चलचित्रमा समाजको चित्र
चलचित्र ‘पुजार सार्की’बाट ब्राह्मण के/को हो ? र व्यवस्था फेरिँदा अवस्था पनि फेरियो त ? भन्ने महत्तवपूर्ण प्रश्न उठाएका छन्। प्रश्न हो यो।
१७ वर्ष भएछ, निर्देशक दिनेश राउत चलचित्र क्षेत्रमा चलायमान हुन थालेको। सन् २००७ मा सहायक निर्देशकका रूपमा करियर सुरु गरेका राउत मुख्य सहायक निर्देशक हुँदै निर्देशक बने। सन् २०१२ मा प्रदर्शन भएको ‘आई एम सरी’बाट गणना गर्दा मात्र पनि १२ वर्ष भइसक्यो उनले पूर्ण रूपमा चलचित्रको क्याप्टेनसिप सम्हालेको।
भनिरहनु परेन, राउत नेपाली चलचित्र क्षेत्रमा लभ स्टोरी र सोसियल जनराका चलचित्र निर्देशनमा शीर्षस्थ निर्देशक हुन्। पछिल्लो समय त सामाजिक विषयमा यथार्थवादी चलचित्र बनाउने निर्देशकका रूपमा पनि उनलाई लिन सकिन्छ। चलचित्र निर्देशकका रूपमा सफल भइरहँदा उनलाई निर्देशनका थुप्रै प्रस्ताव आइरहे। तर, उनी चलचित्रबाट समाजलाई जोड्ने विषयको खोजीमा रहिरहे। त्यसैले चलचित्र उत्पादन गर्ने ‘फ्याक्ट्री’ बनेनन्।
यसबीच उनले जम्मा सात चलचित्र निर्देशन गरे, नेपाली चलचित्र क्षेत्रमा गहिरो प्रभाव पनि पारे। खासगरी पछिल्ला चलचित्र ‘प्रसाद’ र ‘प्रकाश’सँगै सामाजिक मुद्दामा चलचित्र निर्देशन गर्ने निर्देशकका रूपमा उनको छवि बदलिएको छ। प्रदर्शनरत चलचित्र ‘पुजार सार्की’ले त्यसमा मलजल गरेको छ। राउतले सामाजिक विषयलाई उठान गरेर सार्थक अनि मास्टरपिस चलचित्र निर्देशन गरेका छन्। यसो भनिरहँदा यो दाबीलाई पुष्टि गर्न उनका अघिल्ला चलचित्रबारे केही चर्चा गर्नै पर्छ।
‘आई एम सरी’, ‘नोभेम्बर रेन’ हुँदै ‘क्लासिक’सम्म आइपुग्दा नै राउत लभस्टोरी चलचित्र निर्देशनमा नम्बर वान निर्देशक कहलिएका थिए। कलाकार आर्यन सिग्देलको बुझाइमा प्रेमको गहिराइमा पुगेर कथा भन्न सक्ने खुबीकै कारण राउत लभस्टोरी चलचित्र निर्देशनमा शीर्ष स्थानमा छन्। ‘प्रसाद’पछि भने उनको छनोटमा लभस्टोरीभन्दा सामाजिक विषय ज्यादा देखिए। यसो भन्दै गर्दा राउतले लभस्टोरी छोडे भन्न चाहिँ मिल्दैन। किनकि उनले ‘प्रसाद’मा बाबुराम र नारायणीको अन्तरजातीय प्रेम–विवाह गरी सामाजिक विषयका केही मुद्दामा एकसाथ बहस छेडे।
जुन चलचित्रले उठाएको मुख्य विषय नि: सन्तान दम्पतीको व्यथा हो तर, यो सँगै जातीय छुवाछूत, महिला–हिंसा, गरिबमाथिको थिचोमिचोजस्ता समाजका अँध्यारा पक्षलाई मिहिन रूपमा एकसाथ प्रस्तुत गर्न निर्देशक राउत सफल देखिए। चलचित्र समीक्षक स्वर्गीय गोकर्ण गौतमले त यो चलचिलाई संवेदनशील विषयमाथिको सार्थक चलचित्र भनेका थिए। उनले समीक्षामा लेखेका थिए– ‘मौलिक कथा र कथावाचनलाई आत्मसात् गरेकाले प्रसाद सम्झनलायक बनेको छ। यो निर्देशक राउतको करिअरकै उत्कृष्ट चलचित्र हो। कम्तीमा उनले संवेदनशील विषयमाथि सार्थक चलचित्र बनाउने प्रयत्न गरेका छन्।’
‘प्रसाद’ राउत निर्देशित पाँचौैं चलचित्र हो। गौतमले भने जस्तै यो समयसम्म निर्देशक राउतको करिअरकै उत्कृष्ट चलचित्र यही हो। तर, यसपछि प्रदर्शन भएको चलचित्र ‘प्रकाश’लाई निर्देशक राउतले योभन्दा पनि उत्कृष्ट बनाए। पत्रकार चिरञ्जीवी पौडेलको शब्दमा भन्ने हो भने ‘प्रकाश’ एउटा मास्टरपिस चलचित्र हो। उनले समीक्षामा लेखेका छन्– ‘चलचित्रको कथा मौलिक छ। पटकथामा पनि यो चाहिँ मिलेन भनेर खोट लगाउने ठाउँ छैनन्। कथावस्तुपछि चलचित्रको सशक्त पक्ष भनेको निर्देशन हो। ‘प्रसाद’पछि उनले अर्को एउटा मास्टरपिस दिएका छन्। हरेक हिसाबले ‘अर्गानिक’ छ ‘प्रकाश’। यसको सबैभन्दा ठूलो श्रेय उनैलाई जान्छ।’
