‘राजदूत फिर्ता गरेको विषय प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले जान्ने कुरा हो,हामी हरेकले थाहा पाउँदैनौं’
चितवन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आवश्यक ठानेर नै विभिन्न मुलुकका राजदूतलाई फिर्ता बोलाएको बताएका छन् । शुक्रबार भरतपुर विमानस्थलमा सञ्चाचारकर्मीले सोधेको प्रश्नमा अध्यक्ष ओलीले राजदूत फिर्ता बोलाएको विषय आफूलाई थाहा नभएको र त्यसको जवाफ सरकारले दिन सक्ने बताए ।
एमाले अध्यक्ष ओलीले भने,'राजदूत फिर्ता गर्न सरकारलाई मन लाग्यो होला । यो प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले जान्ने कुरा हो । हामी हरेकले थाहा पाउँदैनौं यस्तो कुरा ।’
कार्यकाल नसकिँदै राजदूत फिर्ता गरेकोप्रति सरकारको चौतर्फी आलोचना भइरहेका बेला सत्तारुढ दलको प्रमुख घटक एमाले अध्यक्ष ओलीले त्यसबारे अनभिज्ञता प्रकट गरेका छन् ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले अमेरिका,बेलायत,भारत,स्पेनलगायत विभिन्न ११ मुलुकका नेपाली राजदूतहरूलाई तत्काल फिर्ता गर्ने निर्णय गरेको हो।