त्व हनन् भएको छ। माटोको जैविक कार्बनमा कमी आएको छ। बाढीपहिरोजस्ता समस्या बढेका छन्।
नेपालको समग्र भूमिको कुरा गर्दा १२ प्रतिशत क्षेत्र क्षयीकरण प्रक्रियामा परेको छ। वन भूमि ३८ प्रतिशत, चरणभूमि ३७ प्रतिशत, कृषिभूमि १० प्रतिशत गम्भीर ह्रासको खतरामा परेको छ। त्यसका लागि तत्काल भूमि पुनस्र्थापना हुन आवश्यक रहेको कार्की र ओझाको अध्ययनले सुझाएको छ। सम्पूर्ण क्षेत्रफलको ०.३ क्षेत्र केमिकलका कारण क्षयीकरणमा परेको छ। भूक्षय र पानीका कारण ४५.५ प्रतिशत भूमि क्षयीकरणमा परेको उनीहरूको निष्कर्ष छ। साथै तराईमा विशेषगरी बाढीको कारण भूमि खतरामा परेको छ।
जुनसुकै कारणले भए पनि भूमिको क्षयीकरण भइरहेकाले पहिलाको अवस्थामा फर्काउन आवश्यक छ। त्यसका लागि सरकारले तत्परता देखाउनुपर्ने हुन्छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले भूमि क्षयीकरण मानिसको कारण भइरहेको बताएको छ। यसले चरम मौसमी घटनाहरू बढ्ने, विशेषगरी खडेरी हुने, माटोको गुणस्तरमा नराम्रो प्रभाव पार्ने, खाद्यान्न उत्पादनमा नकारात्मक प्रभाव पार्ने, उर्बरभूमिलाई मरुभूमीकरण बनाउने हुन्छ।
यसका कारण मानव स्वास्थ्य जटिल मोडमा जान सक्नेछ। पानीको स्रोत सुक्ने, पानीसम्बन्धी रोगकोे मारमा पर्ने, मानिसलाई बसाइँ सर्न बाध्य बनाउने, खाद्यान्न अभावमा कुपोषण तथा संक्रमण रोगको मारमा पर्नेलगायतका समस्या हुने डब्लूएचओको चेतावनी छ। वैज्ञानिकहरूले विश्वमा प्रतिवर्ष २४ बिलियन टन उर्बर माटोमा ह्रास आइरहेको जनाएका छन्। दिगो कृषि अभ्यास नहुनाले भूमि क्षयीकरण भइरहेको भन्दै वैज्ञानिकहरूले सचेत गराएका छन्। यदि यो गति निरन्तर रहेमा पृथ्वीको ९५ प्रतिशत क्षेत्र सन् २०५० सम्ममा क्षयीकरणमा पर्ने खतरा बढेको चेतावनी दिएका छन्।