कर्णाली प्रदेशको जुम्लाको पृष्ठभूमिमा चलचित्र बनाइएको थियो। चलचित्रले शिक्षा क्षेत्रको राजनीतीकरण, गरिब निमुखा माथिको शोषण (भ्रष्टाचार) अनि सरकारी सेवामा जातीय आरक्षणको नीति गलत छ भन्ने विषय उठान गरेको छ। उपल्लो जातका नाममा सक्षम र गरिबहरू कसरी उपेक्षित छन् भन्ने कुरा यसले यथार्थ रूपमा देखाएको छ। सम्भवत: नेपाली चलचित्रमा पहिलोपटक यति गम्भीर विषयको उठान गरिएको हो।
पौडेलकै शब्दमा– ‘चलचित्र ‘प्रकाश’ एउटा धारिलो तरबार हो, जसले देशका नीति निर्माता र राजनीतिकर्मीमाथि शक्तिशाली प्रहार गरेको छ।’ लेख्छन्– ‘जो यस देशको शासनसत्तामा छन्, उनीहरूले मुख छोपेर भए पनि हेर्नैपर्ने चलचित्र हो यो। फिल्म हेरेर फर्किएपछि मस्तिष्कमा राख्लान् वा नराख्लान् ? तर, फिल्म हेरुञ्जेल आफूहरूले गरिरहेको राजनीतिलाई पक्कै धिकार्नेछन्।’ ‘प्रकाश’बाटै निर्देशक राउतले ‘राष्ट्रिय चलचित्र पुरस्कार’ प्राप्त गरे। चलचित्रले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सव तथा अवार्डहरूमा ‘उत्कृष्ट चलचित्र’को अवार्ड प्राप्त गर्यो। त्योभन्दा बढी निर्देशक राउतलाई पुन: एकपटक सामाजिक विषयका चलचित्र निर्देशनमा अब्बल सावित गर्यो।
प्रदर्शनरत चलचित्र ‘पुजार सार्की’को। ‘प्रसाद’ र ‘प्रकाश’मा जस्तै यो चलचित्रमा पनि उनले भौगोलिक परिदृश्य तथा जातीय विभेदको मुद्दा उठाएका छन्। वर्तमान समयमा त कथित उपल्लो समुदायको युवतीसँग प्रेम गरेकै कारण दलित समुदायका नौजवानहरूले ज्यान गुमाउनु परेको छ। अझ २०४६ सालताका जातीय विभेदको जरो कति गहिरोसँग गडेको थियो होला ? कल्पना गर्न सक्छौं।
राउतले त्यही परिवेशमा चलचित्र ‘पुजार सार्की’ निर्देशन गरेका छन्। चलचित्र निर्देशकको अभिव्यक्तिको माध्यम हो। राउतले यो चलचित्रबाट ब्राह्मण के/को हो ? र व्यवस्था फेरिँदा अवस्था पनि फेरियो त ? भन्ने महत्त्वपूर्ण प्रश्न उठाएका छन्। यी दुई विषयको जवाफ खोज्न उनले शास्त्र र शस्त्रलाई बिम्बात्मक रूपमा प्रयोग गरेको देखिन्छ। ‘पुजार’ पात्रमार्फत शास्त्र पढेर ब्राह्मण हुन सकिन्छ भन्ने सन्देश दिएका उनले ‘मेघराज’को पात्रमार्फत विद्रोहको बिगुल शस्त्रबाट फुकेको देखिन्छ।
जातीय विभेदको अन्त्य गर्न कथित उपल्लो जातका व्यक्तिहरूले पनि अग्रसरता लिनुपर्छ भन्ने सन्देश पनि दिइएको छ। शास्त्रमा हुँदै नभएको विभेद व्यवहारमा किन भन्ने अत्यन्त गहन प्रश्न पनि चलचित्रले उठाएको छ। वास्तविक घटनाबाट प्रभावित भएर चलचित्र निर्देशन गरेका निर्देशक राउतले अथेन्टिक रूपमा कथा भनेका छन्। जातीय विभेदका कथामा अहिलेसम्म जति चलचित्र बने। तीभन्दा नितान्त फरक कोणबाट यसको कथा वाचन गरिएको छ।
समग्रमा, आखिर व्यवस्था बदलिएर कथित दलित समुदायका जनताले शदियौंदेखिको विभेदबाट मुक्ति पाए त ? ‘पुजार सार्की’ मार्फत निर्देशक राउतले राज्य, सत्ता र समाजलाई यही प्रश्न गरेका छन्। ‘पुजार सार्की’ हेरेपछि ठोकुवा गरेर भन्न सकिन्छ निर्देशक राउत यो पुस्ताका सबैभन्दा अब्बल निर्देशक हुन्।